१६६ उपसचिवलाई स्थानीय तहमा खटाइयो, करार कर्मचारी घर फिर्ता


८ कार्तिक २०७५, बिहीबार
Karmachari

काठमाडौं, ८ कात्तिक । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफू मातहतका एक सय ६६ उपसचिवलाई स्थानीय तहमा खटाएको छ ।

Karmachari

यता शिक्षा मन्त्रालयले आफू मातहत निकायमा करारमा कार्यरत कर्मचारीको करार अवधि समाप्त गरेको छ । उनीहरूलाई असोज मसान्तदेखि लागू हुने गरी कामकाजमा नलगाउने निर्णय भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै करारका कर्मचारीलाई पत्राचार गरेर यसबारे जानकारी गराइसकेको छ ।

मन्त्रालयको हालैको निर्णयअनुसार १६६ जना उपसचिवलाई नगरपालिकामा खटाइएको हो । नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको प्रमुख रहने गरी उनीहरूलाई पठाइएको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।

विगतमा शिक्षा शाखा मात्र भनिएको उक्त शाखामा खेलकुदको समेत जिम्मेवारी थपेर नामकरण भएपछि उनीहरूलाई पठाइएको हो । विगतमा शिक्षा शाखा मात्र राखिँदा थुपै्र कर्मचारीले उक्त स्थानमा जान आनाकानी गरेका थिए । मन्त्रिपरिषद्ले केही समयअघि मात्र यस शाखामा खेलकुदको समेत जिम्मेवारी थप्ने निर्णय गरेको थियो ।

संघीयता कार्यान्वयनसँगै आफू मातहतका निकाय एकआपसमा गाभिएपछि साँघुरिएको संरचनाका कारण शिक्षा मन्त्रालयलाई बढी भएका कर्मचारी व्यवस्थापन गर्न निकै सकस भएको थियो । विशेषगरी उपसचिव व्यवस्थापन जटिल बनेको थियो ।

शिक्षाअन्तर्गत ४७८ उपसचिवको दरबन्दी छ । तीमध्ये दुई सय ४५ जनालाई स्थानीय तहमा खटाउने तयारी छ । संघीय संरचनाअनुसार जिल्ला शिक्षा कार्यालयको खारेजीपछि जिल्ला प्रशासन कार्यालय मातहत रहने गरी शिक्षा विकास तथा समन्वय इकाइका रूपमा सानो संरचना गठन भएको छ ।

त्यस्तै केन्द्रमा रहेको शैक्षिक जनशक्ति विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्र र शिक्षा विभाग एकआपसमा गाभिएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र गठन भएको छ । ‘अन्य उपसचिवलाई पनि स्थानीय तहमा खटाउने तयारी भइरहेको छ’, मन्त्रालय प्रशासन महाशाखाका उपसचिव दीपक कोइरालाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७