श्रीलंकामा भड्कियो हिंसा, मन्त्रीका अङ्गरक्षकको गोलीले एकको मृत्यु


१२ कार्तिक २०७५, सोमबार
mediaitem

काठमाडौं, १२ कातिक । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आफ्ना कट्टर विरोधीलाई प्रधानमन्त्री चयन गरेसँग नयाँ मोड लिएको श्रीलंकामा हिंसा भड्किंदा एक जनाको ज्यान भएको छ ।

mediaitem
पेट्रोलियम मन्त्री तथा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान अर्जुन रनतुंगालाई सैनिकहरूले सेनाको लुगा र टाउकोमा हेलमेट लगाएर भीडबाट बाहिर निकाल्दै। तस्बिर : बीबीसी डटकमबाट

श्रीलंकामा राजनीतिक संकट गहिरिंदै गर्दा हिंसात्मक घटना बाक्लिन थालेका छन् । आइतबार साँझ पेट्रोलियम मन्त्री तथा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान अर्जुन रनतुंगाका अङ्गरक्षकले भीडमाथि गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

रनतुंगा आफ्नो कार्यालय रहेको सिलोन पेट्रोलियममा प्रवेश गर्न खोज्दा नव नियुक्त प्रधानमन्त्री तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका समर्थकले रोक्न खोजेका थिए । त्यही घम्साघम्सीकाबीच रनतुंगाका अङ्गरक्षकले गोली चलाएको सञ्चार माध्यमले जनाएका छन् ।

सो घटनापछि रनतुंगालाई सैनिकहरूले सेनाको लुगा र टाउकोमा हेलमेट लगाएर भीडबाट बाहिर निकालेका थिए । उनका अङ्गरक्षकलाई भने हिरासतमा लिइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत हप्ता प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्त गरेर पूर्व राष्ट्रपति राजापक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

श्रीलंकाको संविधानमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउने कुनै अधिकार नभएको भन्दै विक्रमासिंघेले प्रधानमन्त्रीबाट हट्न अस्वीकार गरेका छन् । उनी अहिले पनि प्रधानमन्त्री निवास ‘टेम्पल ट्रि’ मा बसिरहेका छन् ।

राजापाक्ष र विक्रमासिंघे दुबैले आफूलाई प्रधानमन्त्री दाबी गरेपछि श्रीलंकामा राजनीतिक संकट गहिरिएको हो । दुवै नेताका समर्थकहरू राजधानी कोलम्बोका विभिन्न स्थानमा भेला भएका छन्। त्यहाँ राजनीतिक तनाव चर्किएको छ ।

राष्ट्रपति सिरिसेनाले हिजो टेलिभिजन सम्बोधन गर्दै विक्रमासिंघेका एक जना मन्त्रीले आफ्नो हत्याको षड्यन्त्र बुनेको र त्यो षड्यन्त्रको अनुसन्धान गर्न प्रहरीले नै रोकेको आरोप लगाएका छन् ।

केही समय पहिले उनले मन्त्रिपरिषद् बैठकमा आफूलाई भारतीय गुप्तचर संस्था ‘रअ’ ले मार्ने योजना बनाइरहेको बताएका थिए । भारतीय दैनिक हिन्दुले सो समाचार छापेपछि राष्ट्रपति कार्यालयले त्यसको खण्डन गरेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७