प्रहरीमा एसएसपी बढुवाको तयारी, यी हुन् बढुवाको लाइनमा रहेका ३५ एसपी
काठमाडौं, १९ मंसिर । नेपाल प्रहरीमा बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

एसएसपी बढुवाका लागि कानूनी बाधा परेपछि नियमावली संशोधन गरेर भए पनि बढुवाको तयारी गरिएको समाचार स्रोतले जानकारी दिएको छ ।
असोज अन्तिम साता ११ एसएसपीलाई डिआइजीमा बढुवा गरिएपछि रिक्त भएको ११ एसएसपीको पद र त्यसभन्दा अघि नै रिक्त भएको ४ एसएसपीको पद गरी १५ एसएसपीको पद अहिले खाली छ ।
प्रहरी नियमावली २०७१ अनुसार एसएसपीमा बढुवा हुन एसपी पदमा रही कम्तिमा ४ वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान भएकाले १५ एसएसपीको दरबन्दी फागुनसम्म खाली हुने भएको हो ।
अहिले एसएसपीका प्रतिष्पर्धीहरु २०७१ साल फागुन १० गते एसपी भएका थिए । फागुन १० गते मात्रै एसपी भएको ४ वर्ष पूरा हुने भएकाले प्रहरी नियमावली अनुसार उनीहरुको बढुवा गर्न फागुन १० सम्म कुर्नपर्ने भएको थियो ।
यसअघि एसपीबाट एसएसपीमा बढुवा गर्दा सबैजनाको ४ वर्ष पूरा भइसकेकाले समस्या आएको थिएन । तर, यो पल्ट भने एसपीमा बढुवा भएको ४ वर्ष नपुग्दै एसएसपीमा बढुवा गर्नुपर्ने भएकाले समस्या आएको स्रोतले जनाएको छ ।
अहिले एसएसपीमा बढुवाका प्रतिष्पर्धीहरु २०५१ र ०५२ सालमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका हुन् । उनीहरु २०७१ फागनु १० गते एसपीमा बढुवा भएका थिए ।
लामो समयसम्म एसएसपीको दरबन्दी खाली भएकाले प्रहरीको दैनिक पुलिसिङ, चेन अफ कमाण्ड, अनुगमन तथा निर्देशनमा प्रत्यक्ष असर परेकाले प्रभावकारी काम कार्बाही हुन नसकेको भन्दै प्रहरी प्रधान कार्यालय नियमावली संशोधनको माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको स्रोतले जानकारी दिएको छ ।
नियमावली संशोधनको लागि पत्राचार गर्नुभदा पहिला प्रहरी प्रधान कार्यालयले एसपीबाट एसएसपी बढुवाको विषयमा लोकसेवा आयोगसँग समेत परामर्श लिएको बताइएको छ ।
यसबारे बढुवा समितिका अध्यक्ष गृह मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक सदस्य र प्रहरी महानिरीक्षकले तोकेका अतिरिक्त प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको समितिले लोकसेवासँग परामर्श गरेको थियो ।
तर नियमावलीमा ४ वर्ष पूरा हुुनुपर्ने उल्लेख भएकाले फागुनसम्म बढुवा गर्न नमिल्ने लोकसेवा आयोगले जवाफ फर्काएपछि नियमावली संशोधन गर्नुको विकल्प नरहेकाले संशोधनको लागि गृहलाई प्रहरी प्रधान कार्यालयले पत्राचार गरेको हो ।
को–को छन् एसएसपी बढुवाको लाइनमा ?
यसपटक ३५ एसपीहरु एसएसपी बढुवाको लाइनमा छन् । एसपीहरु नरेन्द्रप्रसाद उप्रेती, सन्दीप भण्डारी, मीरा चौधरी थारू, दुर्गा सिंह, भरतबहादुर बोहरा, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, विष्णुकुमार केसी, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, राजेशनाथ बास्तोला एसएसपी बढुवाको लाइनमा छन् ।
त्यस्तै, जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्रप्रसाद मैनाली, दीपक थापा, पोषराज पोखरेल, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, अशोक सिंह, हृदय थापा, कुबेर कडायत, केदार ढकाल, लालमणि आचार्य, गोविन्दकुमार शाह, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, किरण राणा, अर्जुनचन्द ठकुरीलगायतबीच प्रतिष्पर्धा हुनेछ ।