बेलायती विश्वविद्यालयमा पहुँच बढाउँदै गोर्खा सैनिकका सन्तान


१ मंसिर २०७४, शुक्रबार
british degree
काठमाडौं : बेलायती सरकारले सन् २००४ मा अवकाशप्राप्त गोर्खा सैनिकका परिवारलाई आवासीय भिसा दिने घोषणा गरेयता नेपालीहरूको बसाइँसराइले तीव्रता पायो । भूतपूर्व गोर्खा सैनिक तथा मानवशास्त्री डा. चन्द्र लक्सम्बाका अनुसार, त्यो सुविधाले लाहुरेहरुका सन्तानको बेलायती उच्च शिक्षामा पहुँच बढायो । त्यसले अरु नेपालीलाई पनि यसतर्फ आकर्षित गर्‍यो । ‘नेपालमै स्कुल तह पढेको पहिलो पुस्ता उच्च शिक्षामा केही कमजोर देखिए पनि काम गरेर कमाइरहेका छन्,’ लक्सम्बा भन्छन्, ‘दोस्रो पुस्ताका ९० प्रतिशत नानीहरुको उच्च तहमा आक्रामक उपस्थिति हुन सकेको छ । केही उच्च तहमा पुगिसकेका छन् ।’ पीएचडी उपाधि हासिल गर्ने तथा प्रहरी अधिकृत, डाक्टर, इन्जिनियर भएकाहरुको संख्या बढ्दो रहेको उनले जनाए । यी केही युवा त्यस्तै सम्भावनाको लहरमा छन् :  
british degree

1 17112017084210

राधाकुमारी राई युनिभर्सिटी अफ हार्टफोर्टसायर यूकेकी ग्रयाजुएट हुन् । २० वर्षीया उनी करिब तीन महिनाअघि ग्रयाजुएसन सेरेमोनीमा सहभागी भइन् । बेलायती गोर्खा सैनिक छोरी उनले तीनवर्षे रेडियोग्राफी पूरा गरिन् । उनको पुख्र्यौली घर ओखलढुंगा हो । सन् २००९ मा बुबाआमाको साथ लागेर बेलायत पुगेकी हुन् ।

त्यतिखेर नेपालमै साइन्समा प्लसटु सकेकी थिइन् ।

उनले बेलायतमा सुरुमा किङस्टन कलेजबाट एकवर्षे एक्सेस कोर्स गरिन् । ‘मेरो उद्देश्य साइन्स पढ्ने थियो,’ उनले भनिन्, ‘नेपालमा बसेको भए साइन्स नै पढ्थें । अहिले साइन्समै रेडियोग्राफी पढेर जागिरसमेत पाइसकेकी छु ।’

उनले पढ्नको निम्ति ऋण खोज्नुपरेन । सरकार मातहतको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले नि:शुल्क पढ्ने अवसर दियो । उनी यतिखेर त्यहीँ एउटा अस्पतालमा कार्यरत छिन् ।

2 17112017084208

योजना राई लन्डन वेस्ट मिनिस्टर काउन्सिलअन्तर्गत भिओलिया इन्भाइरोमेन्टल सर्भिसेस कम्पनीमा कार्यरत छिन् । २६ वर्षीया उनी पेई रोल एकाउन्टेन्ट हुन् । फ्रान्समा स्थापना भएको यो कम्पनी बेलायतका ठूलामध्ये पर्छ ।

उनी सन् २००७ मा बेलायत प्रवेश गरेकी हुन् । ९ कक्षा पढदै गर्दा आवासीय भिसामा बुवाआमासितै बेलायत हाँकिएकी उनले सुरुमा जीसीएसई गरिन् ।

‘ए लेभलका सबै विषयमा ए र म्याथ्समा बी आयो । त्यसपछि एक वर्ष ग्याप बसें । काम गरें । ड्राइभिङ सिकें,’ अर्को वर्ष घरपायक युनिभर्सिटी अफ केन्टमा ब्याचर्ल डिग्रीका निम्ति भर्ना भएको सुनाउँदै उनले थपिन्, ‘मैले तीनवर्षे बिजनेस एन्ड म्यानेजमेन्ट रोजेँ । काम गर्ने कम्पनीहरूलाई चाहिने जस्तो फस्ट क्लास नै आयो । अगस्ट २०१४ मा ग्रयाजुएसन सकें ।’

उनले अगाडि भनिन्, ‘ग्रयाजुएसनपछि पनि काम पाउन सजिलो हुन्न । एउटा कम्पनीमा प्रवेश गर्न चार वटा इन्टरभ्यु हुन्छ । एप्लिकेसन र फोन इन्टरभ्यु लिन्छन् । मन पराए बोलाउँछन् । त्यसपछि ग्रुप इन्टरभ्यु लिन्छन् । टिम वक्र्स स्किल्स टेस्ट लिन्छन् । व्यक्ति व्यक्तिको क्षमता हेर्छन् । त्यसपछि मन पराएकालाई एक्लाएक्लै इन्टरभ्यु लिन्छन् । अन्तमा सम्बन्धित कम्पनीका प्रमुखसमेतले इन्टरभ्यु लिन्छन् ।

