वाम गठबन्धनले बहुमत ल्याउने देखेर काँग्रेस अत्तालिए: नेता नेपाल


प्रकाशित मिति : November 22, 2017

लहान: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने देखेर काँग्रेस अत्तालिएको दाबी गरेका छन् ।

सिरहाको लहानमा बुधबार आयोजित चुनावी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले देशको विकास र समृद्धिका लागि वाम गठबन्धन बनेकाले जनताले गठबन्धनलाई बहुमत दिने दाबी गरे । ‘गठबन्धनको बहुमत आउने देखेर काँग्रेसलगायत दल अत्तालिएका छन्”–उनले भने ।

एमालेलाई कहिले लोकतन्त्र विरोधी, कहिले मधेश विरोधी त, कहिले विकास विरोधी भनी केही दलले प्रचार गर्दै आएको आरोप लगाउँदै उनले भने, “वृद्धवृद्धा र एकल महिलालाई भत्ता दिने, दलित, विपन्नलाई जनता आवास बनाउने निर्णय एमालेकै पालामा भएको छ, यसरी जनप्रिय र विकासको काम गर्ने एमाले कसरी लोकतन्त्र र विकास विरोधी हो ?”
सो अवसरमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवसहित विभिन्न पार्टीका दुई दर्जनभन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्