सबैको आँखा मेरो गृह जिल्लामै छ : प्रचण्ड


११ कार्तिक २०७५, आईतवार
Rss Images 1540718769221 NA Chitwan 01282017 Prachanda 2

चितवन, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताएका छन् ।

Rss Images 1540718769221 NA Chitwan 01282017 Prachanda 2
भरतपुरमा आइतबार आयोजित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालु वर्षमा सञ्चालन हुने आयोजना घोषणासभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायत । तस्वीर : रासस

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालु वर्षमा सञ्चालन हुने आयोजना घोषणा सभामा बोल्दै उनले भरतपुर नमूना महानगर र चितवन नमूना जिल्ला बनाउने बताए ।

जिल्लामा रहेका ऐतिहासिक महत्व बोकेका स्थलहरु, विश्व सम्पदा सूचीमा रहेको निकुञ्ज, दुई ठूला राप्ती र नारायणी नदी, धार्मिक महत्व बोकेको देवघाटजस्ता स्थलले गर्दा चितवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाएको अध्यक्ष प्रचण्डले बताए ।

विकास निर्माणका लागि यहाँका राजनीतिक दल र जनप्रतिनिधिको एकताले गर्दा जिल्लालाई नमूना बनाउन सकिने उनले बताए । भरतपुर महानगरपालिका क्षेत्रको विकासका लागि यसअघि शहरी विकास, सिँचाइ, खानेपानी मन्त्रीले विशेष चासो देखाएको भन्दै अध्यक्ष प्रचण्डले सबैको ध्यान खिच्न चितवन सफल भएको बताए ।

आफूले हिजो प्रधानमन्त्रीलाई भेट गरेको प्रसंग उल्लेख गर्दै उनले भरतपुर महानगरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र सिटी हल निर्माणका लागि आफ्नो सहयोग रहने सन्देश पठाएको पनि बताए । चितवन हुँदै रेलमार्ग, केरुङ ठोरी मार्गजस्ता पूर्वाधार यहाँ निर्माण हुन लागेको अध्यक्ष प्रचण्डले बताए ।

सो अवसरमा पूर्व अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले भरतपुर महानगर देशकै नमूना महानगर बन्न सक्ने बताए । उनले भने, ‘यो महानगरले काठमाडौँ महानगरलाई उछिन्न सक्छ ।’ आफ्नो छोटो मन्तव्यमा पौडेलले देशकै समृद्ध, विकसित र नमूना महानगर भरतपुरलाई बनाउन शुभकामना दिए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जिल्लाका आफ्नो मन्त्रालयअन्तर्गतका चालु आवका योजनाहरु सार्वजनिक गरेका थिए ।

उनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडक बनाइने, भरतपुर महानगरमा चक्रपथका लागि विस्तृत अध्ययन शुरु गरिने, हुलाकी राजमार्गको भरतपुरदेखि ठोरीसम्म पहिलो चरणमा काम शुरु गर्नेलगायत महत्वपूर्ण आयोजना घोषणा गरेका थिए ।

यसैगरी भरतपुर महानगर एवं जिल्लाका भित्री सडकहरुमा मन्त्रालयका योजनाहरुका बारेमा उनले जानकारी गराएका थिए ।

मन्त्री महासेठले जनतासँग गरेका प्रतिबद्धताअनुसार सरकार अघि बढेको बताए । सरकारले सडकसँगै रेल र जलमार्गलाई प्राथमिकता दिएको पनि उनले बताए । सो अवसरमा महानगरका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, डिभिजन सडक कार्यालय चितवनका प्रमुख धर्मेन्द्र झालगायतले बोलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७