सुदूर पश्मिमकै इज्जत हुन् पाँचाैं डाँन ‘निर्मला’


२३ आश्विन २०७५, मंगलवार
images 1

कञ्चनपुर, २३ असोज । निरन्तर प्रयासका कारण सुदूरपश्चिम ‘पाँचौँ डाँन’ बन्ने पहिलो महिला खेलाडीमा आफ्नो नाम लेखाउन सफल कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीकी ३३ वर्षीया निर्मला डगौंरा दुई दशकदेखि निरन्तर खेल जगतमा सक्रिय छिन् ।

images 1

१३ वर्षकै उमेरदेखि तेक्वान्दो खेलमा प्रवेश गरेकी उनले धेरै राष्ट्रिय प्रतियोगितामा सहभागी भई उपाधि समेत प्राप्त गरेकी छन् । ‘खेलप्रतिको लगनशीलता र मेहनतले आज प्रदेशको पाँचाँै डाँन बनेको हुँ’, खुशी व्यक्त गर्दै निर्मला भन्छिन्, ‘यसको श्रेय खेलगुरु र मेरा अभिभावकलाई जान्छ ।’
खेलप्रति लगाव भएकै कारण उनी दिनको एक पटक यहाँस्थित खेल परिसर पुग्छिन् ।

गत २०७४ सालमा घुँडामा देखिएको चोटका कारण अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भने निर्मला सहभागी हुन पाइनन् । ‘विभिन्न राष्ट्रिय प्रतियोगितामा दर्जनौँ पटक सहभागी भए पनि शारीरिक समस्या हुँदा मुलुक बाहिर जान भने रोकिएँ’, उनी भन्छिन्, ‘खेलकुदमा लागेर दाम नकमाए पनि नाम भने कमाएकी छु ।’

‘पाँचाैं डाँन बन्न सक्नु त्यति सजिलो होइन’, निर्मला भन्छिन, ‘यसका विभिन्न मापदण्ड र चरण पार गर्दै सफल हुनेसके मात्रै सम्भव भइन्छ ।’ सिनियरतर्फ प्रथम ब्ल्याक बेल्ट (प्रथम डाँन) २०५६ सालमा लिएकी निर्मला पाँचाैं डाँनमा हालै मात्र पुगेकी हुन् । ‘मसँगैका धेरै खेलाडी वैदेशिक रोजगारमा छन्’, उनी भन्छिन्, ‘खेलकुदमा खेलाडीको सुविधा र सुरक्षा नभएकाले पलायन हुने क्रम बढेको हो ।’

खेल जगतमै रहँदा सँगैका खेलाडी जहरसिंह चौधरीसँग केही वर्षअघि विवाह बन्धनमा बाँधिएकी निर्मलाले घरायसी कामसँगै खेलकुदलाई निरन्तरता दिँदै आएकी छन् । ‘उहाँ (श्रीमान) र मैले प्रथम डाँनसँगसँगै पास गरेका थियौँ । खेलकुदमै बसेको प्रेम चार वर्षअघि विवाहमा परिणत भयो ।’ दुई वर्षको छोरा समेत रहेको बताउने निर्मलाको बच्चाको स्याहार आमाले गर्छिन ।

पछिल्लो समय होटल व्यवसाय समेत सञ्चालन गरेका चौधरी दम्पतीले थारू परिकार पाउने यहाँ रिसोर्ट समेत सञ्चालनमा ल्याएका छन् । ‘साँझ खेलकुदमा हुने गरे पनि अरु बेला कटेजमा हुन्छु’, निर्मला भन्छिन्, ‘छैठौँ खेलकुद यहाँ हुँदा तीन महिने स्वयम्सेवक प्रशिक्षकमा समेत जागिर खाएको थिए ।’

उनीसँगै थारू समुदायकै अर्की खेलाडी भीमदत्तनगरपालिका–३ बिचपुरीका सरस्वती चौधरी पनि तेक्वान्दोकै चौथोे डाँन हुन् ।
निर्मलाभन्दा केही समयपछि तेक्वान्दो खेलमा प्रवेश गरेकी सरस्वतीले खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिएकी छन् । सरस्वती पनि निर्मलापछिकी प्रदेशको चौथोे डाँनमा एक्ली महिला खेलाडी बनेकी छन् ।

‘राष्ट्रिय प्रतियोगितामा समेत बिना पदक कहिल्यै फर्किनु परेन’, उनी भन्छिन्, ‘पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि यसलाई निरन्तरता दिँदै आएकी छु ।’ नाताले निर्मला सरस्वतीकी भाउजु पर्छिन् । ‘भाउजु भए पनि हामी शुरुदेखि नै साथी जस्तै हौँ ।’ स्नातकोत्तर तहमा अध्ययनरत सरस्वती भन्छिन्, ‘महिलाले त झन आत्मरक्षाका लागि पनि खेलकुदमा आउन जरुरी छ ।’

दाइको प्रेरणाबाट खेल जगतमा आएको उल्लेख गर्दै उनी यसबाटै पनि वैदेशिक रोजगारमा धेरै सम्भावना रहेको बताउँछिन् । निर्मला पाँचौँ डाँन खेलाडी बनेपछि उनका प्रशिक्षक मोहनप्रताब गुरुङ पनि खुशी छन् ।

‘विसं २०४२ सालदेखि महेन्द्रनगरमा तेक्वान्दो प्रशिक्षण शुरु भएको इतिहास छ’, प्रशिक्षक गुरुङले भने, ‘यो अवधिमा महिला खेलाडीतर्फ निर्मला र सरस्वतीले पाएको सफलता गर्वको विषय हो ।’ ‘दुई दशकसम्म निस्वार्थ खेल जगतमै रहनु निर्मलाको ठूलो लगानी हो ।’ गुरुङ भन्छन्, ‘उनको सफलताले हाम्रो पनि शीर उचो भएको छ ।’ पाँचाैं डाँनलाई स्नातक उत्तीर्णसम्म मान्यता दिइने उनको भनाइ छ ।

पछिल्लो समय कवर्ड हलमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद्को २५ लाख लगानीमा तेक्वान्दोको प्रशिक्षण केन्द्रसमेत निर्माण भएको छ । कञ्चनपुरमा करीब आधा दर्जन तेक्वान्दो डोजाङ सञ्चालन रहेकामा जिल्लाभर करीब ७०० खेलाडी रहेको प्रशिक्षक गुरुङ जानकारी दिन्छन् ।

खेलकुदमा भविष्य नदेख्दा खेलाडी पलायन हुने गरेको प्रशिक्षक गुरुङको भनाइ छ । ‘खेलकुदमा लागेर रोजगारलगायत सुरक्षाको सुनिश्चितता भए मात्रै खेलकुदको विकास हुनसक्छ’, उनी भन्छन्, ‘आफ्नै लगानीमा प्रतियोगितामा भाग लिनुपर्ने अवस्था अझै अन्त्य भएको छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७