मोरङ क्षेत्र नं. ३ : डा.सुनिल शर्माको चटके चुनावी प्रचार, ढकाल चुनाव जित्नेमा ढुक्क


६ मंसिर २०७४, बुधबार
bhanubhakta dhakal vs sunil sharma

बेलबारी(मोरङ) : यही मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिक–नजिक आइरहेका बेला उम्मेदवारहरुले चुनावी प्रचारसँगै घर–दैलो कार्यक्रमलाई पनि तीव्र बनाएका छन् । त्यतिमात्र होइन आफ्नो पक्षमा मतदाता तान्न र आफूलाई लोकप्रिय भएको देखाऊ विभिन्न खाले हथकण्डासमेत अपनाइ रहेको छन् ।

bhanubhakta dhakal vs sunil sharma
मोरङ जिल्लाको क्षेत्र नं. ३ मा नेपाली काँग्रेस तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले अहिले त्यस्तै खाले हथकण्डा अपनाएपछि उनको चर्चा भन्दा बढी आलोचना सुरु भएको छ । त्यही क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक भानुभक्त ढकाल चुनावी मैदानमा छन् ।
नोबेल अस्पतालका पूर्व प्रबन्ध निर्देशक समेत रहेका शर्माले अहिले चुनावलाई केन्द्रित गरेर निःशुल्क स्वाथ्य शिविर मात्र चलाएका छैनन् । उनले निःशुल्क स्वाथ्य शिविर कार्यक्रम सञ्चालन गरेको भन्दै ५० प्रतिशत स्वास्थ्य बिमाको सुविधा प्रदान गर्ने वतासे गफ दिदैँ हिडेपछि उनको थप आलोचना भएको छ । त्यसो त शर्माको चुनावी प्रचार शैलीलाई एमालेका उम्मेदवार ढकालले खुलेरै आचारसंहिता विपरीत भएको भन्दै आलोचना गरेका छन् ।
शर्माको यो चुनावी चटकले कुनै असर नगर्ने वाम गठबन्धनको दाबी छ । ‘शर्माको शिविर बाँदरलाई डमरु बजाएर बजारमा नचाएर चर्चा कमाए जस्तै हो,’ ढकालले भने, ‘चुनावको मुखमा राजनीतिक एजेन्डा नभएर शिविर सञ्चालनको नाटक गररहेका छन् । सरकारले दिने ५० प्रतिशत स्वाथ्य बिमामा उनी आफूले दिने प्रतिबद्धता भन्दै जनतालाई भ्रम छर्दै छन् । यो पैसाको भरमा गरिएको चटके क्रियाकलाप मात्रै हो ।’
यता शर्माको भने अहिलेको मूल एजेण्डा जनतालाई भरपर्दाे स्वाथ्य सेवा प्रदान गर्ने रहेको दाबी गरेका छन् । उनको एजेण्डा र चुनावी मुखमा चलाएको निःशुल्क स्वास्थ्य शिविरबारे बुझ्न उनकै निवास पुगेर करिब ४५ मिनेटको प्रतीक्षापछि भेट दिएका शर्माले यही माध्यमबाट रोजगारको विकास गर्ने योजनामा रहेको बताए ।
‘अहिले पत्रकारसँग यो विषयमा कुराकानी गर्ने मुडमा छैन,’ उनले शिविर सञ्चालनबारे भने, ‘मङ्सिर १२ गते पनि कुरा गरौंला ।’ उनले १२ गते पछि मात्र बोल्ने बन्दै सञ्चारकर्मीलाई समेत खबर हुने भन्दै तर्किए ।
शर्माको चटके प्रचार शैलीकै कारण मोरङमा वाम गठबन्धनको पल्लाभारी हुनेमा ढकाल ढुक्क देखिए । ‘अहिले एमाले मोरङमा टिकट नपाएका व्यक्तिहरूको असन्तुष्टिले वाम गठबन्धनलाई समस्या छ भनेर हल्ला गरिएको छ,’ ढकालले नै भने, ‘पार्टी भित्रका केही असन्तुष्टिहरु सबै छलफलबाट समाधान भैसके । हामी एक ढिक्का भएर निर्वाचनमा होमिएका छौँ ।’
स्थानीय चुनावको मतपरिणामलाई आधार मान्दा यस क्षेत्रमा वाम गठबन्धन २१ हजार ५ सय ७३ मतले अघि छ ।
ढकालले संविधान कार्यान्वयन आफ्नो प्रमुख एजेण्डा रहेको भन्दै क्षेत्र न.–३ आदिवासी–जनजाति बाहुल्यता भएको क्षेत्र रहेको जानकारी दिए । ‘यही कुरालाई ख्यालमा राखेर जनजाति संङ्ग्रालय निर्माण गर्दै यस क्षेत्रमा रहेको सुन्दर पर्यटकीय स्थलको विकास गर्ने मेरो योजना छ,’ उनले भने, ‘शैक्षिक क्षेत्रको विकासका लागि सुन्दरहरैचामा अवस्थित पूर्वाञ्चल विश्वविद्याल मृत अवस्थामा छ । त्यसलाई ‘शैक्षिक हब’का रूपमा स्थापित गर्ने मेरो योजना छ ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७