एलएलबीमा २० गुणा बढी विद्यार्थी , टहरा बनाएर पढाउने तयारीमा ल क्याम्पस


२४ आश्विन २०७५, बुधबार
1530857155nepal law campus 1

काठमाडौं, २४ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम वर्षमा क्षमताभन्दा करीब २० गुणा बढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ ।

1530857155nepal law campus

एलएलबी पढ्नका लागि पूर्वमन्त्रीदेखि सर्वसाधरण समेत क्याम्पस भर्ना भएका छन् । करीब ५०० क्षमता भएको उक्त क्याम्पसमा अहिले स्नातक प्रथम वर्षमा १० हजार ८६० जना विद्यार्थी भर्ना भएका छन् ।

गत वर्ष चार हजार २३८ विद्यार्थी भर्ना भएका थिए। त्रिवि कानून सङ्कायका डिन डा ताराप्रसाद सापकोटाले क्षमताभन्दा बढी विद्यार्थी भर्ना भएपछि पढाउनका लागि कक्षाकोठा खोजिरहेको बताए ।

ल क्याम्पसमा चार वटा कक्षा कोठा मात्र स्नातक तह प्रथम वर्षमा पढाउनका लागि रहेको छ । उनले कक्षाकोठा उपलब्ध गराइदिन त्रिविका रजिष्ट्रार र रेक्टरसमक्ष पहल गर्न अनुरोध गरिएको बताए ।

’चार वटा कोठामा हामीले अहिले कक्षा सञ्चालन गरिरहेका छौं । ती कोठामा विद्यार्थीको भीड छ,’ उनले भने, ’प्राध्यापकसँगसँगै उभिएर विद्यार्थी पढिरहेका छन् ।’

काठमाडौंस्थित ल क्याम्पस मात्र नभएर उपत्यका बाहिरका छ वटा त्रिवि आंगिक क्याम्पसमा पनि क्षमताभन्दा बढी नै विद्यार्थी भर्ना छन् । डिन डा. सापकोटाका अनुसार सबभन्दा बढी नेपालगञ्जस्थित क्याम्पस एक हजार २०० र कम बुटवलस्थित क्याम्पसमा ७०० विद्यार्थी भर्ना भएका छन् ।

क्याम्पस प्रमुख डा. दिनानाथ पराजुलीले त्रिवि केन्द्रीय क्याम्पससँग जग्गा मागेर टहरा निर्माण गरी कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराए । ’हामीले त्रिविसँग ५० रोपनी जग्गा माग गरेका छौं।

त्रिविले जग्गा उपलब्ध गराए दशैंपछि उक्त जग्गामा पढाउन टहरा बनाउनेछौं,’ उनले भने, ‘हामीले बिहान पठाउँछौ । दिउँसो र कक्षा सञ्चालन नभएका बेला त्रिविले उक्त टहरामा परीक्षा समेत सञ्चालन गर्न सक्नेछ ।’

एउटा कक्षामा २०० जना पढाउने गरी क्याम्पसले टहरा बनाउने तयारी गरेको छ । क्याम्पस प्रमुख पराजुलीले कक्षाकोठा अभावले अयन्त्र पढाई सञ्चालन गर्नुपर्दा बिहान, दिउँसो र साँझ तीनै सिफ्टमा कक्षा सञ्चालन गरिने बताए । एउटै सिफ्टमा सबै विद्यार्थीलाई पढाउन असम्भव भएपछि तीन सिफ्टमा पढाइने उनले जानकारी गराए ।

त्रिविसँगै क्याम्पस नजिकका विश्व भाषा क्याम्पस, रत्नराज्य क्याम्पस र सरस्वती क्याम्पसमा कक्षाकोठा मागेर पठाउने छलफल भइरहेको पनि उनले बताए । यसैगरी करिब १० हजार ८६० जनाले भर्ना गरे पनि करीब एक हजार जना क्याम्पस आउने गरेका छन् ।

पहिलेको तुलनामा अहिले विद्यार्थी आउन थालेको क्याम्पस प्रमुख पराजुलीले बताए । उता नेपाल विद्यार्थी संघले एलएलबी प्रथम वर्षमा भर्ना समय थप्नुपर्यो भनेर क्याम्पस प्रमुखको कार्यकक्षमा असोज ९ गतेदेखि तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७