माधव नेपालले भने, ‘कमिसन पाइन्छ भन्दैमा विमानस्थल भन्दै जहाँ पायो त्यहिं जमिन कोतर्दै कुद्ने ?’
काठमाडौं, २५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले लडहका भरमा विकास निर्माणको काम गर्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रि विमानस्थल आयोजना अध्ययनका लागि गठित उपसमितिको वैठकमा बोल्दै उनले अहिले कतिपय काम आवश्यकता भन्दा बढी लहडमा भइरहेको बताए ।
उनले कतिपय काम दीर्घकालीन असर अध्ययन नै नगरी बनिरहेको बताउँदै भने, ‘मन्त्री र प्रशासकीय प्रमुखलाई आउने कमिसनकै लागि जथाभावी पूर्वाधार बनाउँदै कुद्ने ?’
नेपाल संयोजकत्वको उक्त समितिमा बोल्दै नेपालले निजगढ विमानस्थल अपरिहार्य रहेको र त्यो विमानस्थल सम्पन्न भएपछि काठमाडौं विमानस्थल आफैं आन्तरिक उडान मात्र हुने भएकोले यो पाँच वर्षका लागि काभ्रेमा विमानस्थल बनाउन नहुने बताए । ‘मन्त्री आएपिच्छे विमानस्थल बनाउन भएन ।
त्यस्ता आयोजना अघि बढाउन पनि हुँदैन, अध्ययन भन्यो के भन्यो अनि कमिसन खायो तर, बनाउने होइन’, उनले थपे, ‘बनाउनै पर्ने निजगढको अहिलेसम्म अध्ययन मात्र भइरहेको छ तर, बन्नै नपर्ने काभ्रेमा भने प्रत्येक पटक मन्त्री फेरिंदा अध्ययन हुन्छ ।’
यता फास्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनै पनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ । बिहीबार समितिले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । समितिले आगामी ५-७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसँग माग समेत गरेको छ ।
समितिले पत्रकार सम्मेलनमा जारी प्रेस वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी प्रदेश–२ बासी यो आयोजना कुनै पनि बहानामा गुमाउन चाहन्नौं । अब पनि कुनै बाहानामा आयोजना अल्झाई राख्ने अधिकार कसैलाई छैन् ।
तत्काल निर्माण कार्यलाई अघि बढाउन र ५-७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसंग माग गर्दछौं । सबैखाले चलखेलका विरुद्ध हामी संघर्षमा उत्रिन तयार छौं । साथै हामीले स्थानीय स्तरबाट गर्नुपर्ने समन्वयका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्न चाहान्छौं ।’
समितिका संयोजक रविराज दंगालको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै टाँगियाबस्ती सरोकार समितिका तर्फबाट रमेश सापकोटाले विमानस्थलको धावन मार्ग प्रस्ताव गरिएको १४७६ धुरीको टाँगियाबस्तीमा विकास निर्माण ठप्प भएको गुनासो पोखे ।