घाँस दाउरा बेचेर गाउँमा विजुली


५ कार्तिक २०७५, सोमबार

म्याग्दी, ५ कात्तिक । म्याग्दीको धौलागिरी गाउँपालिका–७ मा रहेको धारापानी सामुदायिक वन उपभोक्ता समूहले घाँस–दाउरा बेचेर भएको आम्दानी विद्युतीकरणमा परिचालन गरेको छ ।

bijuli1बिजुली

वन समूहले गाउँपालिकामै पहिलोपटक धारापानीमा भएको विद्युतीकरण योजनाका लागि करीब साढे तीन लाख लगानी गरेको हो ।

हालसम्म २०१ घरधुरी उपभोक्तालाई विद्युत्को मिटर जडान गर्न रु एक हजार ७०० का दरले अनुदान दिइएको उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।

‘विद्युत् सुविधा भएपछि वन तथा वातावरण संरक्षणमा सहयोग पुग्ने भएकाले घाँस र दाउरा बेचेर जम्मा गरेको रकम सहयोग गरेका हौं’, अध्यक्ष थापाले भने ।

सात वटा वडा रहेको धौलागिरी गाउँपालिकाको धारापानीमा भदौ महीनादेखि बिजुली बल्न थालेको हो । विसं २०६७ देखि शुरु भएको विद्युतीकरण योजनाबाट २०१ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव किरन थापाले बताए ।

सचिव थापाका अनुसार गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समूह, स्थानीयवासी, तत्कालीन जिविस र गाविसको रु ५६ लाख ८३ हजार ७६० को लागतमा योजना निर्माण भएको हो ।

धेरै वर्षसम्म उज्यालोका लागि सिट्ठा र दियालो बालेर रात कटाएका धारापानीका रामबहादुर खत्रीले गाउँमा बिजुलीसँगै विकासको अवसर भित्रिएको बताउनुभयो । उज्यालोका अतिरिक्त फर्निचर, अल्लो प्रशोधन, राईसमील, मासु पसल सञ्चालन हुन थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७