सचिवको संरक्षणमा स्वास्थ्य मन्त्रालयमा शृंखलाबद्ध अनियमितता


२२ आश्विन २०७५, सोमबार
Dr Puspa Chaudhary Manjee copy

काठमाडौं, २२ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभागबाट हुने औषधि र उपकरण खरिददेखि ठेक्कापट्टामा मात्र होइन, सवामा समेत पैसाको चलखेल हुने गरेको समाचार बारम्बार उजागर भइरहेको छ ।

जुन कुरा २०७५ असोज १५ को संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले राखेका भनाइबाट पनि पुष्टी भएको छ । सो दिनको समितिको छलफलमा पूर्वस्वास्थ्यमन्त्री अधिकारीले स्वास्थ्य सचिव डा  पुष्पा चौधरीप्रति संकेत गर्दै भनेका थिए–‘लाख, ५० हजार खाएर सरुवा भइरहेको सुनिन्छ नि ।’

Dr Puspa Chaudhary Manjee copy
स्वास्थ्य सचिव डा पुष्पा चौधरी र ठेकेदार विशाल पण्डित


स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्व कति भ्रष्ट छ भन्ने कुरा पूर्वस्वास्थ्यमन्त्री अधिकारीको यो भनाइले नै प्रष्ट पारेको छ । समितिको बैठकमा पूर्वमन्त्री अधिकारीले डाक्टर सचिव हुँदा डाक्टरमाथि नै अन्याय भएको भन्दै सचिवको आलोचना समेत गरेका थिए ।

डेढ वर्षदेखि १२ औं तहको कर्मचारी बढुवा नै गर्न नदिएको आरोप समेत सचिव चौधरीमाथि नै लगाएका थिए । १२ औं तहको दरबन्दी खाली भएको बर्ष दिन भइसकेको छ । तर सचिवले लोकसेवा आयोगलाई बढुवाका लागि प्रक्रिया सुरु गर्न सहयोग नगरेको कुरा समेत उनले उठाएका थिए ।


स्वास्थ्य मन्त्रालयमा सचिवसरहका प्रमुख विशेषज्ञ तीन पदमध्ये दुईवटा रिक्त छन् । १२ औं तहमा एकजना डा. सुशील प्याकुरेलमात्र छन् । १२ औँ तहको लागि वरिष्ठताका आधारमा डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह, डा भीमसिंह टिंकरी, डा गुणराज लोहनी र महेन्द्र श्रेष्ठ दाबेदार छन् । समितिको छलफलमा नेकपाकै अर्का सांसद गजेन्द्र महतले पनि स्वास्थ्य मन्त्रालयका सरुवामा आर्थिक चलखेल हुने गरेको आरोप लगाएका थिए ।


सरुवामा मोलमोलाई
स्वास्थ्य मन्त्रालयमा सचिव डा. चौधरीले सरुवाका लागि रकम उठाउनका लागि एक टीम नै परिचालन गरेको समाचार बारम्बार आइरहेकोे छ । जसको संयोजन उनका पति डा. श्रवणकुमार चौधरीले गर्दैआएका छन् । त्यसमा भ्रष्टाचार आरोपमा निलम्बित नेपाली कांग्रेसनिकट स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, हेल्थ असिस्टेन्ट ललन साह, मन्त्रालयका शाखा अधिकृत प्रेम दुवासहितको टोली छ ।

जसको काम सचिव चौधरी दम्पतिको योजना अनुसार सरुवादेखि उपकरण खरिद र मर्मतका ठेकेदारसँग मोलमोलाइ गर्ने हुँदैआएको स्रोतले बताएको छ । स्रोतका अनुसार सरुवा गर्नुअघिसम्म सचिव चौधरी, उनका पति श्रवणकुमार, रामजी घिमिरे, दुवा र साहहरु कार्यालय समयपछि दैनिक सरुवाको सूची बनाउन तल्लीन हुने गरेको समाचार सार्वजनिक भएको थियो, आजको साँघु साप्ताहिकमा समाचार छ, दररेट तय गर्दै उनीहरुले सरुवा गरेका थिए ।

