सबैभन्दा ठूलो राष्ट्रवादी शक्ति काँग्रेस : नेता खाँण


६ मंसिर २०७४, बुधबार
bal kirshan Khanda

काठमाडौँ: नेपाली काँग्रेसका नेता एवं पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले काँग्रेस नै मुलुकको सबैभन्दा ठूलो राष्ट्रवादी शक्ति भएको बताएका छन् ।bal kirshan Khanda

काँग्रेसले स्थापनाकालदेखि नै मुलुकको राष्ट्रियता जोगाउन संघर्ष गर्दै आएको स्मरण गर्दै नेता खाँणले विगतमा राणा, पञ्चायत र राजाले काँग्रेसलाई अन्तराष्ट्रिय तत्वको आरोप लगाएर समाप्त पार्ने कोशिस गर्दा आफैँ समाप्त भएको बताए । उनले भने, “मधेशका मुद्दा सम्बोधन गर्नु राष्ट्रियता सम्बद्र्धन गर्नु हो ।”

पार्टीको प्रचारप्रसार उपसमितिद्वारा आयोजित पार्टीको घोषणापत्रको आर्थिक पक्षका बारेमा बुद्धिजीविसँग भएको अन्तक्र्रिया कार्यक्रममा नेता खाँणले संविधान जारीपछि मुलुकमा आर्थिक समृद्धि र स्थिरता कायम हुने धारणा व्यक्त गरे ।संविधानले आवधिक निर्वाचनको व्यवस्था गरेकाले कुनै पनि पार्टीले ५० वर्षसम्म एकलौटी शासन चलाउँछु भन्नु हाँस्यास्पद भएको बताउँदै नेता खाँणले काँग्रेसले मात्र मुलुकको समृद्धि र विविध पक्षको नेतृत्व गर्नसक्ने दाबी गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले काँग्रेसले घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धता तार्किक र युक्तिसंगत भएको बताउँदै सोबारेमा जनतामाझ सहज भाषामा बुझाउनुपर्ने आवश्यकता औँल्याए ।

कम्युनिष्ट दलले स्थिरताको कुरा मात्र उल्लेख गरेकाप्रति आशंका व्यक्त गर्दै डा पोखरेलले लोकतन्त्रसहितको समृद्धि र स्थायित्वका पक्षमा काँग्रेस उभिनुपर्ने धारणा व्यक्त गरे ।सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले काँग्रेसले घोषणापत्रसँगै सरकारको नेतृत्वमा रहँदा भएगरेको र आगामी दिनमा गर्ने काम योजना र कार्यान्वयन गर्ने आधारसहित मतदाताको विविधीकरणअनुसार बुझाउनसके त्यसले सार्थकता पाउने धारणा व्यक्त गरे ।

अर्का पूर्वसचिव शम्भूशरणप्रसाद कायस्थले काँग्रेसको मूल आधार तराई–मधेश भएको उल्लेख गर्दै तराई–मधेबका मुद्दा र सहज भाषामा मतदाताले बुझ्नसक्ने गरी घोषणापत्रका बारेमा आम मतदातालाई जानकारी गराउन सुझाव दिए ।कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्ववरिष्ठ एडभोकेसी डा ई। कमल रिजालले मुलुकमा हाल सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको बताउँदै यसलाई जरैदेखि उखेल्न मुलुकको सबैभन्दा ठूलो राजनीतिक शक्ति काँग्रेसले अगुवाइ गर्नुपर्ने धारणा व्यक्त गरे ।

योजना आयोगका पूर्वसदस्य डा निर्मलप्रसाद पाण्डेले मुलुकको अर्थतन्त्र आत्मनिर्भर र सुदृढ नभएसम्म दिगो विकास नहुने भन्दै अबको निर्वाचनमा सुशासनको विषयलाई राजनीतिक दलले प्राथमकितामा राख्नुपर्ने सुझाव दिए ।पार्टीको घोषणापत्र तयारी समितिका विज्ञ डा विश्व पौडेलले काँग्रेसले घोषणापत्रमा उल्लेख गरेको एकीकृत सामाजिक सुरक्षा नै मुलुकको आजको आवश्यकता भएको बताउँदै यो कार्यान्वयनमा आए स्वास्थ्य र सुखी जनसंख्या कायम हुने धारणा व्यक्त गरे ।

पूर्वप्रशासक प्रचण्डमान श्रेष्ठले काँग्रेसले घोषणापत्रमा उल्लेख गरेको पर्यटन भित्र्याउने लक्ष्य सहजरुपमा सम्भव भएको र यसका लागि भारत र चीनका पर्यटकलाई केन्द्रित गरी पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।पार्टीको मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले काँग्रेसको घोषणापत्रमा उल्लेख विषयवस्तुका बारेमा सम्बन्धित विज्ञसँग रायसुझाव संकलन गरी कार्यान्वयनका लागि प्रतिवेदन तयार गरी पार्टीलाई बुझाइने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७