‘शिक्षामा अन्तर्राष्ट्रिय मान्यताअनुसार लगानी गर्न सरकार प्रतिबद्ध’


३० कार्तिक २०७५, शुक्रबार
ko

काठमाडौं, ३० कात्तिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समृद्धि र दिगो विकासको लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न सरकार प्रयासरत रहने बताएका छन् ।

ko
कोलम्बो प्रोसेस अन्तर्गत शुक्रबार भएको सदस्य राष्ट्रबीचको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दैै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली । तस्वीर : रासस

शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिइ) को छैठौं विश्व सम्मेलनको उद्घाटनसत्रमा मन्त्री ज्ञवालीले शान्ति र समृद्धिका लागि गुणस्तरीय सार्वजनिक शिक्षाको विकल्प नभएकाले यसका लागि पर्याप्त बजेट र उचित व्यवस्थापनका लागि सरकारले काम गरिरहेको जानकारी दिए ।

नेपालले हालै निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन कार्यान्वयन गरेको र पछिल्ला वर्षमा साक्षरता प्रतिशत, खुद भर्नादर र आधारभूत तहका लैङ्गिक समता दर वृद्धि हुनुले दिगो विकासको लक्ष्यका लागि उत्साजनक अवस्था रहेको उनले बताए ।

‘सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिका लागि प्रभावकारी व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको नीतिगत र कार्यमूलक समन्वय बढाउन आवश्यक छ’, उनले भने, ‘साक्षरताको वृद्धिका साथ किन विश्वमा सामाजिक अपराध, लैङ्गिक हिंसा र शैक्षिक बेरोजगारी बढेको छ ? यसमा सम्मेलनले निकाल्ने निष्कर्ष सरकारका लागि कामयावी हुनेछ ।’

संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना जे मोहम्मदले सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकासको लक्ष्य नं ४ मा रहेको शिक्षाका लक्ष्य पूरा गर्न सम्बन्धित सरकार र नागरिक समाजबीच सहकार्य वृद्धि हुनुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघीय बालिका शिक्षा प्रयास (अन्गाई) का निर्देशक नोरा फ्लोसले शिक्षामा समावेशीता र न्याय र समानता भई गुणस्तरीय सार्वजनिक शिक्षा प्राप्त गर्नसकेमा हरेक मुलुकले समृद्धि हासिल गर्ने बताए ।

जिसिइका अध्यक्ष क्यामिला क्रोसेले गुणस्तरीय र सर्वसुलभ शिक्षाको लक्ष्य हासिल गर्न हरेक सरकारले कूल गार्हस्थ उत्पादनको छ प्रतिशत तथा कूल बजेटको २० प्रतिशत लगानी बढाउनुपर्ने र त्यसमा नागरिक क्षेत्रले सहकार्य गर्ने बताए ।

उनले शिक्षामा बढ्दो निजीकरण र व्यापारिकरणका विरुद्ध विश्वव्यापी आवाज उठाउनुपर्नेमा जोड दिए । विश्वभरका करीब १०० मुलुकका समाजका प्रतिनिधि सम्मेलनको ‘न्याय, समानता र समावेशीताका लागि सार्वजनिक शिक्षा प्रणालीमा रुपान्तरण’ विषयमा छलफल हुनेछ । सम्मेलनको आतिथ्यता शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले गरेको छ ।

सम्मेलनले जिसिइको नयाँ नेतृत्व चयन पनि गर्नेछ । जिसिइको पाँचौँ विश्व सम्मेलन दक्षिण अफ्रिकाको जोहनसवर्गमा भएको थियो ।

सम्मेलनमा नागरिक समाजका प्रतिनिधि, शिक्षा अभियानकर्मी, युवा वकालतकर्ता भेला भई सार्वजनिक शिक्षाको रुपान्तरण र गुणस्तर सुधारका लागि भावी योजना तय गरिने छ ।

सन् १९९९ मा सेनेगलको डकारमा भएको विश्व शिक्षा मञ्चको सम्मेलनपछि अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय रुपमा नागरिक क्षेत्रबाट समेत सबैका लागि शिक्षा अभियानको थालनी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७