दर्जनौंलाई घरवारविहिन बनाउने ‘सिरियल ठग’ दिनेश कोइराला पक्राउ


६ कार्तिक २०७५, मंगलवार
vip thag dinesh koirala1


काठमाडौं, ६ कार्तिक । सर्बसाधरणहरुलाई झुठो सपना देखाएर करोडौं ठगी गर्ने डिएन कोइराला भनिने दिनेश कोइराला पक्राउ गरेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कोइरालालाई मंगलबार बिहान पक्राउ गरेको हो ।

vip thag dinesh koirala1



दोलाखा मोलुङ गाउँपालिका–९ पोवटी घर भई हाल काठमाडौं–३२ कोटेश्वर बस्ने कोइरालालाई मंगलबार बिहान बालुवाटारबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ । कोइरालालाई वैंकिङ कसुर ठगी मुद्दामा पक्राउ गरिएको महाशाखाले जनाएको छ । कोइरालाले करोडौं ठगी गरेको समाचार नयाँ पेजले पहिलो पटक सार्वजनिक गरेको थियो ।

भिआइपी ठग, नेताको संरक्षणमा करोडौँ ठगी

कोइरालाले विभिन्न वहाना बनाई विदेश पठाउने, जग्गा जमिनको कारोवार गर्ने, व्यापार व्यवसाय गर्ने भन्दै करोडौं ठगी गरेका छन् । खोटाङ दिप्रुङ् चुईचुम्मा गाउँपालिका वडा न. १ बस्ने श्याम खड्काको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । यो सँगै कोइराला बिरुद्ध महाशाखामा ठगीको दर्जनौं उजुरी समेत परेको छ ।

कहाली लाग्दो ठगी

Dinesh koerala
पक्राउपछि महाशाखाले जारी गरेको विज्ञप्ती


कोइरालाले ‘एकको दुई’ बनाई दिने सपना देखाउँदै सर्बसाधरणहरुको करोडौं ठगेका हुन् । कोइरालाले सामुहिक लगानीको माध्यमबाट व्यवसाय गरेर छोटो समयमै कमाउन सकिने लोभ देखाएर करीब दुई दर्जन सर्बसाधरणहरुलाई ठगेका हुन् । दोलखाका कोइरालाले पूर्वको मोरङ, सुनसरी र झापाका सर्बसाधरणहरुलाई ठगेका हुन् ।

car of DN
कोइरालासँगै प्रहरीले नियन्त्रणमा लिएको कार



कोइरालाले कानेपोखरी मोरङका उमेश घले गुरुङबाट डेढ करोड, अमरदह राजघाट उर्लाबारी मोरङका कृष्ण धिमालबाट डेड करोड, इटहरी–५ सुनसरीका सहदेब गुरुङबाट २९ लाख, उर्लाबारी राजघाट–९ मोरङका शिबलाल पुरीबाट ९९ लाख ठगेका छन् ।



यसैगरी दुर्गापुरी राजघाट—८ मोरङका विष्णु धिमालबाट डेढ करोड ठगेका छन् । इटहरी—४ सुनसरीका चेतराज भट्टराईबाट ५ लाख, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङककी रिता मगरबाट २ करोड, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङकी दिपा धिमालबाट २ करोड, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङका दुर्गा धिमालबाट ४० लाख ठगेका छन् , दुर्गापुरी राजघाट—८ मोरङका हरी धिमाल र दुर्गापुरी राजघाट—८ मोरङकी बुद्दीमायाँ धिमाल रहेका छन् ।


यसैगरी सिजुवा—२ मोरङका निर्मल खड्काबाट १ करोड ४० लाख ठगेका छन् । इटहरी—८ सुनसरीका यशोधा भट्टराईबाट ३० लाख ठगेका छन् । झापाका सोले धिमालबाट ५० लाख, इटहरी—४ का भवननाथ भट्टसँग १५ लाख ठगेका छन् । यस्तै उर्लाबारी राजघाट—८ मोरङका सर्वसाधरणको घरबार नै उठेको छ । यस्तै इटहरी सुनसरीका लक्ष्मी भट्टराईबाट ८० लाख, रतुमाइ नगरपालिका मोरङका निर्मल खड्काबाट १ करोड ३९ लाख ठगेका छन् ।

