कथा : चुन्कीको अन्तिम दशैं

लक्ष्मण वियोगी
विनय एक्कासी झस्क्यो । एक अँगालो घामका छायाँ सोहोरिएर आँखामा खनिएझैँ भयो । तिर्मिराएका आँखा तन्कायो । उसका अघिल्तिर चुन्की ठिङ्ङ उभिएकी थिई ।
चुन्कीका बदामी ओंठ खुले–दशैं माने आइलो मलिक्वा ?

चुन्कीले मालिक भनेर बोलाइ । ऊ अँधेरो भयो । खासमा विनय चुन्कीको मालिकै हो । तर, गाउँकाले भने पनि चुन्कीले नामै काढेर बोलाओस् भन्ने चाहन्थ्यो ऊ । किनकी, ऊ विनयको ढुकढुकीमा बसेकी थिई ।

विनय झोक्कियो–कत्रा कहनु महिन् मलिक्वा नै कहिस कैके । तोर कन्पट्टिम् नाइ घुसठ ?
विनयको बोली नखस्दै चुन्कीले उत्तर फकाई–का कहूँ तो मोर थारु (लोग्ने) ? ऊ हाँस्दै जंगलतिर भागी ।

विनय पछ्याउँदै गयो । ऊ छक्याउँदै झाडीमा लुक्न खोजी । तर, विनयले आफ्नो बलिया पञ्जाले च्याप्पै समात्यो । ‘अब् मै तुहिन नाइछोडम, छिल्लाइल बठनिया (मात्तेकी तरुनी) ।’ चुन्कीका गाला राता न राता भए, रगत बग्लान् जस्तै । उसले माथि हेर्न सकिन, आँखा बन्द गरी र थुचुक्क भुइँमा बसी ।

विनयले केर्न छोडेन–तँलाई काली । अब् तो तुहिन बिन जन्नी (श्रीमती) बनाके छोड्बे नाइकरम् ।
चुन्कीले बिन्ती गरी–नाई बाबा अब् नाई कहम जाट्टिसे । माफी मागटूँ प्लिज ।
विनयले उसका पाखुराबाट आफ्ना बाघे पञ्जा हटायो । उसले लामो सास फेरी ।
चुन्कीले एकोहोरो विनयको गँठिलो शरीर नियालिरही–कहिले हिंड्नु भो त काठमान्डुबाट ?
विनय जिस्क्यो–पोहोर साल ।
ऊ खिन्न भई ।

धमिलो अनुहार देखेर विनय बोल्यो–ए नरिसा न हिजो नाइटमा हिंडेको के !
उसले घुक्र्याइ–आफू भने मजा गर्नुहुन्छ । मैले बोल्यो भने …
काली नरिसा न । सरी ल !
ऊ अनारदाना दाँत देखाएर खितिति हाँसी ।
विनयले भन्यो–म साँझ जाँड खान आउँछु । मीठो बनाएर राख है काली ।
‘पिबो आप्ने जाँर ? काठमान्डु बैठलेक मनै जाँर पिठइँ ?’ चुन्कीले यति नभन्दै ऊ चार घर पर पुगेको थियो ।

यसपालि गाउँको रौनक फेरिएछ । गमक्का गाउँको वनको किनार सुकुम्बासी बस्तीले भरिएछ । त्यहाँ झण्डै सय घर मुक्त कमैयाका झुप्रा थिए । कुनै ठूला त कुनै साना, तर समग्रमा हरेकका झुप्राबाट अभाव र गरिबीको धुवाँ उडिरहेको थियो ।

गाउँमा कमैया राखेर कजाउने धङधङी हटेको छैन । कजाउने र कजिने चर्खे पिङको अवशेष केही ठाउँमा अझै देख्न सकिन्छ ।
सुकुम्बासी टोल दशैं भित्र्याउन एकजुट थियो । कोही घरको भित्ता पोतिरहेका त कोही खाल्डोमा माटो मुछिरहेका थिए । पर खुला चौरमा केटाकेटी हल्ला गर्दै थिए ।
केटाकेटीको हूल चिच्यायो–ऊ हेरो छोट्का मालिक आइगिनै ।

