उपत्यकामा २० हजार चालक कार्वाहीमा

लेन मिच्दै हुनुहुन्छ ? परिएला कार्वाहीमा


२९ कार्तिक २०७५, बिहीबार
trafice

काठमाडौं, २९ कात्तिक । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईंको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला ।

trafice

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कार्वाही बढाएको छ । महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कार्वाही गरेको छ ।

विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कार्वाही थालेको महाशाखाले हालसम्म २० हजार बढी व्यक्तिलाई कार्वाही गरेको हो । आव २०७३-७४ मा १३ हजार २२७, आव २०७४-७५ मा दुई हजार ७१६ र आव २०७५-७६ मा दुई हजार ७५२ जनालाई कार्वाही गरेको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले पछिल्लो समय सिसिटिभीमार्फत सवारी साधन कार्वाहीलाई तीव्रता दिएको बताए ।

‘उपत्यकाका सबै चोक र सडकमा ट्राफिक जनशक्तिको अभाव छ, त्यसैले महाशाखाले सिसिटिभीमार्फत सवारी उल्लङ्घन गर्ने सवारी चालकलाई कार्वाही संख्या बढाएका हौं’, उनले भने ।

साँघुरा सडक र अत्याधिक सवारीसाधन भएकाले लेन मिच्ने, तीब्र गतिमा सवारी चलाउने, एकतर्फी बाटोमा सवारी चलाउने, नो टर्न लेखेको ठाँउबाट टर्न लिनेलगायतलाई कार्वाही गरिएको महाशाखाले जनाएको छ ।

हाल महाशाखाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका ४६० क्यामराबाट उपत्यकाको ट्राफिक गतिविधिको बारेमा हेर्दे आएको छ ।

चालकलाई घरमा चिठी पठाएर कार्वाही
महाशाखाले सवारी नियम उल्लङ्घन गर्ने एक हजार ३२९ सवारी चालकलाई घरमा चिठी पठाएर कार्वाही गरेको छ ।

विसं २०७४ मा तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल महाशाखा प्रमुख भएको समयमा महाशाखाले सवारीसाधन उल्लङ्घन गर्ने चालकलाई घरमा चिठी पठाएर कार्वाही गर्ने अभियान शुरु गरेको थियो । आव २०७४-७५ मा ५५१ र आव २०७५-७६ को हालसम्म ७७८ जनालाई कार्वाही गरेको हो ।

महाशाखाले सवारीसाधनमार्फत एक हजार ९५८ सवारी चालकलाई कार्वाही गरेको छ । आव २०७४-७५ मा एक हजार २५३ र आव २०७५-७६ मा ७०५ सवारी चालकलाई कार्वाही गरेको छ ।

महाशाखाका प्रमुख पन्त सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई रु ५ सयदेखि एक हजारसम्म जरिवना र जनचेतना दिँदै आएको बताउँछन् । महाशाखाले सिसिटीभिका अलावा बडीवान क्यामरा, ग्रोप्रो क्यामरामार्फत कार्वाही गर्दै आइरहेको छ ।

ट्राफिक उभिएर गर्ने कार्वाही, सामाजिक सञ्जालमार्फत हेरेर गरिने कार्वाही, यात्रुले खबर गरेर गरिने कार्वाही समेत रहेका छन् । महाशाखाले सिसीटिभीमार्फत उपत्यकामा हुने कतिपय सवारी दुर्घटनाको अनुसन्धान गर्दै आइरहेको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन्, जसमध्ये आठ लाख सवारीसाधन काठमाडौँ उपत्यकामा मात्र सञ्चालनमा रहेका छन् । उपत्यकामा साँघुरा सडक र सवारीसाधन धेरै भएका कारण ट्राफिक व्यवस्थापन दिनानु दिन जटिल बन्दै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७