नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्छ : मन्त्री अधिकारी


१९ मंसिर २०७५, बुधबार
airlines 1

काठमाडौं, १९ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली संघ (इयू) ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताएका छन् ।

airlines 1

हेलिकप्टर सोसाइटी अफ नेपालको मंगलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले गम्भीर सुरक्षा चासोलाई हटाइसकेको अवस्थामा आइकाओ मातहतको इयूले नेपाललाई कालोसूचीमै राखिराख्नुपर्ने औचित्य के हो भनी प्रश्न गरे ।

उनले भने, ‘इयूले भनेअनुसार पाँच वर्षदेखिको अभ्यास र उसको मापदण्डअनुसार सुधार गरेका छौँ, हालै इयूका अधिकारी, कूटनीतिक नियोग र उच्चपदस्त अधिकारीसँग पनि कुराकानी गरेको छु, मलाई विश्वास छ छिट्टै नै इयूले नेपालको उड्डयनलाई कालोसूचीबाट हटाउने छ ।’ सन् २०१३ को डिसेम्बरदेखि इयूले नेपाललाई उडान प्रतिबन्ध गर्दै आएको थियो ।

उसले एक साताअघि सार्वजनिक गरेको उडान प्रतिबन्ध हुने देशको सूचीमा नेपालसहित १५ देशलाई समावेश गरेको छ । यी देशका ११५ वायु सेवा प्रदायक कम्पनीले युरोपका आकाशमा उडान भर्न नपाउने प्रतिवेदनमा उल्लेख छ । सन् २०१३ मै आइकाओले सुरक्षा चासो राखेकामा गत वर्ष हटाएको थियो ।

मन्त्री अधिकारीले इयूले हटाएन भनेर बस्ने भन्दा पनि वैकल्पिक उपाय खोजेर नेपाल वायु सेवा निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । निगमका सन्दर्भमा उठेका विषयको छानबिन गरी जनता समक्ष ल्याइने उल्लेख गर्दै उनले निगमलाई कमजोर पार्ने खेलमा कोही पनि लाग्न नहुने धारणा राखे ।

हेलिकप्टर सोसाइटी स्थापना
हेलिकप्टर उद्योगको व्यावसायिक विकास तथा हवाई सुरक्षा अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले हेलिकप्टर सोसाइटी अफ नेपाल स्थापना गरिएको छ ।

सो संस्थाले हेलिकप्टर क्षेत्रमा आइपर्ने विभिन्न समस्याका समाधान गर्न नियामक निकायको सहयोग र समन्वयमा काम गर्ने जनाएको छ ।
सोसाइटीको उद्घाटन गर्दै पर्यटनमन्त्री अधिकारीले व्यावसायिक उड्डयन सुरक्षा अभिवृद्धि गर्न सङ्गठनले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

भौगोलिक अवस्थितिले नै नेपालमा हेलिकप्टरको औचित्यलाई पुष्टि गरेको उल्लेख गर्दै उनले यसैलाई मध्यनजर गरी सरकारले देशभरका स्थानीय तहमा हेलिप्याड बनाउने कार्यक्रम अघि सारेको र यसलाई सार्थक तुल्याउन व्यवसायीको सक्रियता चाहिने बताए ।

असोज २२ गते विधिवत रूपमा दर्ता भएको हेलिकप्टर सोसाइटीको अध्यक्षमा क्याप्टेन रामेश्वर थापा अध्यक्ष छन् । थापासहितका १० हेलिकप्टर कम्पनी संस्थामा आवद्ध छन् ।

उड्डयन क्षेत्रमा यसअघिको नेपाल वायु सेवा सञ्चालक सङ्घ पनि सक्रिय छ । नेपालमा आन्तरिक उडानका लागि हेलिकप्टरसहित २० वायु सेवा प्रदायक कम्पनीले सेवा दिँदै आएका छन् ।
पुराना पाइलट सम्मानित

सोसाइटीले नेपालको उड्डयन क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरेको छ । नेपालकै पहिलो हेलिकप्टर पाइलटतर्फ क्याप्टेन रवीन्द्रप्रसाद प्रधान, वायुयान मर्मततर्फ पूर्व ब्रिगेडियर जनरलद्घय पुष्पबहादुर केसी र गुञ्जमान लामा, क्याप्टेन विकास जेबी राणालाई सम्मान गरियो ।

त्यसैगरी इञ्जिनियरतर्फ महेशकुमार नकर्मी, ओमप्रसाद श्रेष्ठ, विष्णु बस्नेतलाई सम्मान गरिएको छ भने फ्लाइट अपरेशन अधिकृत (डिस्प्याचर्स) तर्फ भक्ति श्रेष्ठ र एयर ट्राफिक कन्ट्रोलर नारायणबहादुर सिंह डङ्गोललाई सम्मान गरिएको छ ।

कार्यक्रममा क्याप्टेन थापाले हेलिकप्टर क्षेत्रले भोगेको विभिन्न समस्याको निकारण गर्न सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्ने बताउँदै यस क्षेत्रको विकासमा सोसाइटी सधैँ सरोकारवालासँगको सहयोगीको भूमिकाका साथ सहकार्य गर्न तत्पर रहने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७