भारतीय दूताबासको दबाब महतोले किन मानेनन् ?


१७ मंसिर २०७५, सोमबार

काठमाडौं, १७ मंसिर । राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको संयोजकबाट पदमुक्त गरिएका महन्थ ठाकुर २०७५ मंसिर १६ मा उपचारका लागि भारततिर लागेका छन् । नयाँदिल्लीमा उपचारका लागि जाने भनिए पनि उनको राजनीतिक भेटघाट पनि रहेको बताइएको छ ।

ठाकुरले अध्यक्षमण्डलबाट महाधिवेशनसम्म हट्न चाहेका थिएनन् । तर अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा बाहेक चार जनाले उनलाई पद छोड्न दबाब दिएपछि उनले छाडेका थिए । र, अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो संयोजक चयन भएका थिए । ठाकुरलाई महाधिवेशनसम्म संयोजकबाट नहटाउन भारतीय दूताबासले चर्को दबाब दिएको थियो । तर अध्यक्षमण्डलका सदस्यहरु महेन्द्र यादव, शरद्सिंह भण्डारी, राजकिशोर यादव र राजेन्द्र महतोले दूताबासको दबाबलाई अस्वीकार गर्दै उनलाई संयोजकबाट हटाएरै छाडे । दूताबासले दिएको दबाब महतोले यो समेत दुईपटक अस्वीकार गरेका छन् । २०७४ मंसिर २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा धनुषा ३ नम्बर क्षेत्रमा विमलेन्द्र निधिलाई छाड्न दबाब दिएको थियो । त्यसलाई समेत उनले मानेनन् । र, निधिलाई पराजीत गरी चुनाव जितेर देखाइदिए । दोस्रो पटक अहिले ठाकुरलाई पार्टीको संयोजकबाट नहटाउन दिएको दबाब समेत उनले ठाडै अस्वीकार गरिदिएको चर्चा राजपामा हुने गरेको छ । यसअघि कहिल्यै कुरा नमिल्ने शत्रुतापूर्ण सम्बन्ध रहेका महेन्द्र यादवसमेत महतोलाई संयोजक बनाउन सहमत भए । २०७० को संविधानसमा निर्वाचनमा सर्लाही ४ बाट तत्कालीन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष रहेका यादवले महतोलाई हराएका थिए ।
यसैबीच, पार्टीको संयोजकबाट ठाकुरलाई हटाएपछि पुरानो तमलोपा समर्थक नेताहरु आक्रोसित भएका छन् । साविक तमलोपाका नेताहरु बृशेषचन्द्र लाल र डा. सुरेन्द्र झाहरु ठाकुरलाई हटाएपछि राजपा फुटाउने खेलमा लागेका छन् । राजपाका उपाध्यक्ष रहेका लाल र सहमहामन्त्री झासहितका नेताहरुले ठाकुरलाई हटाएपछि साविक तमलोपाको कार्यालय बिजुलीबजारमा रंगरोगन गराउनेदेखि झण्डा समेत राखिसकेका छन्, आजको साँघु साप्ताहिकमा समाचार छ । ठाकुरलाई हटाएपछि लाल लगाउतका नेताहरु राजपा कार्यालयमा जानै छाडेका छन् । र, तमलोपा पुरानो कार्यालयमा भेला हुने गरेका छन् । नयाँदिल्लीको निर्देशन नमानेपछि राजपा नै फुटाउने चाल चल्न खोजिएको अर्थमा पनि लालहरुको सक्रियतालाई लिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७