‘मुन्द्रेको कमेडी’ सँगै बढ्यो नेपाल टेलिभिजनको लोकप्रियता

काठमाडौं, २० कात्तिक । ‘बजारमा सुगरको भाउ बढेको छ, घर–घरमा मान्छेलाई सुगर बढेको छ । निरोगी रहन एक मात्र उपाय खुशी हुनु हो । खुशी सन्तुष्टिबाट र सन्तुष्टि हाँसोबाट मिल्छ । जो हाँस्छ त्यही मात्र बाँच्छ ।’

हाँस्य कलाकार जितु नेपालले यही उद्गारका साथ ‘मुन्द्रे को कमेडी क्लब रियालिटी शो’ आरम्भ गरेसँगै नेपाल टेलिभिजनको लोकप्रियता थप बढेको छ ।

‘स्याण्ट अप’ कमेडीका रुपमा लिइने यस्ता कार्यक्रमले पछिल्लो समयमा दर्शक तान्न थालेपछि समाचार तथा लोकप्रिय हाँस्य एवं पारिवारिक श्रृङ्खलाका कार्यक्रममा अगुवाइ गरिरहेको नेपाल टेलिभिजनले सोमबारदेखि ‘मुन्द्रे को कमेडी क्लब रियालिटी शो’ शुरु गरेको हो ।

भारतमा ‘द कपिल शर्माको शो’ जस्तै नेपाली स्वादको ‘मुन्द्रे को कमेडी क्लब रियालिटी शो’ ले नेपालमा लोकप्रियता पाउने देखिएका छ ।

हरेक सोमबार साँझ ८ः५० मा प्रशारण हुने कार्यक्रमको पहिलो श्रृङ्खलामा छक्कापञ्जा ३ चलचित्रबाट लोकप्रियता कमाइरहेका कलाकार दीपकराज गिरी, दीपाश्री निरौलालगायतलाई आमन्त्रण गरी जितुले दर्शकलाई हँसाएका थिए ।

हाँस्य कलाकारिताका क्षेत्रमा जितुलाई मुन्द्रे उपनामले दर्शकले चिन्छन् । सो कार्यक्रमलाई ग्रामीण भेगाका दर्शकले विशेष मन पराएको र सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया आइरहेको नेपाल टेलिभिजनका कार्यक्रमतर्फका नायब महाप्रबन्धक दीपा गौतमले जानकारी दिइन् ।

‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘परिचय’ जस्ता पुराना लोकप्रिय हाँस्य तथा पारिवारिक श्रृङ्खला कार्यक्रमको निरन्तरता दिँदैलगायत यो नयाँ कार्यक्रम सञ्चालन गर्दै आफ्नो लोकप्रियतालाई कायम राख्ने आफूहरुको योजना रहेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले बताए ।

सो टेलिभिजनले नृत्य प्रतिभालाई प्रष्फुटन गर्न सांगीतिक रियालिटी शो छमछमी चार कार्यक्रमको अडिसन प्रारम्भ पनि यही कात्तिक १७ गतेबाट गरेको छ । सो कार्यक्रमको अडिसन संविधान दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेका थिए ।

टेलिभिजन रूपान्तरणको वर्ष
हाँस्य कार्यक्रम थपका साथै संस्थाको नीतिगत, प्रशासनिक, प्राविधिक, आर्थिक, व्यापार, समाचार तथा कार्यक्रम प्रशारणमा सुधार गर्न आर्थिक वर्ष २०७५-७६ लाई ‘नेपाल टेलिभिजन रूपान्तरणको वर्ष’ को रूपमा अभियान समेत सञ्चालन गरिएको छ ।

नेपाल टेलिभिजनको इतिहाससँमै पहिलो पटक आर्थिक वर्ष शुरु हुनुअघि नै बजेट पारित गरी कार्यान्वयनमा ल्याइएको र आउँदो वार्षिकोत्सवको अवसरमा २०७५ माघ १७ गते नेपाल टेलिभिजनका च्यानललाई हाई डिफिनेसन (एचडी) ढाँचामा प्रशारण गराउने कार्य अघि बढाइएको अध्यक्ष विष्टले जानकारी दिए ।

समृद्धि केन्द्रित समाचार
हाल मुलुकको ५२ प्रतिशत भूभाग र ७२ प्रतिशत जनसंख्याको पहुँचमा रहेको नेपाल टेलिभिजनमा पछिल्लो समयमा समाचार निर्देशिका २०७५ र वैदेशिक भ्रमण व्यवस्थापन कार्यविधि, २०७५ स्वीकृत भई कार्यान्वयन गरिएको छ ।

सातै प्रदेशको राजधानी रहेका स्थान प्रादेशिक ब्यूरो स्थापना तथा सञ्चालन गर्न सञ्चालक समितिबाट नीतिगत स्वीकृति भई प्रक्रिया अघि बढाइएको छ । समाचारलाई वरियता र घटनाका आधारमा मात्र नभई विषयवस्तु एवं समृद्धितर्फ केन्द्रित जनताको आकांक्षतर्फ केन्द्रित गरिएको विष्टले बताए ।

अध्यक्ष विष्टले भने, ‘राज्यको च्यानल भएकाले आधारभूत तहका जनताका विषयवस्तुलाई प्राथमिकता दिँदै उनीहरुको पहुँच बढाउन हाम्रो प्राथमिकता छ ।

सरकारी स्वामित्वको संस्था भएकाले आन्तरिक पक्षमा सुधार गरेर निजी क्षेत्रसँग पनि प्रतिस्पर्धा गर्दै लोकप्रियता कायम राख्न लागिपरेका छौं ।’

नेपाल टेलिभिजन चारवटा च्यानल हाल स्याटेलाइट र टेरेष्ट्रियल प्रविधिबाट प्रशारित हुन्छ । करीब डेढ अर्बको बजेट रहेको सो संस्थामा ४ सय पत्रकार तथा कर्मचारी छन् ।

यसले केही समयअघि शुरु गरेको संस्कृत भाषामा समाचार सेवामा सकारात्मक प्रतिक्रिया पाइएको उनले बताए । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक प्रशारण संस्था (पिएसबी) मा रुपान्तरण गर्ने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Skip to toolbar