नागढुङ्गा सुरुङमार्ग बनाउन ४२ कम्पनी इच्छुक, १५ कम्पनी नेपाली


२५ आश्विन २०७५, बिहीबार
Naubise Nagdhunga

काठमाडौं, २५ असोज । काठमाडौंबाट थानकोट हुँदै बाहिरिने र भित्रिने सवारीसाधनको सहजताका निर्माण गर्न लागिएको नागढुङ्गामा सुरुङमार्ग बनाउन ४२ कम्पनीले इच्छा देखाएका छन् । ४१ कम्पनीमध्ये १५ कम्पनी नेपाली रहेका छन् ।

Naubise Nagdhunga

सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले १५ नेपालीसहित ४२ कम्पनीले सुरुङमार्ग निर्माणका इच्छा देखाउँदै बोलपत्र खरिद गरेका छन् । सुरुङमार्ग निर्माणका लागि कम्पनी छनौटका लागि महाशाखाले साउन २४ गते ६० दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

सुरुङमार्ग निर्माण गर्न चिनियाँ २१, नेपाली १५, जापानिज तीन, भारतीय दुई र टर्किस एक कम्पनीले बोलपत्र खरिद गरेको महाशाखाका इन्जिनियर छविलाल पौडेलले बताएका छन् । प्रतिबोलपत्र २० लाख रुपैयाँ तोकिएको छ महाशाखाले जानकारी दिएको छ ।

बोलपत्र बुझाउन बुधबारसम्म अन्तिम मिति तय भए पनि कुनै प्रस्ताव दर्ता नभएकाले प्रस्ताव बुझाउने म्याद १५ दिन थप गरिएको छ । महाशाखाले बुधबारदेखि नै लागू हुने गरी प्रस्तावका लागि १५ दिनको समय थप गरेको जनाएको छ । टेन्डर प्रक्रियामा सहभागी हुने कम्पनीले २० करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्छ ।

विदेशी कम्पनीको हकमा विदेशी बैंकबाट बैंक ग्यारेन्टी ल्याउनुपर्ने हुन्छ । समय थप गर्दा अधिकतम कम्पनी टेण्डर प्रक्रियामा आउने वातावरण बन्ने बताउँदै महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठ भन्छन्, ‘धेरै कम्पनीबाट प्रतिष्पर्धा गराउँदा उत्कृष्ट कम्पनीले ठेक्का पाउने छ ।’

नेपाल सरकारसँग यसअघि भएको सहमतिअनुसार जाइकाले सुरुङमार्ग बनाउन १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराएको छ । जापानले आगामी ४० वर्षका लागि ०.१ प्रतिशत सहुलियत ब्याजदरमा ऋण दिएको हो । सोही ऋण रकमलाई सरकारले सुरुङमार्गमा खर्च गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।

सुरुङमार्ग निर्माण गर्न २२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । अपुग ६ अर्ब रुपैयाँ सरकारले व्यहोर्ने जनाइएको छ । उक्त रकम मुआव्जा वितरण र निर्माण क्षेत्रमा खटिने कर्मचारीको तलब भत्तामा प्रयोग हुनेछ ।

ठेक्का पाउने कम्पनीले सुरुङमार्ग प्रवेशद्वारसम्म जाने दुवैतर्फको बाटो र तोकिएको मापदण्डअनुसार सुरुङमार्ग बनाउनु पर्नेछ । आयोजना बनाउने कम्पनीले २.६८८ किलोमिटर सुरुङमार्गसहित त्रिभुवन राजपथबाट काठमाडौंतर्फ २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट सुरुङमार्ग प्रवेशद्वारसम्म पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।
सुरुङमार्गभित्र सडकको चौडाइ साढे नौ मिटर हुनेछ । यो सडक साढे तीन मिटरका दुई लेनको हुनुपर्नेछ ।

सडकको बीच भाग साढे एक मिटर छ । सुरुङमार्ग प्रवेश गर्ने सडकमा तीनवटा पुल, दुई अण्डरपास र एक–एक वटा ओभर पास तथा फ्लाई ओभर बनाउनु पर्नेछ । कम्तीमा पाँच मिटर लम्बाइको यो सुरुङमार्ग प्रवेश गर्ने बाटोका खोल्सामा ११ वटा कल्भर्ट समेत बनाउनु पर्नेछ । ठेकेदार छनोट प्रक्रिया जनवरी २०१९ लाई तोकिएको छ ।

ठेक्का पाउने कम्पनीले ४२ महिनाको समयमा सुरुङमार्ग र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । साथै सुरुङमार्गभित्र ट्रान्समिसन लाइन, ट्राफिक मनिटरिङ, कन्ट्रोल तथा मर्मतसम्भार कार्यालयलगायत संरचना बनाउनु पर्नेछ । सुरुङमार्गले चार किलोमिटर बाटो छोटिने जनाइएको छ ।

सुरुङमार्ग बनाउन तीन सय ७६ रोपनी जग्गा अधिकरण गर्नुपर्ने छ। यसका लागि साढे तीन अर्ब रुपैयाँ लाग्ने महाशाखाको अनुमान छ । गत असारदेखि काठमाडौंतर्फको दुई सय ६७ रोपनी जग्गा अधिकरण कार्य शुरु भइसकेको छ ।

काठमाडौंतर्फको जग्गाको मुआब्जा निर्धारण भइसकेको छ । सरकारले मुआब्जा वितरणका लागि ९५ करोड रुपैयाँ निकासा गरेको छ । हालसम्म महाशाखाले ७० करोड रुपैयाँबराबर काठमाडौंतर्फको मुआब्जा रकम वितरण गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७