माला गाँस्न र बजार लैजान चटारो


१९ कार्तिक २०७५, सोमबार
Dhading Sayapatri ful

भक्तपुर, १९ कात्तिक । वर्षैदेखि व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलका बासिन्दालाई यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान चटारो भएको छ ।

Dhading Sayapatri ful
धादिङको निलकण्ठ नगरपालिका वडा नं १ पात्लेमा ब्यावसायिक सयपत्री फूल । तिहारमा बिक्री गर्न बारीबाट फूल टिपेर काठमाडौँ लाने तयारी गर्दै फूल खेती गर्ने कृषक शेरबहादुर गुरुङ र उनको परिवार । तस्वीर : रासस

उक्त टोलका बिनिता बालाको परिवार यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान व्यस्त छन् । बिनितामात्र होईन बाला टोलका बनमाला र अन्य जाति पनि बारीमा लगाएको मखमली फूल टिपेर माला गाँस्नमै व्यस्त छन् तिहार लागिसक्यो, तिहारमा माला बिक्री गर्न नसके फूल खेर जाने भएकाले यहाँका करीब ६० घरपरिवारलाई मखमली फूल टिप्न, माला गाँस्न र बजार लैजान चटारो भएको हो ।

अहिले यहाँका बासिन्दालाई धान भित्र्याउने भन्दापनि माला बिक्री गर्ने चटारो भएको स्थानीय सन्तमाया बाला बताउनुहुन्छ । दश वर्ष अघिसम्म यहाँका बनमालाहरुले मात्रै फूल खेती गर्दै आए पनि पछिल्लो समयमा फूलखेती आम्दानीको मुख्य स्रोत भएको र एकै पटक दुई बाली लाउन सकिने भएपछि यहाँका किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् ।

दिनभरमा एक जनाले १०० देखि १५० वटासम्म माला गाँस्ने गरेका छन् । अहिले बिहानैदेखि रातिसम्म नै कोही माला गाँस्ने कोहीले बजार पुर्‍याउने कामको चाँजो यहाँका बासिन्दाले मिलाएका छन् । व्यापारी गाउँमै माला र फूल लिन आउने भएपछि धेरैले व्यापारीलाई नै माला दिएका छन् भने व्यापारीको माग बमोजिम माला गाँस्न समेत सकिएको छैन ।

सन्तमाया भन्छिन, ‘मखमली फूलखेतीले आत्मनिर्भर बनाएको छ, दशैं–तिहारका लागि अन्यत्र खर्च खोज्न जानु पर्दैन, चाडपर्व मनाएर पनि रकम बचत गर्न सकिन्छ, धान नफल्ने खेत तथा बारीमा लहलह फूल झुल्न थालेपछि यहि खेती शुरु गरेका हौ ।’ मखमली फूल खेती गरेकै ठाउँमा अन्यजातका फूल तथा भटमास, मकै लगाएर दोहोरो बाली समेत उनीहरुले भित्र्याउने गरेका छन् ।

एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट रु एक लाखसम्म आम्दानी हुने भएपछि किसानहरु फूलखेतीतर्फ आकर्षित भएका हुन् । किसानले चार आनादेखि पाँच रोपनी जग्गासम्ममा फूल खेती गर्दै आएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डु र चाँगुनारायण नगरपालिका –९ ताथली फूलखेतीका लागि प्रसिद्ध छ ।

भक्तपुरका विभिन्न स्थानमा करीब पाँच सय हेक्टर जमीनमा फूलखेती हुने गरेको छ । वर्षेनी जिल्लामा करीब रु तीन करोडभन्दा बढीको फूल बिक्री हुने गरेको छ ।

भक्तपुरमा उत्पादान भएका मखमली फूल र माला राजधानीसँगै विभिन्न जिल्ला र विदेशमा समेत निर्यात हुने र गाउँमै व्यापारी आएर लैजाने भएपछि किसानलाई निकै सहज भएको गरिबसँग विश्वेश्वर कृषि समूहकी संयोजक मन्सरा मिश्र बताउँछिन् ।

विसं २०६० मा स्थानीय विकास कोषले फूलखेतीमा किसानलाई आकर्षित गर्न तालीम र बिउविजन दिएपछि किसानहरु फूलखेतीमा आकर्षित भएका हुन् । वैशाख–जेठ महीनामा रोपेको मखमली फूल साउनदेखि टिपेर राख्ने र असोजदेखि बिक्री गर्ने गरिन्छ । साउनदेखि फूल टिप्न थाले पनि कात्तिकसम्म नै फूल टिप्न मिल्छ ।

घरबाट व्यापारीहरुले प्रतिमाला रु २० देखि २५ सम्म दिने गरेका र आफँैले बजारमा लगेर बेच्दा रु ५० सम्म आउने गरेको उनीहरु बताउँछन् ।

मखमली फूलको माला खोज्न साउनदेखि नै व्यापारी आउने गरेको ताथलीकी सरिता बालाले जानकारी दिइन् । खेती गर्न सजिलो र आम्दानी राम्रो हुने भएकाले अहिले बनमाला बाहेक अन्य जातीले पनि फूल खेती गर्ने गरेको उनको भनाइ थियो ।

व्यावसायिक फूलखेती गरेका किसानहरुलाई प्राविधिक ज्ञान, सिप र तालीमको व्यवस्था गर्ने गरिएको संयोजक मिश्रले बताइन् । भाइटीकामा कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिए दाजुभाइले दीर्घजीवन पाउने विश्वासका कारण तिहारमा यो फूलको महत्व बढेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७