हुलले विनयलाई घे¥यो । उसले झोलाबाट चक्लेटको प्याकेट निकाल्यो र बाँडिदियो । केटाकेटी खुशीले उफ्रिदै फेरि चिच्याए–छोट्का मालिक आइगिनै । यी हेरो हाम्रे तो चक्लेट पाइली ।
ऊ हरेक वर्ष गाउँ आउँदा छुट्टै रौनक छाउँछ । आज पनि उसको आगमन र दशैं उस्तै लागेको छ, यो बस्तीलाई ।

खुशीको तोरन टाँगिएको छ, फूलको डोली लिएर दुइटा चाड एकैचोटी भित्रिएझैं ।
जमिनदारको छोरो भए पनि विनयले कसैसँग झर्केर बोलेका छैन आजसम्म, र त गाउँमा उसको आगमन कुनै चाडभन्दा कम हुन्न । साँच्चै ऊ गाउँका लागि माया गर्ने मन हो ।

बडाहाकिम राघवध्वज राणाले बोलीमा आगो ओकल्थे । यसैको रापमा कति थारु रैती जलेर खरानी पनि हुन्थे । राघवध्वजको यहाँ दुई सय साठी बिघा जग्गा छ । पचास घर कमैया छन् । उनीहरू बाह«ै महिना खेतमा जोतिन्छन् । वर्षान्तमा दुई–चार क्विन्टल धान थापेर जीवन गुजार्छन् । पञ्चायतको बीउ मासिएपछि उनका खुर भाच्चिएझैँ भएका छन् । तैपनि, पुरानै रापको धुवाँ फ्याँक्न भने छोडेका छैनन् ।

राघवध्वजको एक्लो छोरो विनयलाई बाबुको सान र सम्पत्तिको मतलब थिएन । ऊ थारुका आँगनमा गुच्चा र गुलीडन्डा खेलेर हुर्केको थियो । लट्टु नचाउन ऊ गाउँकै एक नम्बर थियो । फूलरामको घरभित्र छिरेर ऊ मुसाको मासु र घोगी खान्थ्यो ।

ऊ बाबुको आँखा छलेर गाउँका केटाकेटीसँगै कुलामा माछा मार्न बल्छी हान्थ्यो । जाल थाप्थ्यो र खेतका बडेबडे आली भत्काएर मुसा मारेको खुब रहर मानेर हेथ्र्यो । कहिलेकाहीँ ऊ चुन्की, भुनियाँ, कालुराम, धनिराम, हरिप्रसादसँग भैँसी चराउन जंगल जान्थ्यो । जंगलमा उनीहरू वनमौरी काढ्न जोँझा बनाउँथे ।

सबै मिलेर मह काढ्थे । चुन्की र भुनियाँले सालको पातका टपरी गाँस्थे । धनिराम बाल्टीबाट सबैका अघि राखिएको टपरीमा मह खन्याउँथ्यो । अनि गहुँको रोटीको पोको फुकाएर महसँग उनीहरू मिझ्नी (अर्नी) खान्थे ।
मिझ्नी खाँदै धनिराम भुनियाँलाई जिस्क्याउँथ्यो–
जंगल जानी साली अर्नी लानी खाजा
गटियाले मुख छुपी किन मान्छ्यौ लाज‘.
चुन्की विनयको घरमा कम्लहरी थिई । कम्लहरी भए पनि राघवध्वजले उसलाई स्कुल पढाएका थिए । विनय १० कक्षा पढ्दा ऊ ८ मा थिई । विनय चुन्कीलाई माया गरेर चिनियाँ भन्थ्यो । ऊ मुस्कुराउँथी ।

विनयले राखेको नाम उसलाई सारै मन परेको थियो । ८ कक्षाको रजिस्ट्रेसन फाराम भर्दा चुन्की हटाएर उसले ‘चिनियाँ चौधरी’ लेखाएकी थिई ।
विनय एसएलसी पासपछि पढन् काठमान्डु जाने भयो । त्यतिबेला ती दुवै एक्ला एक्लै खुब रोएका थिए ।

विनय फस्ट डिभिजनमा पास भएको थियो । त्यो दिन घरमा उसको अबिरजात्रा चल्यो । राघवध्वजले तीन वटा खसी काटेर भोज ख्वाए । देशी–विदेशी रक्सीको चुस्कीले राघवध्वजको घरमा उत्सव भित्र्याएको थियो । विस्तारै साँझ ओर्लिंदै थियो । पश्चिमतिर सालका रुखमाथि घामको पहेँलो रेखी बाँकी थियो ।

