अब विहेका लागि अनिवार्य साइत


११ कार्तिक २०७५, आईतवार
bihe

काठमाडौं, ११ कात्तिक । के तपाई विहेको सोंचमा हुनुहुन्छ ? यदि हो भने साइत जुराउनु भयो त ? यदि छैन भने यो कुरा तपाईले बुझ्नु भए तपाईको विहेले शुभ साइत पाउने छ ।

bihe

अबदेखि बेमौसमी महिनामा विवाह नहुने भएको छ । केही वर्षयता पण्डितले भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा पनि साइत निकाल्दै विवाह गराएपछि कर्मकाण्डमा अनेक विकृति फैलिएको ठहर गर्दै अबदेखि पण्डितहरूले यी बेमौसमी महिनामा विवाह गर्न नपाउने संहिता बनाएका छन् । देशभरका पण्डितको पाँचौं सम्मेलनले यस्तो निर्णय र निर्देशन गरेको हो ।

‘भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा विवाह गर्ने कार्यलाई नितान्त बन्द गर्ने विषयमा यो सम्मेलन मुलुकभरका सबै पण्डितलाई निर्देशन र आह्वान गर्दछ’, राजधानीमा दुई दिन चलेको सम्मेलनको अन्तिम दिन शनिबार १५ बुँदे घोषणापत्र जारी गर्दै घोषणापत्रका संयोजक एवं संस्कृतिविद् श्रीकृष्ण अधिकारीले भने ।

सम्मेलनमा पण्डितहरूको आचरण, अध्ययन, कर्मकाण्डी तरिका, लोभलालच, अल्पज्ञान र अनावश्यक निर्णय तथा निर्देशन गर्ने विषयमा गहन ढंगले आवाज उठेपछि यस्तो निर्णय गरिएको थियो ।

उनले थपे, ‘अबदेखि यी महिनामा विवाह गर्ने काम बन्द गरौं, कसैले सोधेमा वा साइत निकाल्न भनेमा स्पष्ट रूपमा हुँदैन, गर्दैनौं भनिदिनोस् ।’

राष्ट्रिय धर्मसभा नेपालले आयोजना गरेको सम्मेलनमा काठमाडौंका पण्डित देवीप्रसाद पाठकले कर्मकाण्डको एउटै किताब भए पनि काममा एकरूपता नहुँदा असल पण्डित पनि आलोचित हुनु परेको बताएका छन् ।

उनले भने, ‘कुन गुरु साँचो हुन् भनेर छुट्याउन कठिन छ । अब सबैलाई परिचयपत्र र एउटै पोसाकको व्यवस्था गर्नुपर्छ, नभए जहिले पनि विवाह आशौचमा परेकाले पनि कर्मकाण्ड गर्ने प्रवृत्ति बढ्यो ।’

धर्मसभाका अध्यक्ष डा. माधव भट्टराईले शास्त्रविपरीतका काम गर्नु पण्डितको धर्म नभएको बताएका छन् । उनले भने, ‘कर्मकाण्ड, ज्योतिष आदि क्षेत्रमा आइरहेका विकृति निराकरण गर्न एवं वैदिक सनातन धर्मसंस्कृतिका मूल्य मान्यतामाथि दिन प्रतिदिन बढ्दै गइरहेको छ । अतिक्रमणको प्रतिकार गर्दै त्यसले निम्त्याएका विकृति निवारण गर्न सबै पण्डित एकजुट भएका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७