सरुवामा अनियमितता भएको कुरा महेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा पनि उल्लेख छ ।


मर्मतको बजेटमा भ्रष्टाचार, अख्तियारको अनुसन्धान सुस्त
मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले ब्यवस्थापन महाशाखाबाट देशभरका स्वास्थ्य कार्यालयहरुको उपकरण मर्मतको ४५ करोड बजेटमा १४ करोड भ्रष्टाचार गरेको कुरा महालेखा परीक्षकको प्रतिवेदनमै औंल्याइएको छ । सचिव चौधरीका प्रियपात्र ब्यवस्थापन महाशाखा अन्तर्गत आपूर्तिका खरिद शाखा प्रमुख ललन साहले भने सरुवाका अलावा उपकरण मर्मतदेखि सप्लाई गर्ने ठेकेदार विशाल पण्डितसँग सेटिङ मिलाउने जिम्मा पाएका छन् ।

विशाल पण्डितका हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइन ट्रेड इन्टरनेशनलले देशभरका क्षेत्रीय र जिल्ला अस्पतालका उपकरण मर्मतको ठेक्का पाउँदैआएको छ । तर महालेखा परीक्षक कार्यालयले मर्मतको बजेटमा चरम भ्रष्टाचार भएको कुरा औंल्याएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।


ब्यवस्थापन महाशाखाका प्रमुख मोहम्मद दाउद र सागर घिमिरे बयानका लागि अख्तियारमा गइसकेका छन् । हस्पिटेकका विशाल पण्डितले सचिवलाई करोडौं रुपैयाँ घुस दिएर सेटिङअनुसार मर्मतको ठेक्का पाएका थिए । उनले कतिपय ठाउँमा मर्मत गर्दा सामान फेर्दै नफेरी बिल बनाएर भुक्तानी लिएको पाइएपछि महालेखा परीक्षकले प्रश्न उठाएको थियो ।

महालेखाले औंल्याएको कुरालाई आधार बनाएर अख्यिारले छानबिन गरेपछि ठेकेदार बिशाल पण्डितलाई स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग पनि भेटघाट गराएर कुरा मिलाउने काम सचिव चौधरीले गरिसकेकी छन् । मन्त्री यादव २०७५ भदौ १८ मा दिल्लीमा डब्लुएचओको कार्यक्रममा भाग लिन गएको बेला सचिव चौधरीले विशाल पण्डितलाई उतै भेट गराएर कुरा मिलाएको समाचार साँघुमै उजागर भइसकेको छ ।

अख्तियारले छानबिन गरे सचिव चौधरी पनि तानिनेभ भएपछि उनले हतार हतार ब्यवस्थापन महाशाखाा प्रमुखबाट डा. रमेश अधिकारीलाई मन्त्रालय तानेर विश्वासपात्र दाउदलाई पठाएकी थिइन् । अख्तियारले फाइल माग्नासाथ उनले निर्देशकमा दाउदलाई पठाएकी हुन् ।


सचिवकै कारण उपप्रधानमन्त्रीलाई अमेरिकाले भिसा दिएन ?
संयुक्त राष्ट्रसंघले क्षयरोग र नसर्ने रोगहरुको रोकथामका सम्बन्धमा नेपालका उपप्रम तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई निमन्त्रणा गरेको थियो । २०१८ सेप्टेम्बर २६ र २७ दुई दिनको कार्यक्रममा उपप्रधानमन्त्री यादव वक्ता थिए । तर अमेरिकाले उनलाई भिसा नदिएपछि संयुक्त राष्ट्रसंघको कार्यक्रममा उनले भाग लिन पाएनन् ।

नेपाल सरकारले भिसाका लागि अमेरिकी दूताबासलाई पत्राचार गर्दा पनि उनलाई भिसा दिइएन । स्वास्थ्य मन्त्रालयका १२ औं तहका डा.सुशील प्याकुरेललाई दूताबासले भिसा दियो । तर उपप्रधानमन्त्री यादवलाई दिएन । उपप्रधानमन्त्री यादवले छोरा दिपेश यादवलाई पनि अमेरिका लान खोजेका कारण भिसा नदिएको चर्चा पनि कतिपयले गरेका छन् । तर छोराको रिजेक्ट भए पनि उपप्रधानमन्त्रीलाई नै भिसा नदिनुले नेपालको बेइज्जत गरिएको अर्थमा पनि लिइएको छ ।