एक चरन सुइइ ऽऽ य हावा चल्यो अनि आँगनमा साँझ खस्यो ।
अचानक विनयलाई जोरो आयो । ऊ कोठामा गएर पल्ट्यो ।
चुन्की कसैले नदेख्ने गरी विनयको कोठामा छिरी । उसले सोधी–का हुइगिल बाबु ?
‘केही भएको छैन । तँ जा । म एकछिन सुत्छु ।’

चुन्कीले निधार छामी । निधार आगोको भुंग्रो जस्तै तातो थियो । ऊ आत्तिइ । तुरुन्तै जगमा पानी र सेतो रुमाल लिएर आई । उसले विनयको निधारमा पानीपट्टी गर्न थाली ।
भोज पातलिँदै गयो । खाने–पिउनेको भीड निख्रिन थाल्यो । साढे ९ बज्दा घर सुनसान भइसकेको थियो । चुन्की विनयको कोठामै थिई ।

विन्देश्वरी विनयको कोठामा छिरिन् । त्यहाँ चुन्की थिई । उनले भनिन्–तँ जा । म बस्छु । उसले आज्ञा शिरोपर गरी । विनय मुवाहजुरसँग बोलेन । घोप्टो परेर सुतिरह्यो । उनी पनि नबोली बाहिरिइन् । केहीबेरमा फेरि चुन्की कोठामा छिरी । छामी, निधार सेलाएको थिएन ।
११ बजेसम्म पानीपट्टी गरिरही । सानैदेखि विनयलाई उसले यसरी नै स्याहारेकी हो । उमेरमा सानी भए पनि चुन्कीले जति विनयको हेरचाह अरूले गरेनन् । विनयको निधार केही सेलायो । ऊ चुन्कीतिर फक्र्यो ।

चुन्कीको श्यामलो मुहार, कम्मरसम्म झरेको कपाल र खिरिलो कम्मर हेरेर ऊ कहिल्यै अघाउँदैनथ्यो । आज उसलाई चुन्कीको रूपले झन् लोभ्याएको छ ।
विनयले सोध्यो–काली के भयो ?
चुन्की सासले बोली–कुच्छु नाई ।
विनयले उसको टाउको समातेर उठायो । उसका आँखा बढैया ताल भएका थिए । पोखिएर बग्ने ठाउँ थिएन ।

विनयले कपाल मुर्सायो–काली मलाई केही हुन्न । सेवा गर्ने तँ छँदैछस् नि । तँ हुँदासम्म म मर्दिनँ । पिर नमान् । बल्ल चुन्कीले टाउको उठाइ ।

विनय बोलिरह्यो–सुन ! म त पर्सी काठमान्डु गइहाल्छु । म गएपछि तँलाई गाली गर्ने कोही हुन्न । तेरो खुशी जहाँ जा, जे गर । तर, लेहँगा लगाएर हुक्कई–हुक्कई नाचेर मात्र हुन्न । ९ कक्षा पुगिस् । अर्को वर्ष एसएलसी दिनुपर्छ । राम्रोसँग पढ् ।

चुन्कीका आँखाबाट बररर आँशु झरे, बढैया ताल फुटेर बगे जस्तै । वनसप्टीको भूतले अठ्याएझैँ घाँटी क्याक्क भयो । बोल्नै सकिन । धेरै बेरसम्म रोइरही ।

भित्तेघडीको घन्टा सुई १२ मा पुगेको थियो । बाहिर टहटह जून लागेको थियो । झ्यालबाट जूनका छायाँ छिरेर चुन्कीको लामो कपालमा फिजाई दिएका थिए।
आँशु पुछ्दै चुन्की बोली–काठमान्डु जा के महिन् भुलाइबो का हूँ !

विनयले ढाडस दियो–म तँलाई बिर्सन सक्छु र ! कहिल्यै बिर्सिन्नँ । बरु तँ राम्रो पढेस् । रातका दुई प्रहर उसले विनयका खुट्टा समातेरै कटाइ । मिर्मिरे उज्यालो हुन थाल्यो । अनि ऊ फुत्त निस्केर बिहानको काम गर्न थाली ।
विनय साँझ सुकुम्बासी टोलतिर निस्क्यो । ऊ चुन्कीको घर पुग्यो । उसका बा–आमा सँगै थिए । विनयलाई देख्ने बित्तिकै भेगुवा जुरुक्क उठ्यो । र, खटियामा बस्न अनुरोध ग¥यो– मालिक यहर बैठी ।