ठगीका अनेक रुप
दोलखा पवटी गाविस–३ स्थायी घर भएका कोइराला नेपाली काङ्ग्रेस दोलखाका कांग्रेस कार्यकर्ता सिताराम कोइरालाका छोरा हुन् । उनी शुरुमा काठमाडौंमा सामान्य व्यवसाय गर्दै आएका थिए ।
शुरुमा कोइराला मोरङ उर्लाबारी पुगे । उनले त्यहाँ ‘हाई प्रोफाइल’ को व्यवसायी भन्दै कृषि फारम स्थापना गर्ने भन्दै पैसा संकलन शुरु गरे । उनले उर्लाबारीलाई केन्द्र बनाएर काम शुरु गरे ।

कानेपोखरी मोरङका पीडित उमेश घले गुरुङका अनुसार उनले कृषि फारम खोल्ने भन्दै पैसा मागे । उनले लगानी गर्न साथ दोब्बर हुने भन्दै परियोजनाका बारेमा पनि सुनाए । उमेश भन्छन्, ‘मलाई उनको योजना राम्रो लाग्यो, आफ्नो पनि आम्दानी होला कि भनेर डेढ करोड दिएँ ।’

कोइरालाका नजर विशेष गरेर सोझा धिमालहरुमा गएको देखिन्छ । केहि चलाख धिमाल हात लिएर उनीहरुलाई नै प्रयोग गर्दै कोइरालाले आफ्नो ठगी धन्दा फैलाए । कोइरालाले रामप्रसाद धिमाललाई हात लिई सोझासिधा धिमालहरुलाई घर न घाटको बनाएका छन् । उनले उर्लाबारी राजघाट—८ मोरङका रामप्रसाद धिमालका माध्यमबाट धिमाल बस्तीमा पनि ठग्न शुरु गरे ।

कोइरालाबाट ठगिएका विष्णु धिमाल अहिले सुकुम्बासी जस्तै बनेका छन् । धिमाल भन्छन्, ‘मलाई ठूलो प्रलोभन देखायो । मैले कमाइखाने भाँडो १ विगा ८ कठ्ठा जग्गा गुमेको पत्तो पाइनँ । उसैको सुझावमा ६ महिनाका लागि त्यो जग्गा १७ लाखमा धितो राखेको थिएँ । तर, ठगले मलाई डेड लाख मात्र पैसा दियो । चार वर्ष बितिसक्यो, त्यसपछि भेट नै हुन सकेको छैन ।’

इटहरी—४ की लक्ष्मी भट्टराईको पनि ब्यथा उस्तै छ । ६ वर्ष अगाडि चिनजानबाट इटहरी पुगेका कोइरालाले भट्टराईलाई आमा बनाएका थिए । ७ छोरी र २ छोराकी आमा भट्टराईलाई आफू माइलो छोरो हुँ भन्दै सधैँ महँगो कोसेली ल्याई दिने गरेका थिए । माइलो छोरा हुँ भन्नेको जालसाँझी नबुझ्ने ती ७० वर्षीया बुद्धा कोइरालाको कर्तुतमा फसिन् ।

घर बेचेको ५० लाख रुपैँयाँ कोइरालाले झ्वाम पारिदिए । महँगो ब्याज दिन्छु भन्दै ५ महिनाका लागि रकम लगेका ५ वर्ष बितिसक्दा पनि एक पटक समेत कोइराला लक्ष्मीको सम्पर्कमा आएनन् । उनी भन्छिन् ‘म तपाईको माइलो छोरो हुँ आमा । मलाई यति पैसा दिनुहोस् तपाईलाई यस्तो घर २ वटा बनाई दिन्छु । घर वरिपरीका जग्गा पनि किनिदिन्छु भन्थ्यो, अहिले घर न घाटको पो बनायो ।’
कोइरालाका चिल्ला कुरामा लोभिएकी ती बृद्धा अहिले रकम डुबेको चिन्तामा मात्र छैनन् खुट्टा भाँचिएको उपचार गर्ने रकम नभएर समस्यामा छिन् ।

कोइरालाले पैसा फसाई दिएका कारण उनी अहिले बिचलित भएर सातदोबाटोमा छोरीको आश्रयमा छिन् । श्रीमान, छोराहरुको कचकच थाम्न नसकेर काठमाडौं आएकी भट्टराईको अब एउटै मात्र इच्छा छ, कोइरालाबाट पैसा फिर्ता लिएर आनन्दको सास फेर्ने । उनी भन्छिन्, ‘म डाँडामाथिको घाम जस्तै भइसकें । कोइरालाबाट पैसा फिर्ता ल्यान सकिन भने मर्ने बेला पनि सास जान मुस्किल हुन्छ ।’ ती बृद्धाको यस्तो ब्यथा सुन्ने जोकोहीलाई भाबुक बनाउँछ ।