ब्याचलर्स गर्न बेलायती सरकारले ऋण पनि दिन्छ । उनका पालामा तीन वर्षमा एक विद्यार्थीले ९ हजार पाउन्ड टयुसन फी तिर्नुपथ्र्यो । विद्यार्थीले ग्रयाजुएसनपछि त्यो ऋण तिर्दै जानुपर्छ । वर्षभरिमा २१ हजार पाउन्डभन्दा बढी कमाउने भएपछि उसको मासिक तलबबाट काटिन्छ । तलब त्योभन्दा कम भए काटिँदैन ।

उनी अहिले काममै व्यस्त छिन् । मास्टर्स पढ्न आफैंले बैंकबाट ऋण लिनुपर्ने हुन्छ । ‘लोन लिएलगत्तै हरेक महिना तिर्दै जानुपर्ने हुन्छ,’ एकवर्षे मास्टर्स पढ्नेबारे भनिन्, ‘त्यसैले मास्टर्स पढ्न गाह्रो छ । अरू समस्या हुन्छ ।’

3 17112017084208

सरोज गुरुङले भर्खरै स्पोर्टस् साइन्स ब्याचलर पास गरेका छन् । यी २१ वर्षेले यूकेको युनिभर्सिटी सेन्टर फानबरोबाट पूरा गरेका हुन् । उनी आमा, बाबु र बहिनीका साथ स्यान्डसमा बस्छन् । यतिखेर टेस्को कम्पनीमा पार्ट टाइम काम गर्दै छ ।

उनी अब खेलकुद क्षेत्रमा काम गर्ने योजनामा छन् । ‘स्पोर्टस् साइन्स भनेको खेलकुदसँग सम्बन्धित छ,’ यी पोखरेली ठिटो भन्छन्, ‘यसले खेलकुदमा लागेका मान्छेहरूलाई कसरी हेल्दी, सेफ्टी रहने । इनजुरी भएमा रिहाभ गर्ने एक्सरसाइज, खानेकुराहरूको बारेमा जानकारी दिने ज्ञान दिइन्छ । मोटोपन घटाउने, स्वस्थ र तन्दरुस्ती रहनेबारे सिकाउँछौं । समग्रमा स्पोर्टस् साइकजीबारे जानकारी मिल्छ ।’ उनी २००९ डिसेम्बरमा यूके पुगेका हुन् । त्यसअघि पोखराको बाटुलेचौरस्थित प्रगति बोर्डिङ कक्षा ८ मा पढेका थिए ।

यूके आएपछि ए नाइनको बीचमा भर्ना पाए । जीसीएसई त्यहीबाट गरे । त्यसपछि फान्बरो सिक्सफमबाट ए लेभल गरेका हुन् । उनी यूके आएपछि नेपाल फिरेका छैनन् । ‘ठूलो ममी, बाबा, मामा माइजू, बाजेबजै सम्झिरहन्छु । सधैं पोखराको याद आइरहन्छ ।’ आफूले पढेको विषय नेपालमा काम लाग्ने/नलाग्नेबारे उनी अनभिज्ञ छन् ।

4 17112017084208

रमेश सेरपुन्जा स्टाफसायर युनिभर्सिटीका छात्र हुन् । २२ वर्षे उनी सेकेन्ड इयर पढ्दै छन्, डिजाइन बेस्ड एरोनोटिकल टेक्नोलजी । अहिले डिजाइनमा इन्जोय गरिरहेको उनले बताए । ‘पढाइ ग्याप राखेर काम गर्दै छु,’ उनले भने, ‘जोडियस फान्बरो एयरपोर्टमा काम गर्ने तयारीमा छु । एक वर्ष काम गरेपछि पढाइ पूरा गर्छु ।’

उनको घर पोखरा हो । सन् २०१० मा बेलायत पुगेका हुन् । ब्ल्याकवाटरमा बुवाआमा, तीन दिदी, एक भाइ र एक बहिनीका साथ बस्छन् उनी । पोखराको बिन्देश्वरी स्कुलमा १० कक्षासम्म पढे । त्यसपछि इयर टेन बेलायतमै पढे । जीसीएसई सकेर फान्बरो टेक्नोलजी कलेजमा दुईवर्षे एरोनटिकल इन्जिनियरिङ पढे ।

‘सानैदेखि लडाकु विमान, फाइटर जेट उडाउने मन थियो,’ आफ्नो सपना पूरा हुँदै गरेको उल्लेख गर्दै उनले भने, ‘उडाउनेभन्दा पनि बनाउने काममा जुट्दै छु ।’

