नेपाललाई पहिलो सहभागितामै ऐतिहासिक सफलता, भारतलाई पछि पार्दे दोस्रो चरणमा

काठमाडौँ, १२ कात्तिक । नेपाली टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ ।
थाइल्याण्डमा आज भएको पहिलो समुहको अन्तिम खेलमा भारतले आयोजक थाइल्याण्डलाई १–० गोलअन्तरले पराजित गरे तापनि नेपाल हेड टु हेडका आधारमा दोस्रो चरणमा छनोट प्रवेश गरेको हो ।
नेपालले आइतबार पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गरेको थियो । त्यसअघि भएको समुहको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भारतलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।
नेपालले पहिलो पटक एएफसी यु–१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाएको हो । पहिलो सहभागितामा नै नेपाली टोलीले ऐतिहासिक नतिजा प्राप्त गरेको हो । अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिलमा हुने छनोट चरण पार गर्नुपर्नेछ ।
च्याम्पियनसिप छनोटमा विभिन्न छ समुहका विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् । थाइल्याण्ड एएफसी यु–१९ महिला च्याम्पियनसिप आयोजकको नाताले यसअघि नै अन्तिम चरणमा छनोट भइसकेको छ ।
थाइल्याण्ड समुह विजेता, नेपाल समुह उपविजेता र भारत तेस्रो स्थानमा रहेको छ । थाइल्याण्ड समुह विजेता भएसँगै नेपाल अन्तिम चरणमा छनोट हुने पक्का भएको हो ।