चितवन क्षेत्र नं. ३ मा प्रचण्ड काँग्रेस फकाउँदै, पाण्डे एमाले


१ मंसिर २०७४, शुक्रबार
Prachanda bikram pandey

काठमाडौं: चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एक अर्काको गठबन्धनको मत तान्न लागि परेका छन् ।

Prachanda bikram pandey
पूर्वप्रधानमन्त्री दाहाल काँग्रेसका मत फकाउँदै छन् । भने, पाण्डे एमाले फकाउँदै छन् । काँग्रेस र एमालेबाट सो क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवार छैनन् । आफ्नो गठबन्धन बाहिरको मत तान्न सकेमा जित सुनिश्चित हुने भन्दै उनीहरु एक अर्काको गठबन्धनबाट मत तान्न लागि परेका हुन् ।
काँग्रेस निकट बुद्धिजीवी प्रा. डा. सूर्यकान्त घिमिरे माओवादी अध्यक्ष प्रचण्डकी पुत्री रेनुलाई भरतपुर महानगरमा प्रमुख बनाउँदा काँग्रेसको सहयोग रहेकाले पुनः सहयोग मिल्न सक्ने अपेक्षा दाहालको रहेको बताएका छन् । तर काँग्रेस झन बढी चिढिएकाले दाहालको त्यो अपेक्षा पूरा हुने घिमिरे सम्भावना कमै देख्छन् ।
काँग्रेसले चुनावमा राप्रपाका उम्मेदवार पाण्डेलाई चुनाव चिह्न रुख लिन आग्रह गरेका थिए । पाण्डेले एमालेको मत पनि आफूले पाउने भएकाले त्यो अस्वीकार गरेका कारण स्थानीय निर्वाचनमा रुष्ट बनेका एमालेका केही मत पाण्डेले पाउन सक्ने घिमिरे बताउँछन् ।
वाम बुद्धिजीवी रमाकान्त सापकोटा दाहालले काँग्रेसबाट पाउने मत र पाण्डेले एमालेबाट पाउने मत बराबर नै हुने अनुमान गर्छन् । परिणाम भविष्यवाणी गर्न नसकिए पनि गठबन्धनको मत यताउता जाने संख्या बराबरी नै हुने उन भने ।
स्थानीय तहको निर्वाचनमा चिढिएको एमालेले निर्वाचन पेचिलो हुने हुँदा निर्वाचनको दिनसम्ममा प्रचण्डलाई मतदान गर्ने उनले बताए । भरतपुर महानगरपालिकाको निर्वाचनमा पराजित बनेएका एमालेका उम्मेदवार देवी ज्ञवाली अहिले दाहालको चुनावी प्रचारमै रहेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी सभाहरुमा काँग्रेसलाई फकाउनमै समय बिताउने गरेको छन् । अधिकांश उनको भाषणमा बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको उद्देश्य प्राप्तिका लागि आफू लागिपरेको बताउँदै आएका छन् ।
शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू भएको भन्दै उनले अर्को हस्ताक्षरकर्ता कोइरालाको सपना आफैँले मात्रै साकार गर्न सक्ने भन्दै भोट माग्दै आएका छन् । काँग्रेसप्रति उनको गुनासो छ, ‘कि त आफ्नै उम्मेदवार हुनुपथ्र्यो, होइन भने गणतन्त्रविरोधी राप्रपालाई समर्थन गर्न हुँदैनथ्यो ।’
यता पाण्डे पनि एमाले फकाउनमा आफ्नो समय खर्चिंदै आएका छन् । हिजो छोरी जिताउने काँग्रेसलाई छाडेर एमालेको साथ लिन आएका दाहालले एमालेलाई पनि छाड्ने हुँदा सजग हुन एमालेलाई पाण्डेले अपिल गर्दै आएको छ । निर्वाचनपछि प्रचण्डले एमालेलाई छोड्ने पाण्डेले बताउँदै आएका छन् ।
प्रचण्डका मुख्य प्रतिस्पर्धी पाण्डे राप्रपा ‘प्रजातान्त्रिक’का केन्द्रीय उपाध्यक्ष एवं वन तथा भू–संरक्षण मन्त्री हुन् । तत्कालीन क्षेत्र नं ४ र ५ मिलाएर बनाएको हालको क्षेत्र नं ३ मा पाण्डे पुनः काँग्रेसको समर्थनमा निर्वाचन लड्दै छन् ।
विसं २०७० मा तत्कालीन क्षेत्र नं ४ मा काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले दोब्बर मत ल्याएर विजयी भएको थियो । काँग्रेसको सुरक्षित स्थान खोज्दै कोइराला त्यो समयमा चितवन आएको हो । तत्कालीन क्षेत्र नं ५ बाट पाण्डे विजयी भएको थियो। विसं २०७० को निर्वाचनमा काँग्रेस र राप्रपाले एक/एक सिट जितेको थियो ।
तर गत स्थानीय निर्वाचनमा भने यो ठाउँमा वामपन्थीहरुले प्राप्त गरेको मत धेरै छ । क्षेत्र नं ३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वडा पर्छन् । गत स्थानीय तहको १९ वडाको मत हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा काँग्रेसको मत बढी छ । १९ वडामध्ये पाँचवटा एमालेले, तीनवटा माओवादी केन्द्रले तथा ११ वटा वडा काँग्रेसले जितेको छ ।
भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत तीन हजार ८७२ थप्दा १७ हजार ५०८ हुन आउँछ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १३० र माडी नगरपालिकाको मत तीन हजार ८२६ थप्दा २४ हजार ९५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वाम गठबन्धनको मत ४२ हजार ४६४ हुन्छ ।
यता भरतपुर महानगरका १९ वटा वडाको काँग्रेसको मत २३ हजार २३७ छ । माडी नगरपालिकामा काँग्रेसले ल्याएको मत तीन हजार ८२९ हो । काँग्रेसको कूल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत आठ हजार ३४१ जोड्दा ३५ हजार ३०७ हुन्छ । वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा सात हजार मतले अगाडि छ ।
स्थानीय तहको निर्वाचनपछि जिल्लामा ४१ हजार ३३ मत थपिएका छन् । पछि थप भएका मतमध्ये क्षेत्र नं ३ मा बढी भएको भनिए पनि छुट्टिन सकेको छैन । समग्र मतलाई हेर्दा दुवै उम्मेदवार तेस्रो र चौथो दलका रुपमा रहेका छन् । पहिलो काँग्रेस छ भने दोस्रो एमाले छ । वाम गठबन्धनको मत सुरक्षित गर्न सके दाहाल विजयी हुने देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको मत सुरक्षित गर्दै एमालेका मत तान्न सकेमा पाण्डे विजयी हुने देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७