सात दिनभित्र वाइड बडी खरिदको विवरण बुझाउने निर्देशन


१३ मंसिर २०७५, बिहीबार
NAC 1

काठमाडौं, १३ मंसिर । सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेको दुइ वाइड बडी विमानको विषयमा विस्तृत प्रतिवेदनसहित राय बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई एक हप्ते निर्देशन दिएको छ ।

NAC 1

समितिको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । निगमले दुई जहाज २४ अर्ब रुपैयाँमा खरिद गर्दा ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला गरेको कुरा बाहिर आएपछि लेखा समितिले गत आइतबार पनि निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस विषयमा सोधेको थियो ।

तर, चित्त बुझ्दो जवाफ नआएपछि लेखा समितिले बुधबार वाइड बडी सार्वजनिक खरिद ऐन बमोजिम भए–नभएको विषयमा डिटेल प्रतिवेदन बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति भरतकुमार शाहले वाइड बडी विमान खरिद सार्वजनिक खरिद ऐनको विधि र प्रक्रिया अनुसार भए, नभएको खुल्ने गरी समितिमा सुझावसहितको प्रतिवेदन पेस गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएका हुन् ।

समितिको बैठकमा सहभागी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले वाइड बडी खरिदको सम्बन्धमा अहिलेसम्म कुनै छलफल नभएको बताए । ‘नेपाल वायुसेवा निगमले वाइड बडी खरिद गर्दा औपचारिक रुपमा कुनै छलफल भएको छैन।

कसरी खरिद गरियो भन्ने कुरा प्रश्नकै विषय हो,’ सचिव रेग्मीले भने, ‘सार्वजनिक खरिद ऐन अनुसार जहाज खरिद भयो, भएन भन्ने कुरा अध्ययनले देखाउने छ। समितिले दिएको समय सीमाभित्र तथ्य प्रस्तुत गर्नेछौं ।’

यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक रामचन्द्र शर्माले सार्वजनिक खरिद ऐनमा ब्रान्डको नाम तोक्न नपाउने व्यवस्था भएको बताए । उनका अनुसार निगमले जहाज खरिद गर्दा ब्रान्ड तोकेको भेटिएको छ ।

नेपाल वायुसेवा निगमको नयाँ वाइड बडी विमान गत साउन १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। युरोपेली जहाज निर्माता कम्पनी एयर बसमा उत्पादित ए ३३०–२०० सिरिजको कल साइन ९एन–एएलजेड हो। निगमले यसलाई मकालु नाम दिएको छ ।

निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ गत असार १४ गते नेपाल आइपुगेको थियो । दुई सय ७४ सिट क्षमताको वाइड बडीमा १८ वटा बिजनेस र दुई सय ५६ सिट साधारण क्लासका छन् ।

१० करोड ४८ लाख अमेरिकी डलरका ती विमान खरिदका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण लिएको छ। दुवै विमान निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७