तामझामसहित उद्घाटन गरिएको ‘विजुली’ बसले पाएन रुट


७ कार्तिक २०७५, बुधबार
sajha electric bus 1

ललितपुर, ७ कात्तिक । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुङ्गो लागेको छैन ।

sajha electric bus 1

बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस दर्ता भएपछि नै रुटको तय हुने बताएको छ ।

केही दिनभित्रै बस दर्ता भइसक्ने साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनले भने, ‘दर्ता भएपछि नै कुन ठाउँमा आवश्यक छ हेरेर त्यो रुटमा चल्ने छ ।’ काठमाडौँ उपत्यकाको नगर क्षेत्रमा बस चल्ने उनले बताए ।

एशियाली विकास बैंकले पाँच वटा बस लुम्बिनी क्षेत्र विकास कोषलाई अनुदान सहयोगमा दिएको हो । चिनियाँ निर्माण कम्पनी विवाइडीले बस निर्माण गरेको हो । यी बस केही समयका लागि मात्रै काठमाडौँ उपत्यकामा चल्ने छ ।

बस व्यवस्थापनको जिम्मेवारी साझा यातायातले लिएको छ । लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि बस लुम्बिनी लगिने उनले बताए । उनले भने, ‘काठमाडौँ उपत्यकामा हामीले नै यी बस सञ्चालन गर्नैछौँ ।’

कूल २९ जना यात्रु क्षमता रहेको बस अपाङ्गतामैत्री समेत रहेको पाण्डेयले बताए । यो बसमा ‘लिफ्ट सिस्टम’ हुँदा ‘ह्विलचेयर’ सजिलै चढाउन र ओर्लन सकिने छ । उनले भने, ‘बस सबै यात्रुका लागि सजिलो खालको छ ।’

विद्युतीय बसको प्रयोगले वातावरण सफा बनाउने हुँदा जनस्वास्थ्यमा समेत सकारात्मक असर गर्ने उनले बताए । विद्युतीय बससँगै अरु विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका लागि नेपाल विद्युत् प्राधिकरण समेत लागेको छ । २० ठाउँमा ‘चार्जिङ स्टेशन’ स्थापना गर्न प्रक्रिया थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७