तिहार, छठ नजिकिँदै गर्दा दलित बस्तीमा खुशी छाउँदै


१२ कार्तिक २०७५, सोमबार
dalit basti दलित बस्तीमा खुशी छाउँदै
User comments

बर्दिवास, १२ कात्तिक  । तिहार र छठपर्व नजिकिँदै गर्दा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमा खुशी छाएको छ ।

मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा र अन्य खेलौनाको माग हुने भएकाले बाँसको चोयाबाट यी सामान बनाएर बेच्ने पुख्र्यौली ब्यवसाय अँगाल्दै आएका डोम बस्तीमा खुशी छाएको हो । चरम गरीबीले गर्दा वर्षभरि अभावनै अभावमा बित्ने डोम समुदायमा ससाना नानीको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ ।

‘ससाना नानी र घरपरिवारका रहर त हामी गरीबका पनि हुँदा रे छन्’ एकाबिहानै चोयाको छिटी बुन्न तल्लिन रहेका जिल्लाको भङ्गाहा नगरपालिका–५ को सीतापुर बजारसँगैको डोम बस्तीका अगुवा प्रगाश मरिकले भने, ‘ती सबै रहर र चाहना हामीले तिहार र छठपर्वमा पूरा गर्ने आश साँचेका हुन्छौँ ।’

तिहार र छठ नजिकिँदै गर्दा ससाना नानीको फर्माइस (माग) पनि दिनहुँजसो बढी रहेको हुन्छ । ‘बाबु, दिवाली आ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी ला दिहा’ (बुबा, म तिहार र छठपर्वमा चङ्गा उडाउँछु, मलाइ रङ्गीवीरङ्गी चङ्गा ल्याई दिनुहोला) तिहार र छठपर्वका लागि माग भएका चोयाका समान बुनी रहेका जिल्लाकै रामगोपालपुरका अछवा मरिकको छेउमै खेल्दै आइपुगेका उनका सात वर्षीय छोरा अजय मरिकले माग गरे ।

शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक भन्ने कुराबारे पूरै बेखबर रहेका डोम ससाना पराले झोपडीमा पुस्तौँदेखि गुजारा चलाइ रहेका छन् । चरम गरीबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्नीसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका समान बेचेर प्राप्त हुने आम्दानी र सुँगुर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ । तिहार र छठचैँ आपूmहरूले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्व प्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको डोम बताउँछन् ।

जिल्लाभरिमा एक हजार ५० (२०६८ सालको जनगणनाअनुसार, स्रोत–जिल्ला तथ्याङ्क कार्यालय महोत्तरी) मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येकजसो बस्तीको पुछारमा एक÷दुई घरमा बसोबास गरेका भेटिन्छन् ।

तिहार र छठ नजिकिएसँगै डोम बाँसको खोजमा निस्कने र घर ल्याइएका बाँस फोडेर (फुटाएर) चोया काढ्दै त्यसबाट आफ्नो सीप पोखी रहेका छन् । तिहार र छठले आफ्नो झुप्रा बस्तीमा पनि खुशी छिराउने आम डोम जातिको सपना छ । यही बेला आफूहरूका लागि नयाँ लुगा फेर्न, मीठोमसिनो खान र नानीहरूको रहर पूरा गर्र्न उपयुक्त अवसर भएको डोम समुदायका अगुवा बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७