ट्राफिक व्यवस्थापन गर्दै ललितपुर महानगरपालिका


२० मंसिर २०७५, बिहीबार
traffic

ललितपुर, २० मंसिर । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने भएको छ ।

traffic

विश्व सम्पदा सूचीमा सूचीकृत यस स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ ।

मङ्गलबजार र त्यस आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन भइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । दरबार क्षेत्र र आसपासमा पार्किङले यस क्षेत्रका सडक अस्त व्यस्त बनेकाले पार्किङ नदिने र सडक एकातर्फी मात्रै सवारी साधन चल्न दिने महानगरपालिकाको योजना छ ।

सडक व्यवस्थापनको काममा नगर प्रहरी परिचालन गर्न महानगरले ५० नगर प्रहरी समेत थप गर्दैछ । उनले भने, ‘पार्किङमुक्त बनाउने र एकतर्फी सवारी साधन सञ्चालन गर्ने यी दुवै काम हाम्रा लागि सजिलो भने छैन ।’

महानगरपालिकाले शुरु गरेको ‘महानगर ट्राफिक योजना’अन्तर्गत सम्पदा क्षेत्रको ट्राफिक व्यवस्थापका लागि अध्ययन भइरहेको हो । स्थानीयवासीलगायत सबैले सहयोग गर्दा मात्रै यो योजना कार्यान्वयन गर्न सकिने उनले बताए ।

पर्यटकको आगमन बढी हुने मङ्गलबजार, गावहाल, महापाल, सौगल, सुन्धारालगायत स्थानमा नै सवारी चाप बढी छ । ललितपुरको व्यापारिक केन्द्र पनि भएकाले जनप्रतिनिधि नहुँदा स्थानीय निकायले पटक पटक प्रयास गर्दा समेत एकातर्फी सवारी साधन सञ्चालन कार्यान्वयन हुनसकेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७