कोइरालाको ठगीमा परेका उमेश घले गुरुङको पनि कथा त्यस्तै छ । कानेपोखरी जदा, मोरङ स्थायी घर भएका घले अहिले काठमाडौंको गल्लीमा भौतारी रहेका छन् । कोइरालाले घर जमिन डुबाइ दिएपछि उनी अहिले कोइरालाको खोजी गर्दै काठमाडौं आएका छन् ।

भन्छन् ‘कोइरालाले सुकुम्बासी जस्तै बनायो । मेरा अहिले केहि जायजेथा छैन । दिनेश कोइरालाले डुबाई दिएको सम्पति फिर्ता गर्न सकिन भने परिवारको कन्तबिजोक हुन्छ ।’ कोइरालाप्रति निकै आक्रोशित उनी सरसापटको भरमा परिवार चलाइरहेको बताउँछन् । घलेले कोइरालालाई आज भन्दा ४ वर्ष अगाडि आफूसँग भएको र साथीभाइसँग सरसापट गरेर समेत डेढ करोड दिएका थिए ।

ठूला कृषि फारम खोल्ने, जग्गा प्लटिङ गर्ने र धेरै ब्याज दिने कोइरालाको सपनाले आज उनी सडकमा आइपुगेका छन् । कोइरालाको शर्त अनुसार डेड करोडको ब्याज मात्रै पनि १ करोड ९० लाख जति पुगिसकेको उनी सुनाउँछन् । उनी थप्छन्, ‘उसले भने जति पनि परेन सरकारी ब्याज दर अनुसार हिसाव गरेर मेरो पैसा बुझाए हुन्छ ।’


इटहरी–५ सुनसरीकी निर्मला गुरुङ पनि कोइरालाको जालमा नमिठो गरी फसिन् । १७ वर्ष वैदेशिक रोजगारमा गएर कमाएको पैसा कोइरालाले छोटै समयमा फुत्काए । दुःखले जोडेको एक तले घरमा अर्को तला थप्ने पैसा दिने शर्तमा पैसा चिप्ल्याएका कोइराला त्यसपछि सम्पर्कबाटै हराए । चार आनामा बनेको एक तले घर बैंकमा धितो राखेर कोइरालालाई पैसा दिएकी उनले कोइरालाबाट एक लाख मात्र पाएको बताइन् ।

घर डुबाइ दिएर कोइराला पहिला जस्तो सम्पर्कमा आउन छोडेपछि निर्मलाले उर्लाबारी र इटहरीको प्रहरी कार्यालयमा ठगीको उजुरी दिइन् । प्रहरीले कुनै चासो नदिएपछि उनले न्याय पाइनन् । उल्टै दिनेश कोइरालाले गाडीमा गुण्डा ल्याएर धम्काएको समेत निर्मला बताउँछिन् ।

श्रीमान विदेशमा भएका बेला घरमा स–साना बालबच्चा स्याहारेर बसेको आफूलाई कोइरालाले डर त्रास देखाउनेदेखि घर छाड्न समेत धम्की दिएको उनी बताउँछिन् । कोइरालाले जीवनभर दुःख गरेर जोडेको सम्पति स्वाहा पारिदिएपछि अहिले आफू रित्तो हात भएको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘अलिअिल बचेको पैसा पनि कोइराला खोज्दै काठमाडौं र कता धाउँदा धाउँदा सकियो, ठूलो समस्या छ अहिले ।’

काठमाडौंको घडेरी एउटा वितीय संस्थामा धितो राखेर अहिले आफैले घर उकासेको उनी बताउँछिन् । ‘डुबेको घर जोगिन्छ कि भनेर अर्को घडेरी धितोमा राखें, अहिले तिर्न नसकेर दुबै डुब्ने स्थितिमा छ ।’

यो पनि पढ्नुहोस्
भिआइपी ठग, नेताको संरक्षणमा करोडौँ ठगी
दर्जनौंलाई घरवारविहिन बनाउने ‘सिरियल ठग’ दिनेश कोइराला पक्राउ
कोइरालाको कहालीलाग्दो ठगी, कसको कति ठगे ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७