निर्वाचन विरोधी गतिविधिमा संलग्न अाराेपमा विप्लबकाे ११ कार्यकर्ता पक्राउ


२ मंसिर २०७४, शनिबार

पाँचथर : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले केही दिनयता ११ जनालाई नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर राई तथा एलिया नेम्वाङ रहेका छन् ।

biplap netra bikram chand
त्यस्तै, सोही गाउँपालिका–५ का जितबहादुर चेम्जोङ, हिलिहाङ गाउँपालिका–२ का डिल्लीराम कटुवाल, इलामको फाकफोकथुम गाउँपालिका–१ का रुपनारायण अधिकारीसहित अन्य दुईजनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये टीकादेवी र रुपनारायण शिक्षक हुन् । उनीहरुलाई विद्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।
उनीहरुलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए । उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो । कुनै पार्टी वा संगठनमा आबद्ध रहेको आधारमा पक्राउ नगरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।
विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, जिल्ला संगठन समितिले भने प्रहरीले बिनाकारण आफ्ना कार्यकर्तालाई धमाधम पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।
संगठनका जिल्ला इन्चार्ज ‘सौगात’ले आफ्ना कार्यकर्ता र शुभचिन्तकलाई प्रहरीले गलत ढंगबाट धरपकड गरेको र सार्वजनिकसमेत नगरेको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७