ताराखोला जलविद्युत् आयोजना अन्तिम चरणमा, चैतभित्रै विजुली


१३ मंसिर २०७५, बिहीबार

बागलुङ, १३ मंसिर । ताराखोला गाउँपालिकामा निर्माणाधीन ३८० किलोवाटको ताराखोला साना जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको ८५ प्रतिशत काम पूरा भएको इञ्जिनियर दिलबहादुर थापाले बताए ।

bijuli1बिजुली

उनका अनुसार मुहान, कुलो, सुरुङलगायत ‘सिभिल’ चरणको काम सकिएको छ । ‘विद्युत् गृहको काम भइरेको छ’, इञ्जिनियर थापाले भने, ‘आउँदो चैतभित्रमा बिजुली बल्छ ।’ विद्युत गृहमा चाहिने मुख्य उपकरण समेत चीनबाट आइसकेको छ ।

पहिले सामुदायिक ढाँचाको आयोजना अहिले ताराखोला जलविद्युत् लिमिटेडमार्फत निर्माण भइरहेको हो । रु १८ करोडको लागतमा बन्ने आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान उपलब्ध गराएको छ भने गाउँपालिकाका एक हजार ६९१ ले शेयर हालेका छन् । लागत थप बढ्न सक्ने अनुमान गरिएको छ ।

गाउँपालिकाका पाँच वटै वडाका २२ घरधुरीमा विद्युत् पु¥याउने आयोजनाको शुरुको लक्ष्य थियो । वडा नं १ को अमरभूमिमा केन्द्रीय बिजुली पुगेपछि उपभोक्ता घटेर एक हजार ७०० पुगेका छन् । प्रत्येक घरधुरीबाट न्यूनतम रु १५ हजारका दरले शेयर उठाइएको छ ।

‘सक्नेले बढी पनि लगानी गर्नुभएको छ’, आयोजनाका अध्यक्ष हिमाल विकले भने, ‘गाउँपालिका बाहिरबाट कसैको शेयर छैन ।’ यसै वर्षभित्र विद्युत गृहमा बिजुली बले पनि घर घरमा विद्युतीकरण गर्न थप समय लाग्ने उनको भनाइ छ । विद्युतीकरणको लागि तार विस्तारको काम पनि अघि बढेको छ ।

आयोजनास्थलमा धमाधम काम भइरहेकाले समयमै लक्ष्य पूरा हुने उनले बताए । विसं २०६८ मा शुरु भए पनि लगानी, कामदार अभाव, ढिलासुस्ती जस्ता कारणले आयोजना पछि धकेलिएको हो । कामै रोकिएर आयोजना अलपत्र परेपछि व्यवस्थापन समेत फेरिएको थियो ।

केन्द्रबाट अनुदान स्वीकृत भएपछि कामले गति लिएको इञ्जिनियर थापाले बताए । पहिलो किस्ता अनुदान रु एक करोड ८२ लाख र दोस्रो किस्ता रु एक करोड ८९ लाख आयोजनाले पाइसकेको छ । कामको प्रगतिका आधारमा बाँकी रकम उपलब्ध हुने जनाइएको छ ।

आयोजना सम्पन्न भएपछि ‘उज्यालो गाउँपालिका’ को लक्ष्य पूरा हुने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘सबै घरमा विद्युत् पुर्‍याउने लक्ष्य आयोजनाले पुरा गर्दैछ’, उनले भने । गाउँलेको समेत लगानीमा बन्न लागेको आयोजनामा आवश्यक पर्दा गाउँपालिकाले सहजीकरण गर्दै आएको छ ।

स्थानीय धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई पाइपलाइनमार्फत वडा नं ५ कै धस्मरमा निर्माणाधीन विद्युत गृहमा ल्याइने छ । हिउँदमा ३८० किलोवाट विद्युत् उत्पादन हुने भए पनि वर्षायाममा ५०० किलोवाटसम्म विद्युत् उत्पादन हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७