ढिलासुस्ती गरेपछि रघुगङ्गा जलविद्युत् आयोजनाको ठेक्का सम्झौता तोडियो


११ कार्तिक २०७५, आईतवार
raghu ganga

म्याग्दी, ११ कातिक । १८ महिनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगंगा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ ।

raghu ganga
रघुगङ्गा जलविद्युत् आयोजना

पत्र र मौखिक रूपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसँग भएको सम्झौता रद्द गरिएको रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए ।

पूरानो सम्झौता रद्द भएपछि बाँकी काम नयाँ प्रक्रियाबाट पूरा गरिने उनले बताए । ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको कार्यालय र कर्मचारी आवासको लागि रघुगंगा गाउँपालिका–३ पिप्लेमा १८ महीनामा १० वटा भवन बनाउन कम्पनीसँग नेपाल विद्युत् प्राधिकरणले ११ करोड १० लाख ६७ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

२०६७ कात्तिक ४ गते ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले हालसम्म चार वटा भवन बनाएर आयोजनाको प्रर्वद्धक प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोलाई बुझाए पनि एउटा भवनको जग समेत हालेको छैन ।

ठेकेदारको चरम ढिलासुस्ती र लापर्बाहीका कारण अन्य भवन अलपत्र अवस्थामा रहेका रघुगंगा गाउँपालिका–३ का वडाध्यक्ष जीवन मल्लले बताए ।

भवन निर्माण पूरा नहुँदै जीर्ण र थोत्रिन थालेपछि स्थानीयवासी, सरोकारवाला र जनप्रतिनिधिले दबाब दिएका थिए । ठेकेदारले ढलान गरेर भवन ठड्याए पनि पलास्टर, रङ्गरोगन, विद्युत, खानेपानी जडान गर्न बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७