प्रस्तावित राजदूतको सुनुवाइ आइतबार


१९ मंसिर २०७५, बुधबार
sansadiya sunwai

काठमाडौं, १९ मंसिर । संघीय संसद् संसदीय सुनुवाइ समितिले चार मुलुकका लागि प्रस्तावित राजदूतको आगामी आइतबार ससदीय सुनुवाइ गर्ने भएको छ ।

sansadiya sunwai
फाइल फोटो

समितिको आजको बैठकले प्रस्तावित भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि सिफारिश राजदूतको संसदीय सुनुवाइ आगामी आइतबार गर्ने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सरकारले नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्णप्रसाद ढकाललाई संयुक्त अरब इमिरेट्स र डा. अञ्जान शाक्यको नाम इजरायलका लागि राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

समितिको अघिल्लो बैठकले प्रस्तावित राजदूतको सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरी १० दिनको समय दिएर उजुरी माग गर्ने निर्णय गरेको थियो ।

उक्त अवधिमा प्रस्तावित राजदूतका सम्बन्धमा व्यक्ति लक्षित गरेर कुनै उजुरी नपरेपनि अधिवक्ता शतिशराज मैनालीले राजदूत नियुक्तिका सम्बन्धमा उमेर हद, अनुभव, पदावधि, समावेशीताको आधारलगायतका महत्वपूर्ण विषयबस्तु, विधि र प्रक्रियाबारे लिखित सुझावमार्फत समितिको ध्यानाकर्षण गराएका छन् ।

बैठकले राजदूतले कसरी काम गर्नुपर्छ, देशको इज्जत र प्रतिष्ठा बढाउन के कस्तो काम गर्नुपर्छ, भन्ने सन्दर्भमा आगामी शुक्रबार अनुभवी पूर्व राजदूतसग छलफल गर्ने निर्णय पनि गरेको छ ।

समितिले पूर्व राजदूत पुष्करमानसिंह राजभण्डारी, रामभक्त पिभि ठाकुर, प्रल्हादकुमार प्रसाईं, रुद्रकुमार नेपाल र निरञ्जनमानसिंह बस्नेतसँग परामर्श गर्ने निर्णय गरेको हो । समितिले राजदूत नियुक्तिका सम्बन्धमा लिखित सुझाव प्रस्तुत गरी सहयोग पुर्‍याउने अधिवक्ता मैनालीलाई उजुरीकर्ताको रुपमा बोलाएर राय सुझाव लिने निर्णय पनि गरेको छ ।

यसअघि बैठकमा सांसद योगेश भट्टराई, भीमसेनदास प्रधान, अमृता थापा मगर, जीतेन्द्रनारायण देवलगायतले यस पटक प्रस्तावित राजदूतका सम्बन्धमा गम्भीर प्रकृतिका उजुरी नपरे पनि नियुक्त हुने राजदूतलाई परिवारलाई विदेश घुमाउने तथा मन्त्री र सांसदलाई विमानस्थल लिन र पुर्‍याउन आउने भन्दा मुलुकको प्रतिष्ठा बढाउने काममा लगाउने नीति बनाउन आवश्यक रहेको सुझाव दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७