गाडी चलाउँदै क्लच पहिले कि ब्रेक पहिले थिच्ने ? यी अवस्था बुझ्नुस्


१३ मंसिर २०७५, बिहीबार
Brake Failure

काठमाडौं, १३ मंसिर । वर्षौ गाडी चलाएका चालकहरुले पनि झट्ट गाडी रोक्नु पर्दा ब्रेक थिच्ने कि क्लच थिच्ने भन्ने दोधारमा पर्छ ।

Brake Failure

यो समस्या नयाँ चालकका लागि त नयाँ हुँदै होइन । यहि दोधारका कारण कहिलेकाँही नराम्रो सडक दुर्घटना निम्तिने हुन सक्छ । यहि कारणले कतिपय दुर्घटना समेत भएका छन् ।

गाडी चलाउँदा क्लच, ब्रेक र गियरको गलत प्रयोग गर्ने बानीले पनि अप्रिय दुर्घटनासम्म गराउन सक्छ । क्लच र ब्रेक मिलाएर प्रयोग गर्न जानिएन भने यसको असर इन्जिन, गियरबक्स तथा क्लचमा पनि पर्न सक्छ ।

यसको लागि क्लचको काम के हो पहिला बुझ्न जरुरी हुन्छ । क्लच थिचेपछि इन्जिन र ह्वीलबीचको कनेक्सन छुट्छ, जुन बेला गियर परिवर्तन गर्न सकिन्छ ।
क्लच र ब्रेकको प्रयोग मिलाएर गर्न जानिएन भने गाडीको स्टार्ट बन्द हुने, झट्का दिने, चाहेको ठाउँमा गाडी नरोकिने हुनसक्छ ।

साँघुरो ठाउँमा गाडीले झट्का दियो भने अगाडि–पछाडिको गाडी वा अन्य कुनै बस्तुमा ठोकिने पनि हुन सक्छ । यसको लागि सबभन्दा पहिला कुनै पनि गियरको सबभन्दा कम गति कति हो अनुमान गर्नुपर्छ ।

जस्तो १ नम्बर गियरको सबभन्दा कम गति ५ देखि ८ किलोमिटर प्रतिघण्टा हुन्छ भने ५ नम्बर गियरको सबभन्दा कम गति ४० किलोमिटर प्रतिघण्टा आसपास हुन्छ । यो गति गाडी तथा बाटोअनुसार फरक–फरक हुनसक्छ ।

किनकी गाडी चलाउँदा कुनै पनि गियरको कम स्पिडमा गाडी गुड्न थालेपछि गियर डाउन गर्न जरुरी हुन्छ । यहाँ हामीले ४ वटा अवस्थाकाबारेमा चर्चा गरेका छौँ, जसले क्लच र ब्रेकको प्रयोग कसरी सबभन्दा उपर्युक्त हुन्छ भन्नेबारे जानकारी गराउँछ ।

१) पहिला क्लच अनि ब्रेक
यदि तपाईं शहरी क्षेत्रको हेवी ट्राफिकमा गाडी चलाइरहनु भएको छ र गाडीको गति ५ देखि १० किलोमिटर प्रतिघण्टा रहेको छ भने यस्तो अवस्थामा पहिला ब्रेक लगायौँ भने गाडीको स्टार्ट बन्द हुन्छ ।

यो अवस्थामा तपाईंको गाडी पहिलो गियरको सबभन्दा कम स्पिडमा गुडिरहेको हुन्छ । त्यसकारण एकदमै कम गतिमा सवारी चलाउँदा रोक्नुपरेको अवस्थामा पहिला क्लच अनि मात्र ब्रेक लगाउनुपर्छ ।

२) क्लच र ब्रेक सँगसँगै
यदि तपाईं २० देखि ३० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहनु भएको छ र अगाडि ठूलो खाल्डो आयो वा अचानक गाडीको अगाडि सानो बच्चा वा कुनै वस्तु दगुरेर आयो भने एकै पटकमा क्लच र ब्रेक थिच्नु उपयुक्त हुन्छ । यसो गर्दा गाडी पनि रोकिन्छ र इन्जिन पनि बन्द हुँदैन ।

३) पहिला ब्रेक अनि क्लच
यदि तपाईं हाई–वेमा ८० वा ९० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहनु भएको छ र अगाडि पर केही डिस्टर्व देखिन्छ भने, यस्तो अवस्थामा गाडीको गति कम गर्न क्लच नदबाइकन बिस्तारै ब्रेक दबाउनु पर्छ ।

बिस्तारै ब्रेक दबाउँदा गाडीको गति ४० किलोमिटर प्रतिघण्टामा आएपछि मात्र क्लच दबाएर गियर चेन्ज गर्नुपर्छ । किनकी ४० किलोमिटर प्रतिघण्टाको गति भनेको ५ गियरको सबभन्दा कम गति हो । यस्तो गतिमा पनि गियर चेन्ज गरेन भने गाडी झट्का खानसक्छ र स्टार्ट नै बन्द हुनसक्छ ।

४) ब्रेक मात्र
आफू चलिरहेको गतिमा केही कम मात्र गर्नुछ भने ब्रेक मात्र लगाए पुग्छ । गाडीलाई रोक्नु छैन, गति मात्र कम गर्नुपर्ने अवस्थामा एक्सिलेटर छाडेर ब्रेक मात्र हल्का थिच्ने गर्नुपर्छ ।

स्पिडमा चलिरहेको अवस्थामा टाढा अगाडि केही रोकिएमा वा टर्निङ्ग आएको अवस्थामा हलुका तरिकाले ब्रेक मात्र थिचे हुन्छ । स्पिड कम भएर गियर नै चेन्ज गर्नुपर्ने अवस्थामा वा रोक्नैपर्ने अवस्थामा मात्र क्लच थिच्नुपर्ने हुन्छ ।
एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७