गोरखा सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गर्न माग


१५ कार्तिक २०७५, बिहीबार
Rss Images 1541058006729 PRO KTM 20181101 IMG 9572

काठमाडौं, १५ कात्तिक । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा सैनिकमाथि विभेद र सुविधा असमान भएको विषयमा नेपाल सरकार, बेलायत सरकार र गोरखा सैनिकबीचको सहमतिअनुसार वार्ता टोली बनाई कूटनीतिक पहल गर्न माग गरेको छ ।

Rss Images 1541058006729 PRO KTM 20181101 IMG 9572
राजधानीमा बिहीबार पत्रकार सम्मेलनमार्फत नेपाल र बेलायत सरकारसँग विभिन्न मागसहित ध्यानाकर्षण गराउँदै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राई । तस्वीर : रासस

गेसोले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी बेलायत सरकारले गोरखा सैनिकमाथि विभेद र असमानताको व्यवहार देखाएको जानकारी गराउँदै एक महिनाभित्र वार्ता समिति निर्माण गरेर समस्या समाधान गर्ने भनिएको ६ महिना बितिसकेको हुनाले नेपाल सरकारले वार्ता समिति निर्माण गरी कूटनीतिक पहल शुरु गर्न माग गरेको हो ।

सेवा निवृत्त भूपू गोरखा सैनिकको निवृत्तिभरण (पेन्सन) लगायतका मागका सम्बन्धमा सन् २०१७ मार्च २० मा बेलायती सेनाबाट सेवा निवृत्त गोरखा सैनिकको समस्या अध्ययन गर्न प्राविधिक समिति गठन गर्न बेलायत सरकार सहमत भएको थियो ।

बेलायत सरकारका तर्फबाट बेलायती रक्षाराज्यमन्त्री मार्क लाङकास्टर, नेपाल सरकारका प्रतिनिधि (नेपाली दूतावासका उपनियोग प्रमुख) शरदराज आरण र गोरखा सैनिक प्रतिनिधिबीच समस्या समाधान गर्ने सहमति भएको थियो ।

अध्ययन समितिले तयार गरेको प्रतिवेदन सन् २०१८ मार्च २२ गते नेपाल र बेलायत सरकारलाई बुझाएको थियो । दुवै सरकारलाई प्रतिवेदन बुझाएको ६ महिना बितिसक्दा पनि दुवै देशले वार्ता समिति गठन नगरेको हुँदा नेपाल सरकारले तत्काल वार्ता समिति गठन गरी कूटनीतिक पहल गर्न माग गरेको हो ।

गेसोका सभापति कृष्णकुमार राईले एक महिनाभित्र नै वार्ता समिति बनाएर माग सम्बोधन गर्ने प्रतिबद्धताअनुसार निकै बिलम्व भएको हुनाले नेपाल सरकारले एकतर्फी वार्ता समिति बनाएर भए पनि नैतिक दबाब दिन कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् ।

गेसोले आफ्ना माग पूरा गर्नका लागि एक महिने नयाँ अभियान कार्यक्रम सञ्चालन गरेको छ । प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतलाई ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रमतय गरेको छ भने सांसद योगेश भट्टराईको संयोजकत्वमा १८ सदस्यीय ‘गोरखा आन्दोलन संसदीय समिति निर्माण’ गठन गरेको छ ।

गेसोकै आन्दोलनबाट युद्धबन्दीलाई क्षतिपूर्ति, कार्यपूर्ति, कार्यरतलाई सम्मान पेन्सन, आवासीय भिसालगायत उपलब्धी भएको छ । गेसोको अहिलेको आन्दोलन सन् १९९७ भन्दा अघिका गोरखा सैनिकका लागि हो ।

सन् १९९७ पछिका सबै गोरखा सैनिकलाई बेलायती सैनिक सरह सुविधा बेलायत सरकारले दिएको छ । बेलायतमा गोरखा सैनिक करीब २० हजार छन् । त्यसमध्ये ६ हजार सैनिकको समस्या समाधानका लागि भएको सहमति कार्यान्वयनका लागि गेसोले माग गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७