दशैंकाे माैका छोपेर मनपरी भाडा असुली


२८ आश्विन २०७५, आईतवार
gadi

पर्वत, २८ असोज । दशैंमा जसरी पनि घर पुग्नु पर्ने वाध्यताको मौका छोपेर सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् ।

gadi

पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली गरिरहेका छन् । गाडी चढेर यात्रा नगरौँ सम्बन्धित ठाउँमा पुग्न घण्टौँ पैदलयात्रा गर्नुपर्छ ।

चढौँ भेँडाबाख्रा खाँदिए जस्तै खाँदिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुको गुनासो छ । दशैँका बेला सडकमा सवारी साधन र यात्रुको चाप छ । यस्तो मौकामा यातायात व्यवसायीले मनपरी भाडा असुली गरिरहेका यात्रुले गुनासो गरेका छन् ।

‘हिँडेर जान आउन कठिन भो, गाडी चढ्ने बानी पर्‍यो, चढौँ भने सवारीले मनपरी भाडा लिन्छन्’, पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीका महेश्वर शर्माले भने, ‘यत्रो भाडा लाग्छ भन्दा कन्डक्टरले भाडा नभए यहीँ झर्नुहोस्, हामीलाई यात्रुको अभाव छैन भन्नु हुन्छ ।’

पर्वत जिल्लाको कूल एक हजार ४४ किलोमिटर सडकमध्ये ६३ किलोमिटर कालोपत्रे, ६० किलोमिटर ग्राबेल र ८८० किलोमिटर सडक कच्ची छ । कच्ची र ग्रामीण सडकमा चल्ने सवारीको मनोमानी छ ।

अग्ला भीरमा रहेका, नमिलाइएका उकालो सडकमा समेत क्षमताभन्दा दोब्बर यात्रु राखेर गाडी कुदाउँदा जोखिम रहेको कुश्मा नगरपालिका–१४ आर्थरका शिवराम पौडेलले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको तथ्याङ्कअनुसार जिल्लामा रुट परमिट प्रदान गरिएका सडकमा जिपले प्रतिकिमी साढे आठ र बसले साढे सात रुपैंयाँ लिने प्रावधान छ ।

तर, सवारी साधनले भने तेब्बरसम्म भाडा असुली गरिहेको यात्रुको गुनासो छ । व्यवसायीले भने मनपरी भाडा नलिएको र क्षमताभन्दा धेरै यात्रु नराखेको दाबी गर्दै आएका छन् । सीमित सवारी र यात्रुको चाप बढेका कारण ग्रामीण क्षेत्रमा कालोपत्रे सडक जस्तो सहज नहुने भएकाले भाडा केही मात्र महँगो हुनु अस्वाभाविक नभएको उनीहरूको तर्क छ ।

‘गाडीमा चढ्न खोज्ने धेरै हुन्छन्, कसैलाई चढ्नुस कसैलाई नचढ्नुस भन्न भएन । गाउँमै जाने गाडी त्यही गाउँका मान्छे त चढ्ने नै भए । त्यही पनि हामीले क्षमताभन्दा बढी त राखेका छैनौं’, यातायात व्यवसायी कुमार श्रेष्ठले भने, ‘पिचमा चल्ने गाडीको भन्दा ग्रामीण क्षेत्रमा चल्नेको भाडा केही महँगो त हुने नै भयो ।

त्यस्ता सडकमा बस चलाउँदा हामीले लिने जोखिम र सवारी साधनको क्षति पिचमा चल्नेको कहाँ हुन्छ र ?’ ट्राफिक प्रहरी कार्यालय पर्वतले भने सवारी साधनले मनपरी भाडा लिएको भनी कुनै पनि उजुरी नआएको बताएको छ ।

यद्यपि, चाडपर्वको समयलाई ध्यानमा राखेर विभिन्न ठाउँमा ट्राफिक प्रहरी परिचालन गरेर भाडा असुली र क्षमताभन्दा बढी यात्रु राखे नराखेको विषयमा अनुगमन गर्ने र त्यस्तो गरेको पाइएमा तुरुन्त कार्वाही गर्ने ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७