कसरी हुन्छ बुथकब्जा ?


४ मंसिर २०७४, सोमबार
election

काठमाडाैं : पहिले दुइटा निर्वाचन क्षेत्र रहेको दोलखामा पुनस्संरचनापछि एउटै मात्र छ। यसअघिको १ नम्बर क्षेत्रमा ०४८ सालदेखि गत स्थानीय तहको चुनावसम्म बुथकब्जाको क्रम रोकिएन। तत्कालीन १ नम्बर क्षेत्र हाल प्रदेशसभा ‘क’ मा पर्छ। यस प्रदेशबाट कांग्रेसका बर्मा लामा र वाम गठबन्धनबाट माओवादीका विशाल खडका प्रतिस्पर्धामा छन्। उनीहरू एकले अर्कालाई बुथकब्जाको रणनीति नबनाउन चेतावनी दिँदै आएका छन्। यी दुई उम्मेदवारको चेतावनीयुक्त अभिव्यक्तिले पनि यस पटक बुथकब्जा हुन सक्ने संकेत गरिसकेको एक मतदाताले बताए।  आजको कान्तिपुरमा खबर छ  ।

election

विगतमा यी दुवै नेता चुनावका दिन हत्कण्डा मच्चाउनेकै सूचीमा पर्छन्। भर्खरै स्थानीय निर्वाचनमा आफ्नै गृहस्थल मेलुङ गाउँपालिका अध्यक्षमा ८६ मतले हारेको चोट बर्मालाई छ। ०७० को संविधानसभा चुनावमा दोलखा १ बाट एमाले र कांग्रेससँग हारेको चोट खडकालाई छ। यी दुवै ठाउंँका पराजयलाई बुथकब्जाको कारण मानिएको छ।

कांग्रेस, एमाले र माओवादीबाट आ–आफ्नो वर्चस्व रहेको मतदानस्थलमा बुथकब्जा हुँदै आएका छन्। स्थानीय कार्यकर्ता र ‘गुन्डा’ मार्फत ती मतदानस्थलमा एकलौटी मत खसालिन्छ। बुथकब्जा गर्न राजनीतिक दलहरूले काठमाडौंलगायत ठाउँबाट पेसेवर ‘गुन्डा’ समेत झिकाउने गर्छन्। मोटरसाइकल र गाडी रिजर्भ गरेर उनीहरू जिल्ला प्रवेश गर्छन् र योजनाअनुसार बुथकब्जा गर्ने केन्द्रमा उनीहरूलाई उम्मेदवारले खटाउँछन्। हतियारसहित पुग्ने गुन्डाले स्थानीय कार्यकर्ताको साथमा सुरक्षा निकाय र कर्मचारीलाई समेत नियन्त्रणमा राखेर मतपत्रमा एकलौटी छाप हाल्छन्। सामान्य मतदातालाई लखेटेर उनीहरूको नामको मत यस्तै गुन्डाहरूले एकलौटी रूपमा हालिदिने गर्छन्, जसलाई बुथकब्जाका रूपमा लिइन्छ।

गत स्थानीय तहको चुनावमा कांग्रेस, माओवादीको गठबन्धन र एमालेले आ–आफ्नो वर्चस्व रहेका इलाकाका करिब दर्जन मतदानस्थल कब्जा गरेका थिए। कांग्रेसले यस पटक वाम गठबन्धनले गौरीशंकरको खारे, चंखु, मार्बु, सुरी, जुुंगु, सहरे, मालु च्यामाजस्ता मतदान केन्द्रमा बुथकब्जाको रणनीति बनाएको आरोप लगाएको छ। यी बुथमध्ये मार्बु, सहरे, काब्रेलगायत स्थानमा यसअघि पनि बुथकब्जा भएका थिए। वाम गठबन्धनले पनि कांग्रेसबाट झुले, गैरीमुदी, डाँडाखर्क, जफे, भीरकोट, भेडु, नाम्दु, मिर्गेजस्ता ठाउंँमा बुथकब्जा गर्ने रणनीति बनाएको दाबी गरेको छ। स्थानीय निर्वाचनमा गैरीमुदी, झुले, जफे, नाम्दु, क्षेत्रमा कांग्रेसले कब्जा गरेको थियो। आफ्नो वर्चस्व स्थापित गर्न गत स्थानीय तहमा यस्तै भिडन्त र झडपमा परेर गौरीशंकर र मेलुङमा दुई जनाको ज्यान गएको थियो।

गौरीशंकर गाउँपालिका २ स्थित जुगुमा एमाले र माओवादी केन्द्रबीच भएको झडपमा एमालेका वडा सदस्यका छोरा कुलबहादुर तामाङको मृत्यु भयो। जुन घटनाले जिल्लामा माओवादी र एमालेबीच ठूलो दरार खडा गराएको छ। उक्त घटनामा संलग्न भन्दै एमालेले हाल वाम गठबन्धनबाटै उम्मेदवार बनेका विशाल, माओवादी नेत्री देवी खडका, गंगा कार्कीलगायत ३९ जनाविरुद्ध ज्यानमुद्दा दर्ता गरेको छ। जुन मुद्दा अहिले अदालतमा विचाराधीन छ। वाम गठबन्धनबाट उम्मेदवार रहेका विशालले दुई पार्टीबीच तालमेल भएपछि यो मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढिरहेको बताए। पीडित र घाइते पक्षलाई राखेर कार्यक्रम भइसकेकाले जिल्लामा यही घटनालाई लिएर एमाले र माओवादीबीच द्वन्द्व नरहेको उनले दाबी गरे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७