विनय झक्र्योे–काकु ! मलाई मालिक नभन्नु भनेर कति भनें । तपाईं मान्नु हुन्न ?
भेगुवा उभिइरह्यो । चुन्कीले विनयका अघि करेलाको अचार, ढिक्री र एक बटुको जाँड राखिदिइ ।
‘काली मैले जाँड खाएको कहिल्यै देखिस् ?’
‘अघि मीठो जाँड बनाएर राख् भन्नु भएको होइन ?’
ऊ हाँसिरह्यो मात्र ।

विनयले करेलाको अचार र ढिक्री खायो । अनि बाहिर निस्क्यो । पचास मिटर दूरीको फरकमा चुन्की पनि पछि लागी । सुकुम्बासी बस्तीको छेउमा ठूलो सिसौको रुख छ । गाउँलेले यसलाई घेरेर चौतारो बनाएछन् ।
बस्तीको दुःख बिसाउने साझा बिसाउनी बनेको रैछ, चौतारो । आज यो रित्तो थियो । छातीभरि जूनका छायाँ ओछ्याएर कसैलाई कुरिरहेझैँ लाग्थ्यो । सायद विनय र चुन्की आउने चाल पाएर आज गाउँका कोही आएनन् ।

दुवै चुपचाप चौतारामा बसे । परै बसेकी चुन्कीलाई विनयले बोलायो–किन पर बसेकी ? यता आइज न । ऊ लजाई । विनयले बोलाइरह्यो । ऊ आउँदै आइन ।
विनयले उसको पाखुरा समातेर तान्यो–खुब भाउ खोज्ने भइछस् हैन । आइज यता । अब तँलाई एक्लै छोडेर म काठमान्डु जान्नँ, बुझिस् ।

चुन्कीको अनुहार अँधेरो भयो । मुन्टो झुकाइ–मालिकको छोरा भएर म जस्तो कम्लहरीलाई नहेर्नु बाबु । हजुरको ठूलो इज्जत, मान, सम्मान छ । मलाई बिहे गरेर गाउँमा हजुरको बेइज्जत हुन्छ । मेरो बाबा–आमा कसरी मालिकको घरमा काम गर्न जानु होला ?

विनय जंगियो–उसो भए तँ मसँग जान खुशी छैनस् । ठीक छ, तैँले अर्कै राजेकी छस् भने म तेरो बाटोमा काँडा बन्दिनँ । होइन भने यो विनयध्वज राणाले छोड्नेलावा छैन, बुझिस् ?
चुन्की सुक्सुकाई–त्यस्तो केही होइन । हजुर काठमान्डु गएपछि मलाई ललनले निकै सतायो । स्कुल जाँदा–आउँदा, घाँस र झाला काट्न जाँदा सधैँ मेरो पिछा गथ्र्यो । तँ मसँग बिहे गर नत्र ठीक हुन्न भन्छ ।

‘ऊ भन्छ–मालिकके सम्पत्तिम् तोर आँखा लागल बा । तैँ नाइ बुझ्बे री, विनय तुहिन् बेच के खाई । बोर बात मान महिन् से भोज (बिहे) कर बरिया हुइजाई ।’
विनय मुर्मुरियो–साला ललन ! सालाको गर्दन छिनाइदिन्छु । के सोचेको छ, त्यसले यो विनयध्वजलाई ।
चुन्कीले उसको पाखुरा बलियो गरी समाती–प्लिज, यसो नभन्नुस् । हजुर शहरमा राम्रो केटी खोजेर बिहे गर्नुस् ।

विनय झन् रिसायो–यो बाबुसाबुको नाटक नगर केटी । भन् तँ मसँग बिहे गर्छेस् कि गर्दिनस् । तँ मलाई माया गर्दिनस् ? ऊ बोल्दै बोलिन ।
काठमान्डु लगेर तँलाई धेरै पढाउने मेरो सपना थियो । त्यो व्यर्थ रैछ ! ठीक छ, तँ जहाँ खुशी हुन सक्छेस् त्यहीँ बस् । म भोलि बिहानै काठमान्डु जान्छु ।

ऊ विनयको खुट्टा समातेर रुन थाली–प्लिज बाबु त्यसो नभन्नुस् । म हजुरसँग जान तयार छु । मैले हजुरलाई दुःखी देख्न सक्दिनँ । तर, मलाई डर छ, गाउँको र मालिकको । मेरा बाबा–आमालाई केही भयो भने !

