विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै, ट्रफी तीन ठाउँ प्रदर्शन गरिने


८ कार्तिक २०७५, बिहीबार
World cup

काठमाडौं, ८ कात्तिक । इङ्ल्याण्ड र वेल्समा आगामी वर्ष संयुक्त रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ ।

World cup

आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बंगलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चार दिन राखिने छ ।

नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरीमा पुर्‍याइनेछ । पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो ।

त्यस्तै २८ गते आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरीमा लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको घिमिरेले जानकारी दिइन् । आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो ।

नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो । विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक आउने लागेको हो ।

फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बंगलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ ।

ट्रफी नेपालबाट भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ल्याण्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७