पश्चिमी वायुको प्रभावले चिसो बढ्यो, हल्का वर्षा हुन सक्ने

काठमाडौं, १९ मंसिर । पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भू–भागको मौसममा आंशिक बदली भई चिसो बढेको छ ।

उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा समेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम नबढ्दा चिसो बढेको विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।
राति देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । भोलि मंसिर २० गते दिउँसो पहाडी भू–भागमा मौसम आंशिक बदली हुने र उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको विभागले जनाएको छ ।
त्यस्तै मंसिर २१ गते पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ भने पूर्वी उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।