जलविद्युत् आयोजनाको मुआब्जाप्रति आपत्ति


१९ आश्विन २०७५, शुक्रबार
ts

दमौली, १९ असोज । तनहुँ जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जामा स्थानीयवासीले आपत्ति जनाएका छन् ।

ts

आयोजनाको बाँधमा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने व्यास नगरपालिका–५ बेतनीको जग्गाको मुआब्जाप्रति आपत्ति जनाइएको हो ।

आयोजना प्रभावित संघका तर्फबाट अध्यक्ष तेजराज थपलियाले विज्ञप्ति जारी गर्दै मुआब्जा निर्धारण समितिले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताए । जिल्ला मुआब्जा निर्धारण समितिले जग्गाको प्रकृति हेरेर प्रतिरोपनी साढे नौ लाखदेखि २० लाखसम्म मूल्य निर्धारण गरेको थियो ।

पहिरामा परेको जग्गाका लागि प्रतिरोपनी दुई लाख ४० हजार निर्धारण भएको थियो ।
विज्ञप्तिमा परापूर्वकालदेखि चलिआएको १५ फुटे बाटोमा पर्ने घडेरीयुक्त जग्गाको वास्तविक मूल्य प्रतिआना झण्डै १० लाख हुनुपर्नेमा मुआब्जा निर्धारण समितिले हचुवाका भरमा मूल्य निर्धारण गरेको जनाइएको छ ।

साथै छ वर्ष अगाडि बाटो नभएको साविक काहुँशिवपुर गाविसमा परेको जग्गालाई प्रति आना आयोजनाले तीन लाखका दरले खरिद गरेको र अहिले आफूहरुको जग्गाको मूल्य भने एकदमै न्यून निर्धारण गरेको विज्ञप्तिमा भनिएको छ । १४० मेगावाट क्षमताको आयोजनाका लागि व्यास नगरपालिका– ५ मा थप ५० रोपनी जग्गालाई आठ करोड विनियोजन भएको छ ।

बन्दीपुरको गुरुयोजना
पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाको दीर्घकालीन गुरुयोजना बन्ने भएको छ । ऐतिहासिक नगरी बन्दीपुरको विकास गर्न गाउँपालिकाले दीर्घकालीन गुरुयोजना बनाउन लागेको हो । त्यसका लागि हेमराज लामिछानेलाई अध्यक्षमा नियुक्त गरिएको छ । गाउँपालिकाका प्रमुख पूर्णसिंह थापाले सरोकारवालासँग समन्वय गरी गुरुयोजना बनाइने बताए ।

‘बन्दीपुर नेपालकै मात्रै नभई विदेशमा समेत प्रख्यात पर्यटकीयस्थल हो’, उनले भने । यसको थप विकासका लागि दीर्घकालीन गुरुयोजना बनाउन आवश्यक छ । गाउँपालिकाका प्रमुख थापाका अनुसार बन्दीपुरवासीको सञ्जाललाई सक्रिय बनाई उनीहरुको आर्थिक, भौतिक तथा बौद्धिक क्षमता बन्दीपुरको विकासमा प्रयोग गरिने जानकारी दिन्छन् ।

गाउँपालिकाले बन्दीपुरको पर्यटन विकासका लागि रानीवन क्षेत्रमा दृष्यावलोकन स्तम्भ निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । भ्युटावरबाट धौलागिरिदेखि लाङ्टाङसम्मका आठ हजार उचाइभन्दा माथिका हिमाल देख्न सकिन्छ ।

बन्दीपुरमा मानव निर्मित तालको निर्माणसमेत अगाडि बढाइएको छ । उक्त तालको विसं २०६८ साउन ४ गते तत्कालीन उपराष्ट्रपति परमानन्द झाले शिलान्यास गरेका थिए । सो मानवनिर्मित ताल नेपालकै पहिलो ताल हुने बताइएको छ । त्यहाँको गैराबारीमा बन्ने ताल १५ रोपनी क्षेत्रफलमा फैलिनेछ ।

दमौलीमा सभाकक्ष
सदरमुकाम दमौलीमा २४ करोडको लागतमा सुविधा सम्पन्न सात सय ५० जना क्षमताको सभाहल बन्ने भएको छ । व्यास नगरपालिका–३ को पुरानो सभागृह भत्काएर सोही ठाउँमा नयाँ सभागृह निर्माण गर्न लागिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाले निर्माण गर्ने भवनको लागत भ्याटबाहेक २३ करोड ६२ लाख ४३ हजार ३३१ छ । सभाहल निर्माणको ठेक्का डाँफे-एमए-प्रतिष्ठा जेभी काठमाडाैंले पाएको छ ।

सभाहल विसं २०७७ असार १५ गतेसम्म निर्माण सम्पन्न हुने डिभिजन कार्यालय गोरखाले जनाएको छ । त्यहाँ २० कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिने स्थल बनाइनेछ । मुख्य हलबाहेक १५० क्षमताको सेमिनार कक्ष हुनेछ ।

आदिवासी महोत्सव
आदिवासी जनजातिको कला, संस्कृति, भाषा संरक्षण र उत्थानका लागि आगामी कात्तिक ३० गतेदेखि मङ्सिर १० गतेसम्म दमौलीमा तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव मूल समारोह समितिका संयोजक अध्यक्ष वसुन्धरा घर्तीले अमूल्य भाषा संस्कृतिको संरक्षण गर्दै पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । ६५ प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा आदिवासी महोत्सवको शुरुआत महासङ्घले नै गरेको थियो ।

अध्यक्ष घर्तीले भने, ‘जनजाति बाहुल्य क्षेत्र भएकाले सांस्कृतिक प्रवद्र्धन गरी पर्यटन व्यवसायको विकास गर्न महोत्सव अवधिभर विविध संस्कृति झल्कने सांस्कृतिक प्रदर्शन गरिने छ ।’ महोत्सवमा विभिन्न २३० प्रदर्शनी कक्ष रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७