विनय काठमान्डु गएपछि चुन्की ललनबाट मात्र होइन सिंगो गाउँबाटै असुरक्षित भई । राघवध्वजले समेत उसको फक्रिंदो बैँसमा आँखा गाडे । कोठामा बोलाएर यौवनको रस पिउन धेरै कोशिस गरे । चुन्कीको छातीमा हुर्कदै गरेका फूल टिप्न दुषित नंग्रा नतन्काएका होइनन् । तर, अनेक बहाना बनाएर ऊ फुत्किन्थी । जसोतसो आजसम्म बचाएरै राखी, केवल विनयकै लागि ।
विनयले दारा किट्यो–बुवाहजुर पनि यत्ति निकृष्ट होइबक्सिन्छ भन्ने थाहा थिएन । हेर्दै गइबक्स्योस्, हजुरको सान–सौकतको धुरी छिट्टै खरानी हुनेछ ।

ऊ जोशियो–काली ! भोलि टीकाको दिनमै हामीले बिहे गर्नुपर्छ । म बाइकमा आउँछु । तँ वनसप्टी रोडमा निस्की । नेपालगञ्ज बागेश्वरी मन्दिर गएर बिहे गर्ने हो । त्यतैबाट हामी काठमान्डु जानुपर्छ । चुन्कीले टाउको हल्लाइ ।

विनयले चुन्कीको शिर–पाउ हे¥यो–आज ऊ वसन्तको बगैँचा देखिएकी थिई । त्यहाँ ढकमक्क फूल फूलेर बैँसको बहार आएको थियो । जून पोखिएको छिप्पिँदो साँझमा ऊ धपक्क बलेकी थिई ।
दुवैले राजदूत बाइकमा घुमेको विगत सम्झे–उनीहरू चिसापानी धेरै पटक पुगेका थिए । कर्णालीको चिसो पानीमा खुट्टा डुबाएर घन्टौँ बस्थे । प्रेमगीत गुन्गुनाउथे ।

गीतका फाँकी दुनियाँलाई सुनाउँदै पानीले दक्षिणतिर बगाउँथ्यो । प्रेमको पुष्पक विमानको उडान कहिले सुर्खेतको बुलबुले ताल र देउती बज्यै मन्दिरसम्म पुग्थ्यो । पोहोर माघीमा विनय काठमान्डुबाट सोझै ठाकुरद्वारा आएको थियो । ठाकुरबाबालाई साक्षी राखेर दुवैले मायाको डोरो कसिलो पारेका थिए ।

साँच्चै भोलिदेखि ऊ विनयकी श्रीमती हुन्छे । चिनियाँ ‘चौधरी’ फेरिने छे । ऊ चिनियाँ राणा हुने छे । उसको गाउँ, शहर र सिंगो संसार अब विनय हुनेछ । विनयसँगको दाम्पत्य जीवन सम्झेर ऊ रातभरि निदाउन सकिन । ऊ झ्यालबाट छिरेका जूनका छायासँग खेलिरही । तिनै छायाँलाई विनय मानेर अँगालो हाली र धेरै पटक चुमी । यस्तो अचम्म र उच्चाटको बेचैनी उसले कहिल्यै भोगेकी थिइन ।

आँखा झिमिक्क नगरी चुन्कीले सिंगो रात कटाइ । भाले बास्यो । ऊ उठेर कामधन्दामा लागी ।
१० बज्यो । चुन्की चिच्याई–बाबा बेला हुइगिल । हाली करो ।

पिँढीमा टीका र चमरा तयार पारी । सफा चट्टिया बिछ्याइ । आफ्ना दुई भाइ श्रीजन र रामदिनसँग सँगै बसी । भेगुवा र चुकनीले शुरुमा छोराहरूलाई टीका लगाइदिए । छिनमै उसको निधार पनि टीकाले भरियो ।

जमरा लाइदिँदै बाले भने–छायी तुहिन् धेर पढाइना मन रहे । नाइसेक्नु । मलिक्वा से बात कैल्याटूँ । हुइल कि नाइ । हुइल से तो तोर जिन्दगी बढिया हुइन रहे ।
चुन्कीका आँखा डब्डबाए ।

