उत्तर कोरिया र अमेरिका आमनेसामने


१० आश्विन २०७४, मंगलवार
Trump and kim

वासिङ्टन : अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमानामा पर्ने आकासमा उडाइएको छ । बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुवाम र जापानको ओकिनावाबाट उडेको बताइएको छ । कोरियाली आकासमा अमेरिकी युद्धक विमानको आगमनले अमेरिका र उत्तर कोरियाबीचको तनावमा थप वृद्धि हुने देखिएको छ ।

Trump and kim

अमेरिका र उत्तर कोरियाली नेताहरूबीच केही दिनयता वाक्युद्ध चलिरहेका बेला अमेरिकी युद्धक विमान उत्तर कोरियाली सीमा क्षेत्रमा यति नजीकबाट उडेको केही दशक यता पहिलो घटना भएको बताइएको छ ।

उत्तर कोरियाले विगत केही महिनायता गरेका निरन्तरका आणविक परीक्षणपछि अमेरिका लगायतका मुलुकले कोरियाका यस्ता उत्तेजक क्रियाकलापलाई रोक्न भन्दै निरन्तर प्योङयाङमाथि दबाब सिर्जना गरिरहेका छन् । यसै बिषयलाई लिएर केही दिन पहिले अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले कोरियामाथि आर्थिक प्रतिबन्धको घोषणा गरेको थियो । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने बिषयमा सुरुमा चीन र रुस तयार नभएपनि हालै आएर उनीहरुले पनि प्योङयाङको उत्तेजित गतिविधिलाई रोक्ने प्रस्तावमा लचिलोबन्दै सहमति जनाएका छन् ।

गत साताको मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली गतिविधि यसरी नै अघि बढिरहे वासिङ्टनले आफ्नो लागि मात्र नभई सबै सहयोगी देशको सुरक्षार्थ कुनै कसर बाँकी नराख्ने बताएका थिए । उनले अमेरिका र अमेरिकी गठबन्धन राष्ट्रमा केही समस्या आए उत्तर कोरियालाई ध्वस्त पारिदिनेसमेत बताएका थिए । ट्रम्पको यस्तो सम्बोधन आए लगत्तै उत्तर कोरियाका विदेशमन्त्री री योङ–होले संयुक्त राष्ट्रसंघको महासभामा मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको भाषणलाई ‘कुकुर भुकाइ’ को संज्ञा दिँदै आफ्नो देशले क्षेप्यास्त्र कार्यक्रम नरोक्ने चेतावनी दिएका थिए ।

यसैको प्रतिक्रियास्वरूप शुक्रबार पुनः नेता किम साँच्चै ‘पागल’ भएको र उनलाई आफ्ना जनता भोकमरीमा परेको वा मरेको कुरामा चिन्ता छैन भनी उनको यसअघि कहिले नभएको परीक्षण हुने चेतावनी ट्रम्पले दिएका थिए । राष्ट्रसंघमा विश्व समुदायले किम र कोरियाको हतियार मोहलाई आलोचना गरिरहेका समय शुक्रबार प्योङयाङले अर्को हाइड्रोजन बम परीक्षणको धम्की दिएपछि अमेरिकाले आफ्ना बमवर्षक तथा युद्धक विमानलाई उत्तर कोरियाको तटीय क्षेत्रमा उडाएर शक्ति प्रदर्शन गरेको छ ।

राष्ट्रपति ट्रम्पको भनाइको जवाफ जस्तै लाग्ने भाषा प्रयोग गर्दै कोरियाली विदेशमन्त्री रीले ट्रम्पले आफूहरुको ‘अपमान’ गरेको उल्लेख गरेका छन् । ‘मानसिक विचलन भएका ट्रम्पले पछाडि फर्कनै नसक्ने किसिमको गल्ती गरेका कारण उत्तर कोरियाली रकेट अमेरिकी भूमिमा पु¥याउनु अपरिहार्य बनेको छ । ट्रम्पले उनको भाषणको महँगो मूल्य चुकाउनुपर्नेछ,’ विदेशमन्त्री रीले शनिबार संयुक्त राष्ट्रसंघको महासभामा बताएका थिए । रीले महासभालाई सम्बोधन गर्नु पहिले नै अमेरिकी सैन्यकेन्द्र पेन्टागनले एक विज्ञप्ति जारी गर्दै ‘यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्षसहितको हो भनेको थियो । ‘सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर अमेरिका र सहयोगीहरुको भूमि सुरक्षा गर्न हामी तयार छौं । यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष हो,’ विज्ञप्तिमा भनिएको थियो ।

यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा उत्तर कोरियाली विदेशमन्त्रीको सम्बोधन सुनिसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनको पक्षमा बोलेको भन्दै ट्विटमार्फत् विदेशमन्त्री री योङ होलाई चेतावनी दिएका छन् । ‘भर्खरै उत्तर कोरियाका विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघीय महासभामा बोलेको सुनें । यदि उनको सोचाइ ‘रकेट म्यान’ को रुपमा आएको भने त्यो लामो समय टिक्दैन,’ ट्रम्पले गरेको ट्विटमा लेखिएको छ ।

उत्तर कोरियाका विदेशमन्त्री रीले महासभामा गरेको सम्बोधनमा ट्रम्पले एसियाली मुलुकलाई हेपाहा प्रवृत्ति राखिरहे अमेरिकी भूभागमा रकेट आक्रमण निश्चितप्राय रहेको बताएका थिए । ‘अमेरिकी राष्ट्रपतिको मन्द बुद्धि र यथेस्ट व्यवहारका कारणले मेरो देशलाई रकेटसँग तुलना गर्दै सार्वभौमिकतामाथि उनले प्रश्न उठाउन खोजे । उनले त्यस्तो गरेर हाम्रो रकेट उनको मुख्यभूमिसम्म पु¥याउन खोजेको देखिएको छ,’ रीले बताए । अमेरिकी राष्ट्रपति ट्रम्पलाई दिमागी समस्या भएको मान्छे भन्दै विदेशमन्त्री रीले शनिबार महासभामा अमेरिकालाई चेतावनी दिएका थिए ।

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७