छोरा प्रकाशको मृत्युपछि प्रचण्डलाई ओलीले लेखेको पत्र


५ मंसिर २०७४, मंगलवार
KP oli and puspakamal dahal Prachand
KP oli and puspakamal dahal Prachand
फाइल तस्बिर

काठमाडौं: माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै झापा पुगेका थिए । पूर्वका चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँगै झापा गएका थिए ।

शनिबारका लागि तय भएको कार्यक्रम सकेपछि प्रचण्ड केहीबेर ओली निवासमा बसे, अनि बिर्तामोड आए । बी एन्ड सी हस्पिटलको ‘गेस्ट हाउस’मा रात बिताए ।

आइतबार बिहानै प्रचण्डको कानमा दुःखद् खबर ठोक्कियो, त्यतिवेला उनी ‘मर्निङ वाक’मा निस्किँदै थिए । श्रीमती सीताले बिहान ५ः४५ बजे टेलिफोन गरेर घटनाबारे जानकारी गराउँदा उनी गेस्ट हाउसबाट ओर्लिंदै थिए । तर, छोराको निधनको खबर सुनेलगत्तै प्रचण्ड थुचुक्कै बसे ।, घटनाबारे जानकारी पाएपछि भावविह्वल बनेका प्रचण्डलाई तत्काल बी एन्ड सी हस्पिटल पुर्‍याइयो ।

उनी हस्पिटल पुगेको डेढ घण्टापछि काठमाडौंबाट उनलाई लिन हेलिकोप्टर पुग्यो । हस्पिटलको छतमा ‘ल्यान्ड’ गरिएको हेलिकोप्टर चढेर प्रचण्ड बिहान ८ः४० बजे राजधानी फर्किए । घटनाबारे जानकारी पाउनासाथ बिहान ओली पनि प्रचण्डलाई काठमाडौं बिदा गर्न बिर्तामोड पुगे । ओलीसँग हात मिलाएर प्रचण्ड काठमाडौंका लागि उँडे ।

प्रचण्ड र दाहाल परिवारको वियोगमा सान्त्वना दिन सोमबार बिहानै लाजिम्पाट निवासमा शुभचिन्तकको भिड लाग्यो । पीडाबाट सम्हालिँदै शुभचिन्तकहरूलाई प्रचण्डले सम्बोधन गरे ।

प्रचण्डलाई ओलीको पत्र

प्रिय कमरेड,
हामी दुवै आसन्न प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका वामपक्षीय–लोकतान्त्रिक गठबन्धनका हाम्रा उम्मेदवारको प्रचार कार्यक्रममा प्रदेश नं। १ मा रहेकै वेला तपाईंको सुपत्र तथा तपाईंको पार्टीका केन्द्रीय सदस्य कमरेड साकार दाहाल ‘प्रकाश’को आकस्मिक एवं असामयिक निधनको खबरले म स्वयं भावविह्वल भएको छुु । एकातिर वामपक्षीय–लोकतान्त्रिक गठबन्धनको एकजना मुख्य नेताको हैसियतमा तपाईंमा निहित निर्वाचन परिचालनको चुनौतीपूर्ण नेतृत्वको जिम्मेवारी र अर्कोतिर पुत्रशोकको अकल्पनीय घटनाले तपाईंमाथि पर्न गएको पीडा म अनुभूति गरिरहेको छु ।

कमरेड प्रकाश, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्र मात्रै नभई अध्यक्ष प्रचण्डको सचिवालयका मुख्य व्यक्तिसमेत भएकाले माओवादी केन्द्रका अध्यक्षको सचिवालय सञ्चालनमा रहेको भूमिका र उहाँको देहावसानले पारेको खाडल अपूरणीय रहेको मैले महसुस गरेको छु ।

द्वन्द्वकालमा समेत तत्कालीन नेकपा (माओवादी) पार्टीको हेडक्वार्टर र त्यसका सुप्रिम कमान्डर अध्यक्ष प्रचण्डको सुरक्षा, सहयोग र सचिवालय सञ्चालनमा रहेको उहाँको भूमिका अविस्मरणीय छ नै । यो चुनौतीपूर्ण घडीमा उहाँको निधनबाट सिर्जना भएको रिक्तता र पुत्र वियोगको पीडा दुवै विशेषगरी तपाईंले सामना गर्नुपर्ने कष्टपूर्ण कार्यको रूपमा मैले लिएको छु ।

यस शोकपूर्ण घडीमा म, नेकपा (एमाले) र आफू स्वयंको तर्फबाट तपाईं र तपाईंको सिंगो शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । कमरेड प्रकाशको निधनबाट नेकपा–माओवादी केन्द्र)मा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
केपी शर्मा ओली
अध्यक्ष
नेकपा एमाले

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७