निर्मला हत्या काण्डमा बर्खास्तीमा परेको विष्ट तत्काल अदालत नजाने


११ कार्तिक २०७५, आईतवार
Sp dilliraj Bista

काठमाडौं, ११ कार्तिक । कन्चनपुरका निर्मला विष्ट बलात्कारपछि हत्या प्रकरणमा बर्खास्तीमा परेको एसपी दिल्लीराज विष्ट तत्काल अदालत नजाने भएका छन् ।

बिहिबार साँझ बर्खास्तीमा परेका उनी तत्काल अदालत नगई क्याबिनेटमा नै पुनर्वहाली लागि पुनरावेदन गर्ने भएका हुन् ।
उनले पुनर्वहालीका लागि रीट दायर गर्ने भनिएपनि उनी तत्काल अदालत नजाने भएका हुन् ।

आइतबार अपरान्ह कुरा गर्दै पूर्व एसपी दिल्लीराज विष्टले आफू तत्काल अदालत नजाने बताएका हुन् ।

अदालत जानुभन्दा पहिले आफूसँग सरकारसँग पुनरावेदन गर्ने अधिकार सुनिश्चित रहेको भन्दै पहिले क्याबिनेटमा नै पुनर्वहालीका लागि पुनरावेदन गर्ने उनले बताए ।

निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बिहीबार बर्खास्त गरेको थियाे ।

साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । उक्त घटनाको अनुसन्धानमा कञ्चनपुर प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख रहेका इन्स्पेक्टर भट्टले लापरवाही गरेको भेटिएको थियो ।

प्रहरी नियमावलीमा के छ पुनरावेदनसम्बन्धि व्यवस्था ?

प्रहरी नियमावलीको नियम ११९ मा सजाय दिने र पुनरावेदन सुन्ने अधिकारीबारे स्पष्ट पारिएको छ । यस नियमको उपनियम ८ मा प्रहरी उपरीक्षक वा एसपीको बर्खास्तीबारे लेखिएको छ ।

नियमको उपनियम ८ (ग) मा एसपीलाई सरकारी सेवाबाट बर्खास्त गर्ने अधिकार गृह मन्त्रालयको सचिवलाई दिइएको छ । तर, गृहसचिवको यस निर्णयलाई पनि मन्त्रीपरिषद् बैठकले उल्टाउन सक्ने अधिकार प्रदान गरिएको छ ।

तर कुनै प्रहरी अधिकारीलाई सेवाबाट बर्खास्त गर्नुभन्दा पहिले स्पष्टीकरणको मौका दिनुबारे नियमावलीमा उल्लेख छ । प्रहरी नियमावलीको नियम ११५ मा सेवाबाट किन नहटाउने भन्ने आशयको स्पष्टीकरण सोध्नुपर्ने हुन्छ ।

पहिलो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएमा दोस्रोपटक पुनः स्पष्टीकरण सोध्नुपर्ने हुन्छ । त्यसरी दोस्रोपटक स्पष्टीकरण सोध्दापनि चित्तबुझ्दो जवाफ नआएमा भने नियम ११६ प्रयोग गरी सजायको आदेश दिनसक्ने प्रावधान राखिएको छ ।

अहिले गृहसचिवले आफ्नो यही अधिकार प्रयोग गरी इन्स्पेक्टर जगदीशप्रसाद भट्ट र एसपी दिल्लीराज बिष्टलाई बर्खास्ती गरेको छ । तर गृहसचिवले गरेको बर्खास्तीमा आफूलाई चित्त नबुझेमा बर्खास्तीमा परेकाहरुले मनत्रीपरिषद्सामु पुनरावेदन गर्न पाउनेछन् । यही अधिकार प्रयोग गर्दै विष्टले पहिले मन्त्रीपरिषद्मा पुनरावेदन गर्ने तयारी गरेका छन् ।

‘कहिले गर्नु हुन्छ त मन्त्रीपरिषद्मा पुनरावेदन’ भन्ने प्रश्नमा तत्कालीन एसपी विष्टले आफूले हतार नगर्ने पनि बताए ।

‘पुनरावेदन गर्न पाउने मेरो कानुनी अधिकार छ र म त्यही कानुनी बाटो भएर न्याय माग्नेछु । त्यसका लागि म कानुनी सल्लाहकारसँग छलफलमा छु,’ विष्टले बताए ।

‘सरकार (सरकार)ले न्याय दिन्छ भन्ने कुरामा म विश्वस्त छु । किनभने म माथि लागेको आरोप पनि सरकारले पुष्टी गर्न सक्नुपर्छ ।

आरोप लगाउँदैमा सबै आरोप पुष्टी हुन सक्दैन । काम गर्दा कहीँ प्राविधिक त्रुटी भयो होला, तर त्यसलाई नियतवश भनेर शंका गर्दै बर्खास्तीसम्म गर्नु न्यायिक काम हुन सक्दैन । त्यसकारण मैले पुनरावेदन गरेपछि सरकारले न्याय दिन्छ भन्नेमा म विश्वस्त छु,’ विष्टले भने ।

तर सरकारले न्याय दिएन भने के गर्नुहुन्छ नि भन्ने रातोपाटीको प्रश्नमा पहिले सरकारको निर्णय कुर्न आग्रह गरे । ‘मलाई सरकारले न्याय दिन्छ भन्ने विश्वास छ । सरकारबाट पनि न्याय नपाएमा अदालत जाने कुरा त छँदैछ । तर पहिले म जहाँ जानुपर्ने हो त्यहीँ (मन्त्रीपरिषद्मा पुनरावेदन) जान्छु र त्यहाँबाट न्याय नपाए मात्रै अन्यत्र (अदालत) जाने हो,’ उनले भने ।

बिहिबार गृह मन्त्रालयले बर्खास्तीको निर्णय गरेसँगै विष्टसँग सरकारसमक्ष पुनरावेदन गर्ने समय ३५ दिन हुनेछ । आफूले चिठी बुझेको मितिदेखि ३५ दिन पुनरावेदनको समय भएकाले कानुनी सल्लाह लिएर मात्रै उनी पुनरावेदन गर्ने र अदालत जाने तयारीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७