चिनीको मूल्य ६३ रुपैयाँभन्दा बढी नबढाउन लेखा समितिको सरकारलाई निर्देशन


१८ आश्विन २०७५, बिहीबार
sarbajanik lekha samiti

काठमाडौं, १८ असोज । सरकारलाई प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँभन्दा नबढाउन निर्देशन दिएको छ ।


समितिको बिहिबार बसेको बैठकले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ भन्दा नलिन सरकारलाई निर्देशन दिएको हो । बुधबार मात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीको मूल्य ७० रुपैयाँ प्रतिकिलो कायम गर्ने निर्णय गरेको थियो ।

समितीले ६३ रुपैयाँ भन्दा धेरै मूल्य लिने पसल र उद्योगलाई कारबाही गर्न पनि निर्देशन दिएको छ ।भने उखु किसानको बक्यौता रकम १५ दिन भित्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ । समितिले चिनीलगायतका चाडपर्वका बेला अतिआवश्यकीय बस्तुको मूल्य वृद्धि नियन्त्रण गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको पनि समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

सांसद चन्दा चौधरीले अहिले बजारका पसलपिच्छे चिनीको मूल्य फरकफरक हुँदा नियमनकारी निकाय मौन बसेको आरोप लगाए । सांसद प्रदीप यादवले चिनी आयातमा प्रतिबन्ध लगाउन नहुने विचार व्यक्त गर्दै उखु किसानले अहिलेसम्म आफ्नो उखुको मूल्य पाएका छैनन् भने ।

सांसद राजेन्द्र केसीले एक हप्ताको बीचमा चिनीमा मात्र प्रतिकिलो रु १५ सम्म मूल्यवृद्धि भएको भन्दै चाडबाडको मुखमा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि हुँदा कसरी सुखी नेपाली हुन्छन् ? भन्ने प्रश्न गरे।

सांसद हृदयेश त्रिपाठी र विरोध खतिवडाले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुन नदिन सरकारले बजारलाई हस्तक्षेप गर्न ढिलाइ गर्न नहुने धारणा राखे। सांसद चन्दा चौधरी, पार्वती डिसी चौधरी, पार्वतीकुमारी विसङ्खेले बजारमा दैनिक उपभोग्यका वस्तुमा अप्रत्याशित रुपमा मूल्यवृद्धि भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

यस्तै बैंकले चिनीको मूल्य अस्वभाविक रुपमा बढनुको कारण पत्ता लगाउन र समाधानको उपायसहितको प्रतिवदेन बनाउन लेखराज भट्टको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिमा प्रेम आले, पार्वता डिसी चौधरी, चन्दा चौंधरी र प्रदिप यादव सदस्य रहेका छन् । समितिले चिनीसँगै समग्र बजारको अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७