बुद्ध एयरको सफलता


२५ आश्विन २०७५, बिहीबार
Budhda air

काठमाडौं, २५ असोज । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले स्थापनाको २१ वर्षे सफल यात्रामा आफूलाई अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ ।

Budhda air

गुणस्तरीय जनशक्ति, सेवा सुदृढीकरणमा उच्चतम प्रविधिको प्रयोग तथा यात्रुको सेवा र सुरक्षामा उत्कृष्ट प्रदर्शनले नै बुद्ध एयर दक्षिण एशियामै स्तरीय कम्पनी बन्न पुगेको हो ।

पहिलो पटक १९९७ मा १९०० ‘डी’ विमानबाट उडान शुरु गरेको बुद्धले एटिआरको सफल यात्रा तय गरिसकेको छ । कम्पनीसँग हाल छ एटिआर ७२–५००, तीन एटिआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० ‘डी’ विमान छन् ।

बुद्ध एयरको सफलताको श्रेय मानव संशाधन भएको कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन् । ‘बुद्धको सफलता नै हाम्रा सहकर्मी हुन् । यहाँका ९६३ कर्मचारीले कम्पनीलाई व्यक्तिगत उन्नतिको साझा थलोको रूपमा लिएका र कम्पनीले पनि त्यही किसिमको सुविधा दिएका कारण सफल भएको हो ।’

आन्तरिक र क्षेत्रीय उडानमा देशकै अब्बल कम्पनी बुद्धले अबको यात्रा अन्तर्राष्ट्रिय गन्तव्यतर्फ केन्द्रित गर्ने भएको छ । अबको तीन वर्षपछि अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको बुद्धले त्यसको तयारी पनि थालेको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धले पब्लिक कम्पनीका रूपमा पहिलो चरणमा भारत र चीन उडान भर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत मात्र शेयर राखेर पब्लिक कम्पनीमा लैजाने तर आन्तरिक उडानका लागि पब्लिकमा नलगिने निर्देशक बस्नेत उल्लेख गर्छन् । अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत रणनीतिक साझेदार र बाँकी हवाई क्षेत्रमा आउन चाहनेलाई दिइनेछ ।
अन्तर्राष्ट्रिय उडानमा १४ विमान

अन्तर्राष्ट्रिय उडानको योजना बनाएको बुद्धले तीन वर्षपछि १४ वटा विमानबाट विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । हाल कम्पनीले बोइङ, एयरबस, इम्ब्रेररलगायत विमान उत्पादक कम्पनीसँग वार्ता गरिरहेको जनाएको छ ।

‘पोखराबाट १४ विमानले सेवा दिन्छौँ, पहिलो चरणमा भारत र चीनका गन्तव्यमा नै केन्द्रित हुन्छौँ, हामी यो वर्षको अन्त्यमा एयरबस वा बोइङ भित्र्याउने आर्थिक स्रोत व्यवस्थापनसहितको कार्ययोजना नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउँछौं’, प्रबन्ध निर्देशक बस्नेत भन्छन् ।

भारतको नयाँदिल्ली, मुम्बइ, बैङ्लोर, चेन्नाइ, हैदरावाद र चीनको बेइजिङ, साङ्घाइलगायत गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने बुद्धको योजना छ । अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स पाइसकेको बुद्धले काठमाडौँबाट भारतका केही शहरमा उडान गरिरहेको छ ।

हवाई मार्ग इजाजत तथा प्रक्रियाका हिसाबले भारतमा पहिला उडान हुने भए पनि पोखराबाट चीनमा पनि उडान गरिने जनाइएको छ । ‘इपिसिएफ मोडलबाट निर्माण भइरहेको विमानस्थल तोकिएभन्दा छिट्टै निर्माण होला भन्ने विश्वास छ ।

यो बीचमा तयारीका लागि हामीसँग प्रशस्त समय पनि छ । उक्त अवधिसम्म व्यावसायिक योजना र जनशक्ति तयारी पूरा गर्छौ’, उनी भन्छन् । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि केही सीमा हुने भए पनि पर्यटकीय सम्भावनालाई मध्यनजर गरी सेवा विस्तारको योजना अघि सारिएको कम्पनीले जनाएको छ ।

बुधबारदेखि २२ औँ वर्षमा प्रवेश गरेको बुद्धले एटिआर जहाज उडान थालेको १० वर्ष पुगेको छ । नेपालको भूबनोटअनुसार एटिचार सुरक्षित र भरपर्दो विमानको रूपमा स्थापित भएकाले आन्तरिक उडानमा एटिआरमै सीमित हुने बस्नेतले उल्लेख गरे ।

भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, भरतपुर र पोखरामा उडान गरिरहेको एयरलाइन्सले काठमाडौँबाट भारतको वनारसमा नियमित उडान शुरु गरेको छ । निकट भविष्यमै नेपालगञ्जबाट नयाँदिल्ली उडान शुरु गर्ने योजना छ ।

दक्षिण एशियाकै उत्कृष्ट ह्याङ्गर
बुद्ध एयरले सञ्चालन गरिरहेको ह्याङ्गर व्यवस्थापन दक्षिण एशियाकै उत्कृष्ट ह्याङ्गर भएको दाबी गरिएको छ । सिङ्गापुर एटिआरका बिक्री तथा सेवा प्रमुख बिली वोले बुद्ध एयरको ह्याङ्गर दक्षिण एशियास्तरको रहेको बताउँछन् ।

आफ्नो १० वर्षे सहकार्यमा बुद्ध एयरले हवाई सुरक्षाका साथै अन्तर्राष्ट्रियस्तरको मर्मत सम्भारलाई विशेष प्राथमिकता दिएको उनी उल्लेख गर्छन् ।

कम्पनीको ह्याङ्गरमा एटिआर मात्र नभई हेलिकोप्टर, जेटस्ट्रिम पनि मर्मत गर्न सक्ने क्षमता रहेको प्रबन्ध निर्देशक बस्नेत बताउँछन् । यहाँ केही अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि विमान मर्मत गर्दै आएका छन् । बुद्ध एयरमा हाल एक हजार कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७