पाख्रिनको पार्थिव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा
चितवन: जनगायक खुसी राम पाख्रिनको पार्थिव शरीरमा वाम गठबन्धनका शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । बुधवार दिउँसो भरतपुरको केन्द्रीय बस टर्मिनलमा वाम गठबन्धनको वृहत् जनसभामा गीत गाउँदै गर्दा स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा मङ्गलवार दिउँसो पाख्रिनको मृत्यु भएको थियो ।
अन्त्येष्टि अघि माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पाख्रिनको शवलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो ।श्रद्धाञ्जली कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीको झण्डा ओडाएका थिए ।
कार्यक्रममा माओवादी नेता रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाललगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । श्रद्धाञ्जलीसभामा माओवादी नेता सूर्य सुवेदीले पार्टीको तर्फबाट शोक बक्तव्य पढेर सुनाएका थिए ।माओवादी पार्टी कार्यालयमा पाख्रिनप्रति श्रद्धाञ्जली अर्पण गर्न ठुलो सङ्ख्यामा शुभेच्छुकहरुको उपस्थिति रहेको छ । श्रद्धाञ्जलीको लागि आज केही बेर पार्टी कार्यालयमा राखिने र आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।