5 17112017084208

२१ वर्षे रिहान्त तामाङ अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीका छात्र हुन् । मोटर स्पोर्ट टेक्नोलजीमा ब्याचलर्स पढ्दै छन् उनी । सेकेन्ड इयर रनिङ छ । यो विषय पढेकाले रेसिङ गाडीहरूको डिजाइन गर्ने हो । यो विषय उनी आफैंले रोजेका हुन् ।

‘रेसिङ कारहरूको कम्पोनेन्ट कसरी पर्फम हुन्छ भन्ने जानकारी पाइन्छ,’ पहिलो वर्ष एरोनोटिकल पढेर मोटर स्पोर्टमा ट्रान्सफर गरेका उनले सुनाए, ‘अब एक/दुई वर्ष बाँकी छ । पछि रेसिङ कम्पनीहरूमै काम गर्छु । गाडीका कम्पनीहरूमा पनि काम पाइन्छ ।’

उनको घर पुख्र्यौली भारतको दार्जिलिङ हो । उनी एक्लो छोरा हुन् । बेलायतमै जन्मेहुर्केका हुन् उनी । ए लेभलमा एयरक्राफ्ट मेन्टेनेन्स पढेका थिए ।

6 17112017084207

प्रशान राई स्टानफोर्ड युनिभर्सिटी युकेका छात्र हुन् । यी २२ वर्षेले भर्खरै स्ट्ेरन्थ एन्ड कन्डिसनिङ तीनवर्षे कोर्स पूरा गरेका छन् । ‘यो फुटबल टिम, बास्केटबल टिमलाई पूर्वतयारी गराउने विषय हो,’ सानैदेखि खेलकुदमा रुचि राखेको उल्लेख गर्दै उनले सुनाए, ‘बलियो बन्ने, छिटो कुद्ने, उफ्रिने, खेलको तयारी गर्ने, बोल्ने शैली सिक्ने, कोच गर्ने, बुझाउने र सहज तुल्याउने विषय हो यो ।’

उनी अहिले कलेजमा बास्केटबल कोच गर्दै छन् । ‘अब यही विषयमा काम गर्छु,’ उनले भने, ‘यो साइन्स डिग्री हो । पढ्नु, लेख्नु, एक्सपेरिमेन्ट टेस्ट, प्राक्टिकल, सिक्ने र अरूलाई सिकाउने काम गर्नुपर्छ । यो स्पेसिफिक विषय हो । कस्तो खाले एक्सरसाइज खेलाडीलाई सिकाउने भन्नेमा यो केन्द्रित छ ।’

उनको दिनहुँ बढी समय एक्सरसाइजमा बित्ने गर्छ । केही वर्ष अनुभव बटुलेपछि मास्टर्स पढ्ने उनको योजना छ ।

7 17112017084208

२५ वर्षीया एलिना कार्की युनिभर्सिटी अफ ब्रिस्टल युकेकी छात्रा हुन् । मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा पढदै छिन् उनी । तीनवर्षे ब्याचलर्सलगत्तै एकवर्षे मास्टर्स पूरा गर्ने लक्ष्य राखेकी छन् उनले । उनी हङकङ आईडीवाला बा–आमाका छोरी हुन् । घर मोरङको उर्लाबारी हो । त्यहीँको पशुपति स्कुलबाट एसएलसी पास गरिन् ।

त्यसपछि काठमाडौंको ट्रिनिटी कलेजबाट साइन्समा प्लस टु गरिन् । अनि गिलफर्ड कलेज यूकेबाट ए लेभल सकिन् ।

उनले यूकेकै पासपोर्ट पाएकी छन् । आमाबुबा हङकङमै छन् । ‘युनिको लोन लिएर पढदै छु,’ होस्टलमै बस्दै आएकी उनले सुनाइन्, ‘वार्षिक ९ हजार पाउन्ड पाइन्छ । खान र बस्न दिन्छ । लोनले पुगेको छ ।’

नेपालमा पढेकालाई यूकेमा केही गाह्रो हुने उनको ठम्याइ छ । ‘युनिभर्सिटी पाउनै गाह्रो छ,’ यूकेको लेभलमा नेपालको प्लस टु एएस सरह मात्र ठहरिने उल्लेख गर्दै भनिन्, ‘मैले दोहोर्‍याए पढ्नुपर्‍यो । नेपालमा थ्यौरी बेस्ड भयो । घोकेर पास गर्न सकिन्छ । यूकेमा त्यस्तो छैन । टपिक बुझेपछि मात्र गर्न सकिन्छ । नेपालमा सोर्स पुग्दैन । यहाँ सबै कुरा गरेर बुझ्ने अवसर छ । नेपालमा अवसर र स्कोप कम छ ।’ नेपालमै डाक्टरी पढ्ने सोचाइ रहे पनि उनी बेलायतमा स्कोप फरक पाएर विषय बदलेको उनले सुनाइन् ।

 –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७