८२ अर्बको सुनकोशी-मरिन वहुउद्देश्यीय डाइभर्सनको काम चालु आवमै


४ मंसिर २०७५, मंगलवार
sunkoshi marin diverson

काठमाडौं, ४ मंसिर । लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आगामी चार महिनाभित्र पूरा हुने भएको छ ।

sunkoshi marin diverson

तराई मधेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजनालाई प्रमुख प्राथमकितामा राखेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि ठेक्का प्रक्रिया अगाडि बढाएने ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले जानकारी दिएका छन् ।

सो आयोजनाबाट प्रदेश नं २ को एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । ‘हिमाल, पहाड र तराईलाई समेत जोड्ने भएकाले राष्ट्रिय एकता समेत निर्माण गर्छ । त्यसकारण पनि सो आयोजना रणनीतिक महत्वको रहेको छ’, मन्त्री पुनले भने ।

मन्त्री पुनले उक्त परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने भएको छ । चालु आवभित्रै निर्माणको काम अगाडि बढाउने गरी तयारी गरिएको छ ।

मन्त्री पुन, मन्त्रालयका उच्च अधिकारी र सिन्धुलीका जनप्रतिनिधिले सोमबार आयोजनास्थलको समेत अध्ययन गरेको थियो ।

nahar ko yojana

आयोजनालाई बहुउद्देश्यीय बनाइने भएको छ । भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा टनेल बोरिङ मेशिन (टिबिएम) को प्रयोगका कारण सहज भएकाले सो आयोजनामा समेत त्यस्तै प्रविधिको प्रयोग गर्ने सोचमा सरकार लागेको छ ।

टिबिएमको प्रयोगपछि सुरुङ खन्न थालिएको एक वर्षमै ७५ प्रतिशत बढी निर्माण सम्पन्न भएको छ । कूल १२ दशमलब दुई किलोमिटर लामो सुरुङमध्ये हालसम्म करीब १० किमी सुरुङ निर्माण भइसकेको छ ।

सुनकोशी मरिन डाइभर्सन आयोजना तयारी अवस्थामा रहेकाले यो परियोजना सरकार, प्रधानमन्त्री र मन्त्रालयको प्राथमिकतामा रहेको मन्त्री पुनको भनाइ छ । आयोजनाको निर्माण अवधि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ ।

सो आयोजनाको अनुमानित कूल लागत रु ८२ अर्ब रहेको छ । त्यसमा विद्युत् र सिँचाइको फरक–फरक लागत रहने छ । विद्युत गृह, सुरुङ निर्माणलगायतमा रु ५२ अर्ब ८८ करोड र सिँचाइतर्फ रु ३२ अर्ब लागत रहने अनुमान गरिएको छ ।

आयोजनाबाट २ नम्बर प्रदेशको एक लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ हुनुका साथै मरिन उपत्यकामा पनि सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसका साथै उक्त आयोजनाबाट ४२ दशकलब ५ मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ ।

सरकारले चालु आवको बजेटमा समेत सो नदी स्थानान्तरण आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ । आयोजनाका प्रमुख सुशील आचार्यले उक्त परियोजनाबाट २ नम्बर प्रदेशलाई खानेपानीको लागि पानी उपलब्ध गराउने लक्ष्य समेत राखिएको जानकारी दिए ।

भेरी बबई डाइभर्सन आयोजनाको प्रगतिका आधारमा पनि सुनकोशी–मरिन डाइभर्सन आयोजना अगाडि बढाउन सकिने आधार र विश्वास पैदा भएको जानकारी दिँदै आयोजना प्रमुख आचार्यले हाल डिजाइन तथा लागत निर्माणलगायतको काम भइरहेको बताए ।

urja

सिन्धुलीको खुर्कोट नजिक सुनकोशी नदीमा बाँध बाँधेर सुरुङमार्फत पानी मरिन उपत्यकामा खसालिने छ । आयोजनाको लागि लगानीको स्रोत जुटाउने काम जारी रहेको समेत मन्त्री पुनले जानकारी दिए ।

उनले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना रुपमा अघि बढाउने तयारीमा सरकार रहेको समेत बताए । उक्त परियोजनालाई अघि बढाउन सिन्धुली, रामेछाप र ओखलढुङ्गाका नागरिक समेत सहयोगी बन्ने भन्दै प्रतिनिधिसभा सदस्य हरिबोल गजुरेलले आयोजना बहुआयामिक महत्वको रहेको प्रतिक्रिया दिए।

विकास र पूर्वाधारको माध्यमबाट सुनकोशी मरिन डाइभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता निर्माण गर्ने एउटा सशक्त माध्यमका रुपमा समेत उपयोगी हुने प्रतिनिधिसभा सदस्य गणेश पहाडीको टिप्पणी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७