टीका सकियो । एकछिन अलमल गर्दै चुन्कीले भनी–बाबा मै सघरियाक घर जाके आइम ना । साहेँ जुन हुइ जाई काहुँ ।
‘हाली आइस् । धेर रात नैकरिस् ।’
‘हाँ हाँ बाबा’ भन्दै ऊ घरबाट निक्ली । उसले फर्केर हेरी भाइ र आमा उसलाई हेर्दै थिए ।
उसले सान्त्वना दिइ–डाइ, भैया मै हाली आइम ना ।

मुखले त भनी तर ऊ अब यहाँ घर भनेर कहिल्यै फर्कने छैन । जन्मघर सदाका लागि छोडेर जाँदै थिई । बेलको रुखमुनि हिजो राति नै लुगा राखेको झोला लुकाएकी थिई । झोला समाती । दायाँबायाँ कसैले देख्ला कि भन्दै ऊ भिलोर रुखलाई दाहिने पारेर चोरबाटोतिर लागी। ऊ जंगलै जंगल वनसप्टी रोडतिर दौडी ।
राघवध्वज र विन्देश्वरीले विनयलाई टीका लगाइदिए । टीका सकियो । विनयले हतार हतार बाइक निकाल्यो ।

राघवध्वजले सोधे–खानै नखाइ कहाँ बाबु ?
‘बुवाहजुर म नेपालगञ्ज जाने जरुरी काम छ । बाटोमै खान्छु । पीर नलिइबक्स्योस् । साँझ फर्किन्न होला । मुवाहजुर बाटो नहेरिबक्सेला ।’

साढे १२ बजिसकेको थियो । विनय आत्तियो–चुन्कीले कति पर्खी होली । ऊ समयको जहिले पनि ख्याल गर्छे । उसले दुईजोर कपडा राखेको ब्याग भि¥यो र बाइक स्टार्ट गरेर हुइँकियो ।
ऊ वनसप्टी पुग्यो । वरिपरी हेर्‍यो, चुन्की थिइन । झाडीमा लुकी कि भन्दै चारैतिर च्यायो । सोच्यो चुन्की कतै लुकेकी छे ।

विस्तारै बोलायो–काली म आइसकें । लुक्नुपर्दैन छिटो आइज । मसिनो आवाज झाडीमै बिलायो ।
ऊ अलि चर्को करायो–ए काली! कति दुःख दिन्छेस् छिटो आइज न । ढिला भइसक्यो । तँलाई कुराएँ सरी बाबा !

विनयको बोली अघिझैँ बडेबडे सालका रुखमा ठोक्किएर बिलायो । तर, चुन्कीको आवाज कतै सुनिएन । विनयले उसको मोबाइलमा फोन थिच्यो । फोन अनौठो बज्यो–माफ गर्नुहोला तपाईंले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ ।

विनय झसंग भयो । कतै चुन्कीलाई ललनले त भगाएन ! आफू ढिलो आएकोमा पछुतायो । दर्जनौँ पटक फोन थिच्यो । तर, उही आवाज दोहोरिइरह्यो ।

विनयलाई पक्का भयो । चुन्की ललनसँगै भागी । ऊ मुर्मुरियो–जाँठी तैँले मलाई धोका दिइस् । आखिर थारुको जात जनाइस् होइन ? अनायासै उसका आँखामा आँशु भरिए ।
उसले निकै अघि सडकमा मान्छेको भीड देख्यो । आँशु पुछेर त्यतै दौड्यो–चुन्की त्यहीँ पो छ कि ! भाग्न लागेको देखेर गाउँलेले रोकेको हुनुपर्छ ।

नजिकै पुगेर सोध्यो–के भयो ? कोही बोलेन । भीड बीचबाट कसैको रुवाइको चित्कार बाहिर आएको थियो । विनय भीड पन्छाउँदै भित्र छिर्‍यो ।

त्यहाँको दृष्य देखेर विनय छाँगाबाट खसेझैँ भयो । चुन्की लम्पसार सुतेकी थिई । कपालमा सिउरेको केही जमरा भुइँमा खसेका थिए । टीका जतनले निधारमै टाँसिएको थियो । आधा रेटिएको उसको घाँटीले मुस्किलले टाउको धानेको थियो । विनय त्यहीं मुर्छा परेर ढल्यो ।
(स्रोत ः रचनाकारको ब्लगबाट साभार)

प्रतिक्रिया दिनुहोस्

Skip to toolbar