बीमा कम्पनीको आइपिओ पुनः जारी हुँदै


२१ कार्तिक २०७५, बुधबार
bima company

काठमाडौं, २१ कातिक । १० अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको नेपाल पुनः बीमा कम्पनीले आगामी तीन महिनाभित्रमा इनिसियल पब्लिक अफरिङ (आपिओ) जारी गर्ने भएको छ ।

bima company

आइपिओ निष्कासनका व्यवस्थापनका निम्ति राष्ट्रिय वािणज्य बैंक (आरबिबी मर्चेण्ट) लाई तोकिएको छ । नेपाल पुनः बीमा कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आगामी दुई–तीन महिनाभित्रमा आइपिओ जारी हुने बताए ।

सात अर्ब ५० करोडभन्दा बढी व्यापार गर्ने लक्ष्यका साथ कम्पनीले काम गरिरहेको बताउँदै उनले भारत सरकारका स्थापित चार वटा बीमा कम्पनीले नेपाल पुनः बीमा कम्पनीसँग सहकार्य गर्नु कम्पनीका निम्ति उपलब्धी भएको बताए ।

प्रभावकारी पुनः बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले रु एक अर्ब ५० करोड कम्पनीले बीमा शुल्क आर्जन गरेको जानकारी दिए । उनले अन्तर्राष्ट्रियस्तरका ११ वटा कम्पनीसँग कारोवार भइरहेको बताए ।

यसैबीच कम्पनीको पाँचाैं वार्षिकोत्सवको मंगलबार ललितपुरमा उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले आर्जन भएको मुनाफा देशको भौतिक पूर्वाधार निर्माण एवम् जलविद्युत् उत्पादनमा उपयोग हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘पूँजी बजारको अभिन्न अङ्ग पुनः बीमा क्षेत्रले कमाएको नाफा शहरी पूर्वाधार तथा जलस्रोतमा लगानी गर्नुपर्छ ।’ किसानलाई बीमाको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै अर्थमन्त्रीले लघुबीमा प्रवद्र्धन अपरिहार्य भएको बताए ।

विदेशी मुद्रा सञ्चितिमा पुनः बीमाबाट केही योगदान भएको बताउँदै उनले पुनः बीमाको क्षेत्रलाई अझ सघन तुल्याउन उत्तिकै आवश्यक भएको पनि उल्लेख गरे ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गाउँ–गाउँमा बीमा सेवा प्रवाह हुनुपर्ने बताउँदै जीवन बीमामा ३१ र निर्जीवन बीमा १८ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७