आज काठमाडौं तापक्रम यो वर्षकै कम, कुन ठाउँको तापक्रम कति ?

काठमाडौं, २० मंसिर । काठमाडौंको तापक्रम बिहीबार बिहान यो वर्षकै कम मापन गरिएको छ ।
बिहीबार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको २ गते ६ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम त्यसयता बढेको थियो । बुधबार फेरि ६ डिग्री मापन गरिएको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्रीमा झरेको हो ।
जुम्लाको तापक्रम हिजो माइनस ४ डिग्री मापन गरिएको छ । पश्चिमी वायुको प्रभावले बुधबार दिनभरी मौसम बदली भएको थियो । विहीबार पहाडी भूभागको मौसममा बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ ।
हिमाली र उच्च पहाडी क्षेत्रमा भने हिमपात हुनेछ । तर पानी पर्ने संभावना भने नरहेको मौसमविद् सुजन सुवेदीले बताए । पानी नपर्दा औद्योगिक क्षेत्र भएका ठाउँमा प्रदुषण बढेको छ ।