राष्ट्रसंघको उक्त कार्यक्रममा सचिव चौधरीले नै भाग लिने चाहना प्रकट गरेकी थिइन् । २०१८ सेप्टेम्बर १८ मा सचिव चौधरी अमेरिकामा अवार्ड लिनका गएकी थिइन् । उक्त कार्यक्रममा सहभागी भएर अवार्ड लिइसकपछि ८ दिनभत्रै हुने राष्ट्रसंघको कार्यक्रममा सचिव चौधरीले भाग लिनका लागि मन्त्री यादवसँग अनुमति माग्नका लागि फोन गरेकी थिइन् । तर मन्त्री यादवले डा. सुशील प्याकुरेलको नाम मन्त्रिपरिषदबाट मनोनयन गरिसकेको जवाफ दिएका थिए ।

राष्ट्रसंघमा मन्त्रीले दुई सत्रमा बोल्ने कार्यक्रम भएकाले पनि उनी आफैं जाने पक्षमा थिए । तर अमेरिकाले भिसा नदिएकाले उनी जान पाएनन् । तर अमेरिका सरकारले भिसा नदिनमा पनि सचिव चौधरीकै भूमिका रहेको अर्थ पनि मन्त्रालयभित्रै लगाउन थालिएको छ ।


अपार्टमेन्टलाई ३ सय शैयाको अस्पतालको अनुमति
स्वास्थ्य सचिव चौधरीले घुस पाएपछि ऐन नियम र मापदण्ड विपरीत काम गर्न पछि पर्दिनन् भन्ने कुरा ४५ बेडको समेत अनुमति दिन नमिल्ने काठमाडौं नेशनललाई ३ सय बेडको अस्पताल संचालनको स्वीकृति दिएपछि प्रष्ट भएको छ ।

४५ शैयाको अस्पताल पनि संचालन गर्न नमिल्ने घट्टेकुलोस्थित काठमाडौं नेशनल अस्पताललाई ३ सय शैयाको अनुमति दिने क्रममा सचिव चौधरीले ठूलो आर्थिक लेनदेन गरेको स्रोतको दाबी छ ।

सरकारले तोकेको मापदण्डविपरित रहेको अनुगमन प्रतिवेदन हुँदाहुँदै पनि ३ सय शैया सञ्चालनको स्वीकृती दिएकी हुन् । नेशनलले अपार्टमेन्टलाई ३ सय शैय्याको अस्पताल बनाउन स्वीकृतिका लागि आवेदन दिएको थियो । यसमा सचिव चौधरीका बीचौलिया हेल्थ असिस्न्टेन्ट ललन साहले नेशनल अस्पतालका बसिरुद्दिन मियासँग घुसको डिल गरेपछि स्वीकृति दिइएको स्रोतको दाबी छ ।

घट्टेकुलोको २ रोपनी १० आना १ दाम जग्गामा बनेको उक्त भवनमा उक्त मापदण्ड अनुसार बढीमा ४५ शैयाको अस्पताल मात्र चलाउन मिल्छ । मन्त्रालयले नै बनाएको ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७३ विपरित उक्त अस्पताललाई सञ्चालन स्वीकृति दिएकी थिइन् ।


यसैगरी सचिवले अन्य मापदण्ड नपुगेका अस्पतालहरुलाई पनि घुस लिंदै स्वीकृति दिन खोजेकी छन् । ललन साहमार्फत् नै सेटिङमा अस्पतालहरुको स्वीकृति दिने चलखेल सचिव चौधरीले गरेको आरोप छ । नर्भिक, सुमेरु, ग्रान्डीलगायतका अस्पतालले २ सय भन्दा बढी शैयाका लागि निवेदन दिएर स्वीकृतिका लागि पर्खिरहेका छन् । सचिव चौधरीले यी अस्पतालहरुसँग पनि ललन साहमार्फत् नै मोलमोलाई गरिरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७