भुटानको विज्ञ टोली किसानको अलैंची बारीमा


१३ कार्तिक २०७५, मंगलवार

लमजुङ, १३ कात्तिक । भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैंची पकेट क्षेत्रको अवलोकन-अनुगनमका लागि लमजुङ आइपुगेको छ ।

aalaichi

भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न क्षेत्रमा लगाइएको अलैँची बगानमा तीन दिनसम्म रहेन छन् । अलैँची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङले उक्त टोलीलाई लमजुङको अलैँचीको बारेमा जानकारी प्रदान गर्नेछ ।

आधुनिक अलैँची भट्टी निर्माण, बगानमा अलैँची लगाउने तरिका, अलैँचीका प्रकारका बारेमा तीन दिनसम्म बगैँचामा लगी जानकारी गराउने अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

उनका अनुसार भुटानका विज्ञ टोलीलाई दुई दिन बगानमै लगी जानकारी गराउने र एक दिन अलैँची प्रशोधनका बारेमा अभिमुखीकरण दिइने छ । 

नेपालमा गरिएको अलैँची खेतीको बारेमा जानकारी लिन १४ जनाको टोली नौ दिनका लागि नेपाल आएको भुटानका कृषि अनुसन्धान केन्द्रका जिग्म सिंङ्गेले बताए । उनका अनुसार भुटानबाट आएका १४ जना सबै कृषि क्षेत्रका विद्यार्थी हुन् ।

‘मर्स्याङ्दी गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको अलैँचीको बारेमा धेरै कुरा सुनेको र नमूना अलैँची बगानको बारेमा जानकारी लिन भुटानबाट नेपाल आएका हौं’, उनले भने, ‘भुटानमा लगाइएको अलैँची र नेपालमा लगाइएको अलैँचीमा थोरै फरक रहेछ ।’

भुटानमा हामीले अलैँची सिधै आगोमा सुकाउँछन्, नेपालको तरिका छट्टै रहेछ । नेपालको प्रक्रियाअनुसार अब भुटानमा पनि आधुनिक अलैँची भट्टीको प्रयोग गरी अलैँची सुकाउँछन् ।’

त्यस्तै ताप्लेजुङ उद्योग वाणिज्य संघको नेतृत्वमा २५ जनाको टोली लमजुङको अलैँची बगानको अनुगमनमा आएका छन् ।

उद्योग वाणिज्य संघको नेतृत्वमा लमजुङ आउनुभएका व्यवसायी तथा अलैँची कृषकले सोमबार मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलामा लगाइएको अलैँची बगानको अवलोकन गरेका छन् ।

साविकको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा ताप्लेजुङमा मात्रै वार्षिक दुई हजार ४८० मेट्रिक टन अलैँची उत्पादन हुने गर्छ । चार हजार ५०० हेक्टर क्षेत्रफल जग्गामा अलैँची लगाइएको ताप्लेजुङ उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७